नेपाल प्रहरीले दुलर्भ वन्यजन्तु चितुवाको छालासहित चारजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले चितुवाको छालासहित गुल्मीको चन्द्रकोट गाउँपालिका– ७ का ३५ वर्षीय विष्णु सुनार, ओखलढुंगाको खिजिघोम्बा गाउँपालिका– ९ का २९ वर्षीय फुरी शेर्पा, धादिङको गजुरी गाउँपालिका– ५ का २४ वर्षीय विनोद श्रेष्ठ र सिन्धुलीको कमलामाई नगरपालिका–४ का ३० वर्षीय विकास पुर्कुटीलाई शुक्रबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बुढानीलकण्ठ नगरपालिका– ८ गल्फुटारस्थित लक्ष्मीप्रसाद गिरीले सञ्चालन गरेको पूर्वपश्चिम गेस्टहाउसबाट उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका उनीहरूले ‘द नर्थ फेस’ लेखेको निलोकालो झोलाभित्र सेतो बोराले बेरेर चितुवाको छाला बिक्री–वितरण गर्न हिँडेका अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरूबाट लम्बाइ पुच्छरसहित चार फिट तीन इन्च र चौडाइ दुई फिट भएको चितुवाको छाला एक थान, लम्बाइ पुच्छरसहित ६ फिट नौ इन्च र चौडाइ तीन फिट भएको चितुवाको छाला एक थान, छालाविनाको चितुवाको टाउको एक थान, ओपो मोबाइल तीन थान र सामसङ कम्पनीको मोबाइल एकथान बरामद गरेको छ ।
पक्राउ परेका चारैजनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि आज डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको प्रवक्ता मैनालीले बताए। रासस