झापा र मोरङमा मिचाहा प्रजातिको नयाँ झार भेटिएको छ। रैथाने वनस्पती र जीवलाई असर गर्ने मिचाहा प्रजातिको नयाँ झार ‘ठूलो लज्जावती’ भेटिएको हो। यो निकै घातक मिचाहा झार रहेको विज्ञहरुले बताएका छन्।
सन् २०१९ मा झापाका जंगलमा देखिएको यो झार क्रमशः मोरङ हुँदै पश्चिमतर्फ सर्दैै गएको यसको अध्ययन गर्दै आएको त्रिभुवन विश्वविद्यालयको वनस्पतिशास्त्र केन्द्रीय विभागले जनाएको छ। मध्य अमेरिकाको रैथाने प्रजातिको यो झार निकै घातक रहेको त्रिविका प्रोफेसर एमेरिटस डा. प्रमोदकुमार झाले बताए। यो नेपालमा प्रवेश भएको नयाँ प्रजातिको मिचाहा झार भएको उनले बताए। ‘यो निकै घातक मिचाहा प्रजातिको झार हो। यो फैलँदै गयो भने यसले रैथाने वनस्पती, जुन पर्यावरणलाई अवश्यक हुन्छ, तिनीहरूलाई आउन दिँदैन,’ उनले भने, ‘यसको फैलावट व्यापक हुन्छ। कृषि, वन र जीवमा यसको नकारात्मक असर रहन्छ।’
झापा र मोरङका विभिन्न जंगलमा यो झार देखिएको उनले बताए। तर, कति क्षेत्रफमा छ भन्ने चाहिँ अध्ययनको क्रममा रहेको पनि उनले बताए। सुरुमा झापामा देखिएको यो नयाँ प्रजातिको झार क्रमशः मोरङमा सरेको छ। यो झार झापाका केही धान बालीमा समेत देखिएको डा. झाको भनाइ छ। यो झार प्राकृतिक पर्यावरणसँगै कृषिजन्य भूभाग, वनजंगल, चरन, सीमसार र बगैंचामा समेत फैलनसक्ने झाले बताए।
काँडासहितको यो झारलाई स्थानीय भाषामा उल्टो काँडे भनिन्छ। यसको काँडा चारपाटे र उल्टो फर्किएको हुन्छ। यसको वैज्ञानिक नाम मिमोसा डिप्लोट्रिका हो। घना झाडीको रूपमा विकास हुने यो झार अन्य विरुवाको सहारा लिई फैलने डा. झाले बताए। अहिले यसको व्यवस्थापनमा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रलेसमेत ध्यान दिइरहेको छ। अध्ययन टोली र प्लान्ट क्वारेन्टाइनको टोली यो झारको अध्ययन तथा स्थानीयसँग अन्तक्रिया गर्दै पूर्वमा आएको छ। यो झार निकै खतरनाक रहेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईंले बताए। ‘यसले वनको पर्यावरण, मानिस र पसुको स्वास्थ्यमा समेत प्रत्यक्ष रूपमा प्रभाव पार्छ। स्थानीयका अनुसार यो झार खाएर गाईवस्तु तथा बाख्रा मरेको पाइएको छ,’ उनले भने, ‘वन क्षेत्रमा यहाँ रहेका र फाइदा दिने खालका बुट्यान, झारपात यसले छोप्दै लगेर जैविक विविधतामा असर पर्ने देखियो। यसको प्रकोप बढ्दै गए भयावह अवस्था आउन सक्छ।’
प्लान्ट क्वारेन्टाइन प्रमुख हुमागाईंका अनुसार कार्यालयले यो झारबारे थाहा पाएको ६ महिना भयो। अहिले इलामसँगै सिन्धुलीमा पनि फाट्टफुट्ट देखिएको उनले बताए। ‘यसको नियन्त्रण एकल प्रयासले मात्र सम्भव छैन। यसमा स्थानीयबासीसँगै स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले पनि पहल गर्नुपर्छ,’ उनले भने।
विज्ञ टोलीले झापाको बिर्तामोड–७ स्थित सुन्दर निचाझोडा गोल्धाप सामुदायिक वनमा फैलिएको ठूलो लज्जावती झारको अध्ययन र स्थानीयसँग छलफलसमेत गरेको छ। विगतमा भुटानी शरणार्थी बसोबास गरेको यो जंगल क्षेत्र शरणार्थीको पुनर्वाससँगै खाली छ। यो क्षेत्रमा केही वर्षदेखि ठूलो लज्जावती झार फैलिएको सुन्दर निचाझोडा गोल्धाप सामुदायिक वनका अध्यक्ष बद्री प्याकुरेलले बताए। ‘पहिला पनि विज्ञको टोली आएको थियो। यो झारबारे थाहा पाएपछि हामीले सबै आगो लगाएर नियन्त्रणको प्रयास ग¥यौँ। तर, फेरि आयो,’ उनले भने, ‘पहिला भुटानी शरणार्थी बस्दा यहाँ खरका छानाको घर थिए। ती खर भारतबाट पनि ल्याइएको थियो। त्यही खरबाट आएको हुन सक्छ।’ यो झार खाएर स्थानीयका बाख्रासमेत मरेको उनले बताए।
कसरी आएको हुनसक्छ ?
डा. झाका अनुसार यो झार प्रतिवर्गमिटर १५ देखि २० हजारको संख्यामा यसको बीउ उत्पादन हुन्छ। बीउहरू सुषुप्त अवस्थामा ५० वर्षसम्म जीवित रहनसक्ने डा. झाले बताए। यो बर्खामा पानी पर्न सुरु भएपछि उम्रन थाल्ने उनको भनाइ छ।
यसको बीउ बगेको पानी, सवारी साधन तथा उपकरण, जनवार र माटोसँगै आएको हुनसक्ने उनको भनाइ छ। ‘कहिलेकाहीँ राम्रो फूलदेखेर हामी आफैँ पनि ल्याउँछौँ,’ उनले भने, ‘कहिलेकाहीँ सवारी, साधन, आयत गर्ने खाद्यन्नबाट पनि आउन सक्छ।’
यसरी नियन्त्रण गर्न सकिन्छ
झाका अनुसार नेपालमा ३० प्रजातिका मिचाहा झार छन्। ठूलो लज्जावती झार नेपालमा भर्खरै देखिएको हो। यसलाई बेलैमा नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ। ‘अहिले दुई जिल्लामा मात्र सीमित छ। यही वेलामा नियन्त्रण गर्न सके मात्र प्रकोपको रूप लिँदैन,’ उनले भने, ‘नभए अरू मिचाहा झार जस्तो नियन्त्रण बाहिर जान्छ ।’
यसको नियन्त्रणमा एकीकृत र समन्वयात्मक पहलकदमी चाहिने उनले बताए। यसलाई फूल फुलेर बीउ बन्नु अगाबै नस्ट गर्न सके विस्तारलाई नियन्त्रण गर्न सकिने उनले बताए। ‘आन्तरिक क्वारेन्टाइनको माध्यमबाट यस प्रजातिलाई अन्य स्थानमा विस्तार हुनबाट रोक्न सकिन्छ,’ उनले भने, ‘झारनासक विषादीको यथोचित प्रयोगबाट पनि रोक्न सकिन्छ ।’