प्रियान्सुसिंह क्षेत्रीले योनेक्स सनराइज प्रधानमन्त्री कप राष्ट्रिय खुला वरीयता ब्याडमिन्टन प्रतियोगिताको यु–१९ पुरुष एकलमा जित निकालेका छन् । उनले अदिश कार्कीलाई २१–१२ र २१–१६ को सोझो सेटमा पराजित गरेका हुन् । सोही स्पर्धामा हिमाल चन्दले रिसभ राईलाई २१–४ र २१–९ ले पाखा लगाए । अनिल मल्लले दिपन गायकमाथि २१–१३ र २१–१३ को जित हात पारे । यसैगरी राज बर्माले सुमित ठोकरलाई २१–१५ र २१–४ को सेटमा पाखा लगाए ।
नीर बज्राचार्यले प्रकाश सिंह तथा निशान कटुवालले विवेक चौधरीबाट वाक ओभर पाउँदै प्रिक्वार्टरफाइनलमा पुगेका छन् । प्रतियोगिताको पुरुष एकलमा शीर्ष वरीयताका दीपेश धामीले दीपेन्द्र कार्कीलाई २१–६ र २१–१० ले हराएका छन् । जीवन आचार्यले वविश थापालाई २१–४ र २१–७ ले पराजित गरे । प्रवीण लिङथेबले दिपम वज्राचार्यलाई २१–११ र २१–८ ले पराजित गरेका छन् । विष्णु कटुवालले सुमन लिम्बूलाई २१–८ र २१–१५ तथा नवीन श्रेष्ठले देवराज राणालाई २१–८ र २१–१५ को सोझो सेटमा पाखा लगाउँदै प्रिक्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।
प्रतियोगितामा एक सय ७२ खेलाडीको सहभागिता रहेको नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष एवं प्रतियोगिता निर्देशक सुभाष श्रेष्ठले जनाएका छन् । विभिन्न सात स्पर्धा समावेश प्रतियोगिताको पुरुष र महिला एकल विजेताले एक लाख १५ हजार रुपैयाँ पाउनेछन् । उपविजेताले ५५ हजार र तेस्रो हुने खेलाडीले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।