झुटलाई पूर्ण रूपमा नामेट पार्न सकिँदैन, तर तथ्य जाँचकीले सत्यतथ्य प्रस्तुत गरी नियमित रूपमा चुनौती दिन छाड्नुहुन्न
जुन पुस्तकलाई विश्वले अनैतिक करार गर्छ, त्यसले विश्वकै लज्जा प्रतिबिम्बित गराउँछ’– ओस्कार वाइल्ड उदार लोकतन्त्र तेस्रो शताब्दीको मध्यमा पुग्दै गर्दा यदि कसैलाई मानिसले बृहत् विचार र अवधारणामा निर्धक्क भएर छलफल गर्ने अधिकार पाएको छ भन्ने लाग्छ भने ती गलत हुनेछन् । पुरातनपन्थीले पुस्तकबाट दिनानुदिन खतरा छ भन्नुलाई उदाहरणका रूपमा लिन सकिन्छ । यिनले मिसौरी राज्यमा ‘कलात्मक’ एवं ‘सूचनावर्धक’बाहेक ‘सबै यौनजन्य पुस्तकलाई’ विद्यालयका पुस्तकालयमा प्रतिबन्ध लगाउनुपर्ने माग गरेका छन् । टेक्सास राज्यमा एक विद्यालयका कर्मचारीलाई ४० भन्दा बढी पुस्तकलाई समीक्षा प्रक्रियामा गई अनुमति नपाउन्जेल पुस्तकालयमा राख्न रोक लगाएको छ । इडाहो राज्यमा इसाई पुरातनपन्थीले चार सयभन्दा बढी पुस्तकलाई सार्वजनिक पुस्तकालयमा प्रतिबन्ध लगाउन माग गरेका छन् जब कि यी पुस्तकालयमा प्रतिबन्ध लगाउनुपर्ने भनिएका पुस्तक पुगेकै छैनन् । प्रतिबन्ध लगाउनुपर्ने भनिएका अधिकांश पुस्तक लैंगिक एवं यौनिक रूपमा सीमान्तकृत मानिस वा जादुई विषयसँग सम्बन्धित छन् ।
विद्यालयका मामिलामा थोरबहुत अभिभावकीय नियमन आवश्यक हुन्छ भन्ने मान्न सकिएला । तर, छोराछोरी अभिभावकको निर्देशनलाई स्वीकार गर्दैनन् भने पुस्तकालयमा विद्यार्थीले के पढ्छन् भन्ने विषयमा कर्मचारीलाई दोषी ठहर्याउनु हुँदैन ।
यस मामिलामा वामपन्थी पनि कम छैनन् । इन्टरनेटलाई ‘दुराशययुक्त मिथ्या समाचार’मुक्त बनाउन गरिने जद्दोजेहादले यसैलाई पुष्टि गर्छ । ‘गलत वा भ्रामक’ सूचनालाई नियन्त्रण गर्ने प्रयासले मानिसको गलत हुने अधिकारलाई कुण्ठित बनाउँछ र गलत सूचना राख्नेलाई हामी सबैले सहनु पनि पर्छ । यो सहनशीलताले आज जे गलत छ, त्यो भोलि सही पनि हुन सक्छ भन्ने स्वीकार्यतालाई जनाउँछ र यसरी सत्य पुष्टि भएका कैयौँ उदाहरण पनि छन् ।
२०२० मा न्युयोर्क पोस्टले राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनको कुख्यात ल्यापटपसम्बन्धी रिपोर्टलाई ५० भन्दा बढी गुप्तचर अधिकारीले ‘दुराशययुक्त मिथ्या समाचार’ भन्दै हस्ताक्षर गरेका थिए । फेसबुकले यस रिपोर्टलाई कम मानिसमाझ पुग्ने बनाएको थियो भने ट्विटरले प्रतिबन्ध नै लगाएको थियो । त्यतिवेलाका यी निर्णय गलत थिए भन्नेबारे हामी जानकार छौँ । ल्यापटपसम्बन्धी रिपोर्ट दबाउन एफबिआईले खेलेको भूमिकाबारे गरिएको प्रश्नले हालै फेसबुकका मार्क जुकरबर्गलाई असहज स्थिति उत्पन्न गराएको छ ।
सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका निर्देशकले हालै कोरोना भाइरस महामारीको प्रतिक्रियामा ‘परीक्षण तथ्यांकदेखि सञ्चारसम्मका’ गम्भीर त्रुटि भएको स्विकारेका छन् । नतिजा सामाजिक सञ्जालले प्रयोगकर्तालाई कोभिड–१९ सम्बन्धी जानकारी लिन खोज्दा ‘आधिकारिक’ मानिएका स्रोत मात्रै देखाउने नीतिले गल्ती भएको देखिन्छ । अर्थात् को विश्वसनीय छ भन्ने निर्णय सामाजिक सञ्जालका मालिकलाई निर्णय गर्न छोडिनुहुँदैन । वासिंगटन पोस्टकै रिपोर्टअनुसार हालै ट्विटरले तथ्यपरक ट्विटलाई मिथ्या करार गर्ने गल्ती गरेको देखिएको छ ।
सामाजिक सञ्जाल कम्पनीले निरन्तर रूपमा सन् २०२० को राष्ट्रपतीय चुनावमा धाँधली भएको मिथ्या समाचारलाई रोक्न निरन्तर आग्रह गरिरहेको थियो । विशेषतः राजनीतिक विषयमा इन्टरनेट बहसको निगरानी गर्नु एक हेपाहा प्रवृत्ति हो, जहाँ झुट पहिचान गर्ने बुद्धिमान अमेरिकीले कम बुद्धिमान अमेरिकीलाई अभिभावकले झैँ ‘जोगाइदिन’ झुटा भनिएका सूचनालाई निषेध गर्ने अधिकार हुनुपर्छ भन्ने झल्किन्छ । हालैको एक सर्वेक्षणअनुसार सामाजिक सञ्जालको अथक प्रयासका बाबजुद डोनाल्ड ट्रम्पका मिथ्या सूचनालाई रोक्न सकिएको छैन । मानिस धर्मझैँ राजनीतिमा पनि तथ्यभन्दा बढी आस्थामा विश्वास गर्छन् ।
ट्रम्पका मामिलामा मिथ्या सूचना एकतर्फी मात्रै छैनन् । ट्रम्पबारे प्रस्तुत गरिएका झुटा तथ्य पनि अनलाइनमा फैलिन कुनै समय लाग्दैन । अझै पनि ट्रम्पलाई सन् २०१६ मा रुसले राष्ट्रपति बनाएको हो भनेर लखेटिन्छ । आजका मितिमा पनि रिपोर्टर र स्तम्भकार ट्रम्पले भनेको भन्दै कोभिडविरुद्ध लड्न स्यानिटाइजर पिउनुपर्छ भन्ने मिथ्या प्रमाणित तथ्यलाई उद्धृत गर्न छाड्दैनन् । यस्ता कैयौँ दृष्टान्त छन्, जसले विश्व एवं लोकतन्त्रले ट्रम्पले बनाएका झुट वा उनीबारे बनाइएका झुटलाई देखाउँछन् ।
झुटलाई नियन्त्रण गर्ने खोज्ने व्यर्थका उपाय छोडेर हामीले छलविरुद्धको उत्कृष्ट एवं प्रभावकारी अस्त्र अझै पनि सत्यमा निहित शक्ति हो भन्ने बुझ्नुपर्छ । झुटलाई पूर्ण रूपमा नामेट पार्न सकिँदैन, तर यसलाई तथ्य जाँचकीले सत्यतथ्य प्रस्तुत गरी नियमित रूपमा चुनौती दिन भने छाड्नुहुन्न । सेन्सरसिप अर्थात् निगरानी समाधान होइन । बजारका हल्लामा जहिल्यै थोरबहुत मिथ्या वा भ्रामक दाबी र धारणा हुन्छन् । कुनै वेला सेक्सपियरले भनेझैँ ‘अन्ततः सत्य बाहिर आउने नै छ ।’
सामाजिक सञ्जालले ‘सत्यका पहरेदार’ बन्ने प्रयास त्याग्दै गरेको र राजनीतिक अभिव्यक्तिकै कारण प्रयोगकर्तालाई हटाउने काम बन्द गरिरहेको संकेत देखाइरहेका छन् । यी कदमलाई आत्मपरक मापदण्डका आधारमा सत्यको पहरेदार आवश्यक छन् भन्ने समूहले आलोचना गर्नु अस्वाभाविक भने होइन । सामाजिक सञ्जाल जुन प्रयोजनका लागि बनेको हो, अर्थात् विविध मत भएका मानिसलाई सूचना व्यक्त गर्न दिने शान्तिपूर्ण मञ्चका रूपमा देख्न पाउने आशा गरौँ । चाहे चर्चित पुस्तक होऊन् वा कुनै सामाजिक सञ्जाल प्रयोगकर्ताको मिथ्या सूचना, अमेरिकीलाई सहिष्णुता र भिन्न मतको रक्षा गरेर आफ्नै अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न निरन्तर सचेत बनाइराख्नुपर्छ ।
(एबरन्याथी द वासिंगटन पोस्टका स्तम्भकार हुन्)
द वासिंगटन पोस्टबाट