सरकारले धरहरा चढ्न शुल्क तोके पनि भिड भने घटेको छैन । आजदेखि धरहरा चढ्न शुल्क लाग्ने भएको हो । नेपालीलाई दुई सय, सार्क राष्ट्रका पर्यटकलाई पाँच सय र सार्क राष्ट्रबाहेककालाई एक हजार शुल्कसहित धरहरा खुलेको हो ।
विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिहरूले भने धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट अर्थात् एक सयमा टिकट पाउने छन् ।
यसअघि संविधान दिवस (३ असोज) देखि परीक्षणस्वरूप निःशुल्क धरहरा खुला गरिएको थियो, तर गत बिहीबारको मन्त्रिपरिषद् बैठकले धरहरा प्रवेशमा शुल्क लिने निर्णय गरेको हो । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा हाललाई शुल्क लिई (०८१ मंसिर ९ गतेदेखि) सञ्चालन गर्न मन्त्रिपरिषद् बैठकले स्वीकृति गरेको थियो ।
सहरी विकास मन्त्रालयले गरेको प्रस्तावअनुसार प्रतिव्यक्ति दुई सय शुल्क तोकिएको हो ।