आगामी शनिबारबाट सुरु हुने फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपिएल)का लागि सहभागी आठ क्लबले धमाधम विदेशी खेलाडी अनुबन्ध गरिरहेका छन् । प्रतियोगिता सुरु हुन ६ दिन बाँकी रहँदा जनकपुरले सर्वाधिक ६ र सुदूरपश्चिमले सबैभन्दा कम चार खेलाडी अनुबन्ध गर्दा अन्य ६ टिमले समान पाँच खेलाडी अनुबन्ध गरेका छन् । आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो संस्करणका लागि एक टिमले ६ सम्म विदेशी खेलाडी अनुबन्ध गर्न पाउने नियम बनाएको छ । मैदानमा भने चार खेलाडी मात्रै हुनेछन् । एनपिएलको पहिलो संस्करण १५ मंसिरदेखि ६ पुससम्म काठमाडौंको त्रिवि क्रिकेट मैदानमा हुँदै छ । चर्चित स्पोर्टस् टेलिभिजन स्टार स्पोर्टस्ले कुल ३२ खेलको प्रत्यक्ष प्रसारण गर्नेछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले फ्रेन्चाइज लिगमा अनुबन्ध हुने विदेशी खेलाडीका हकमा छुट्टै नियमावली बनाएपछि तत्काल टेस्ट खेलिरहेका कुनै पनि खेलाडी अनुबन्ध भएका छैनन् । अधिकांश खेलाडी दुई वर्षअघि टिमबाहिर रहेका छन् । भारतका शिखर धवन लिगमा अनुबन्ध हुने सबैभन्दा ठुला नाम हुन् । आइसिसीले टेस्टबाट सन्न्यास लिएको वा दुई वर्षदेखि राष्ट्रिय टोलीमा समावेश नभएका खेलाडीलाई जुनसुकै टोलीले अनुबन्ध गर्न पाउने स्वीकृत गरेको थियो । विदेशी खेलाडीको अनुबन्ध र पारश्रिमिक भने सबै टोलीले गोप्य राखेका छन् । ६ विदेशीबाहेक सबै टोलीले अक्सनबाट १०, मार्की एक र स्थानीय एक खेलाडी टोलीमा समावेश गर्न पाउँछन् ।
पोखरा एभेन्जर्स : विदेशी खेलाडी (५)
टिम खरिदमा सबैभन्दा महँगो बनेको पोखरा विदेशी खेलाडी पाँचजना अनुबन्ध गरिसकेको छ । पोखराले अन्तिम विदेशीको रूपमा स्कटल्यान्डका माइकल लेअस्कलाई भिœयाएको छ । त्यसअघि इंग्ल्यान्डका अलराउन्डर म्याट क्रिचली, वेस्ट इन्डिजबाट टेस्ट खेलेका रोयमन रेइफर, अमेरिकाका आन्द्रेस गौस र नेदरल्यान्ड्सका युवा ब्याट्सम्यान बा डी लिडेलाई टोलीमा अनुबन्ध गरेको छ । टोलीका मार्की खेलाडीमा राष्ट्रिय टोलीका कुशल भुर्तेल छन् । यस्तै, सागर ढकाल, आकाश चन्द टोलीमा छन् ।
सुदूरपश्चिम रोयल्स : विदेशी खेलाडी (४)
सुदूरपश्चिम रोयल्सले एनपिएलका लागि चारजना खेलाडी अनुबन्ध गरेको छ । स्कटल्यान्डका ब्याटिङ अलराउन्डर ब्रान्डन म्याकमुलन, संयुक्त अरब युएईका अलराउन्डर रोहन मुस्तफा, न्युजिल्यान्डका पेस बलर स्कट कुगलेइन र इंग्ल्यान्डका ब्याटिङ अलराउन्डर सैफ अली जैबलाई विदेशी कोटामा अनुबन्ध गरेको हो । मुस्तफा नेपालीमा चर्चित छन् । यसअघि नेपालमा लिग २ का खेल खेल्न आउँदा उनी र नेपाली खेलाडीबिच रोमाञ्चक घटना भएका कहाँनी धेरै छन् । त्यसैले पनि उनी नेपाली खेलाडी र नेपाली समर्थकमाझ बहुचर्चित छन् । टोलीको प्रशिक्षकमा नेपालका पहिलो पुस्ताका खेलाडी जगत टमाटा छन् । मार्कीमा राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् ।
लुम्बिनी लायन्स : विदेशी खेलाडी (५)
लुम्बिनी लायन्सले एनपिएलका लागि पाँचजना विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । टोलीमा चर्चित अस्ट्रेलियाका स्टार अलराउन्डर बेन कटिङदेखि क्यानडाका कीर्तिमानी अलराउन्डर साद बिन जफर छन् । इंग्ल्यान्डका टम मुर्स, भारतका लागि यू–१९ विश्वकप जिताएर हाल अमेरिकाबाट खेलिरहेका उन्मुक्त चन्द र वेस्ट इन्डिजका रामोन सिमन्ड्स पनि टोलीमा छन् । अस्ट्रेलियाका ३७ वर्षीय खेलाडी कटिङ अहिलेसम्मकै टोलीको ठुलो नामको रूपमा चिनिन्छन् । उनले चार एकदिवसीय तथा ७ टी–२० आई खेल खेलेका छन् । उनीसँग इन्डियन प्रिमियर लिग (आइपिएल)मा राजस्थान रोयल्स र सन्राइजर्स हैदराबादसँगको अनुभव छ । चन्द भारतमा मौका नपाएपछि अमेरिकाका टोलीबाट खेलिरहेका छन् ।
कर्णाली याक्स : विदेशी खेलाडी (५)
हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्र्णालीले पाँचजना खेलाडी अनुबन्ध गरेको छ । उसले विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनसहित पाकिस्तानबाट टेस्ट खेलिसकेका मोहम्मद हुसैन तलात, वेस्ट इन्डिजबाट टेस्ट खेलिसकेका चादविक वाल्टन र हङकङबाट अन्तर्राष्ट्रिय खेल खेलिरहेका अनुभवी खेलाडी बाबर हायात र ओमानका जिसान मक्सुदलाई अनुबन्ध गरेको छ । शिखर धवन नेपाल प्रिमियर लिग खेल्ने सबैभन्दा ठुलो नाम हो । नेपाल राष्ट्रिय टोलीका अलराउन्डर सोमपाल कामी मार्की रहेको कर्णालीले ज्ञानेन्द्र मल्ललाई प्रशिक्षक बनाएको छ ।
जनकपुर बोल्ट्स : विदेशी खेलाडी (६)
जनकपुर बोल्ट्स लिगमा सबैभन्दा धेरै ६ विदेशी खेलाडी अनुबन्ध गर्ने पहिलो टोली बनेको छ । टोलीमा न्युजिल्यान्डका जेम्स डुग्लास निसमसँगै अमेरिकाका जोसुवा ट्रोम्प तथा मोहम्मद मोहसिन, पाकिस्तानका सोहाइव मक्सुद र श्रीलंकाका लागि मिलान्था, वेस्ट इन्डिजका टिअन वेवस्टर छन् । न्युजिल्यान्डका ३४ वर्षीय खेलाडी जेम्स टिमका सबैभन्दा ठुला नाम गरेका खेलाडी हुन् । उनले न्युजिल्यान्डबाट १२ टेस्ट खेलिसकेका छन् । सन् २०१७ देखि उनी न्युजिल्यान्ड टोलीमा छैनन् । उनले ७६ एकदिवसीय र ७७ टी–२० आई खेलिसकेका छन् । नेपालका पूर्वप्रशिक्षक पुबुदु दासानायके प्रशिक्षक रहेको जनकपुरको मार्कीमा आसिफ सेख छन् ।
चितवन राइनोज : विदेशी खेलाडी (५)
कुशल मल्ल मार्की रहेको चितवनले पाँचजना खेलाडी अनुबन्ध गरिसकेको छ । टोलीमा दक्षिण अफ्रिकाका मार्चन्ट डी लिन्गे, इंग्ल्यान्डका लक बेन्केन्स्टेइन, रवि बोपरा, अफगानिस्तानका हसन इसाखिल र नामिबियाका जान निकोल लोफ्टिइटन छन् । ३९ वर्षीय रवि टोलीका चर्चित खेलाडी हुन् । उनले टेस्ट १३, एकदिवसीय खेल १२० खेलिसकेका छन् । त्यस्तै, ३४ वर्षीय दक्षिण अफ्रिकाका तीव्र गतिका बलर मार्चन्टले २ टेस्ट र चार एकदिवसीय खेलेका छन् ।
विराटनगर किंग्स : विदेशी खेलाडी (५)
सन्दीप लामिछाने मार्की रहेको विराटनगरले केभिन ओब्राइनलाई मुख्य प्रशिक्षक बनाएको छ । टोलीले पाँच विदेशीमा न्युजिल्यान्डका निकै अनुभवी मार्टिन गप्टिल, क्यानडाका निकोलास किर्टन, ओमानका अकिब इल्यास, क्रिस्टोफर सोलेसहित अफगानिस्तानका इस्मत अलामलाई अनुबन्ध गरेको छ । विराटनगरले एकदिवसीय विश्वपकमा दोहोरो शतक प्रहार गरेका न्युजिल्यान्डका निकै अनुभवी मार्टिन गप्टिललाई अनुबन्ध गरेको छ । ३८ वर्षीय गप्टिलले ४७ टेस्ट, १९८ एकदिवसीय र १२२ टी–२० आई खेलेका छन् । उनले सन् २०१५ मा भएको विश्वकपमा वेस्ट इन्डिजविरुद्ध एकै खेलमा अविजित २३७ रन बनाएका थिए ।
काठमाडौं गोर्खाज : विदेशी खेलाडी (५)
काठमाडौं गोर्खाजले प्रतियोगिताका लागि पाँच विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । अक्सनमा काठमाडौं दोस्रो खर्चिलो टोली बनेको थियो । काठमाडौंले नामिबियाका कप्तान गेरहार्ड इरास्मस, नेदरल्यान्ड्सका माइकल लेटिभ, न्युजिल्यान्डका स्टेफन इस्किनाजी तथा इंग्ल्यान्डबाट डान डोउथवेइट र नाथन सोवटेरलाई अनुबन्ध गरेको छ । वसन्त शाही प्रशिक्षणमा रहेको काठमाडौंको मार्कीमा करण केसी छन् ।