सल्यानको शारदा नगरपालिका– ९, नयाँबस्तीकी दली थापाको घरैमा खानेपानीको धारा पुगेको छ । आँगनको डिलैमा रहेकोे धारामा पानी आउन थालेपछि दुई घन्टा टाढा कुवा र खोला धाउनुपर्ने बाध्यता हटेको छ । खानका लागि मात्र होइन, भाँडा, लत्ताकपडा धुन, घरमा प्रयोग गर्न, वस्तुभाउलाई खुवाउन र करेसाबारीमा सिँचाइ गर्न पनि धाराको पानीको प्रयोग भइरहेको छ । ‘घरैमा पानी आउँछ, पानीका दुःख गए,’ उनले सुनाइन् ।
दलीकी छिमेकी डुप्कली थापाको घरमा पनि खानेपानीको धारा छ । अचेल ग्रामी, ड्रम, जर्किनमा पानी भरेर राख्नुपर्दैन । ‘एक वर्ष पहिले त अकासे पानी पनि गाग्री, जर्किन, ड्रममा भरेर राख्नुपथ्र्याै, वस्तुभाउलाई खुवाउने, भाँडा माझ्ने र शौचालयका लागि प्रयोग हुन्थ्यो,’ थापाले भनिन्, ‘अहिले घरैमा धारा छ, पानी नै सबथोक हो, चाहिए जति घरैमा भर्न पाइन्छ ।’
एक वर्षअघि यहाँका तीन गाउँ नयाँबस्ती, सानिगारे र ढिरुवाका ७१ घरमा खानेपानीको चरम अभाव थियो । खानेपानीको अभावमा घन्टौँ हिँडेर बोतल, जर्किन, गाग्रीलगायतका भाँडामा पानी बोक्नुपर्ने बाध्यता थियो । मध्यरातको समयमा पानीकै लागि गाउँदेखि करिब २ घण्टाको बाटो हिँडेर कुवा, पँधेरो र खोलासम्म पुग्नुपथ्र्यो ।
तर, बस्तीदेखि २ किलोमिटर तल हरलेखोलामा रहेको पानी लिफ्टमार्फत झन्डा हानेको डाँडामा तानेर सबैका घरमा खानेपानी वितरण गरिएको छ । अहिले तीन गाउँका ७१ घरमा खानेपानी पुगेको छ । कर्णाली प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत दुई करोड १५ लाख रुपैयाँमा गत महिना लिफ्ट खानेपानी योजना बनेको हो ।