कञ्चनपुरमा नेकपा एमालेनिकट शिक्षक संगठनमा विभाजन आएको छ । पार्टी फुटेको करिब सात महिनापछि कञ्चनपुरमा नेपाल राष्ट्रिय शिक्षक संगठनबाट नेकपा (एकीकृत समावादी) निकट शिक्षकले विद्रोह गरेका हुन् । एमाले फुटेसँगै पार्टी र भ्रातृ संघ–संगठन पहिल्यै अलगअलग भए पनि शिक्षक संगठनमा भने विभाजन आएको थिएन ।
चैत ११ र १२ गते राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १२औँ जिल्ला सम्मेलन महेन्द्रनगरमा भएको थियो । सम्मेलनमा विवाद चुलिएपछि नेतृत्व चयन गर्न नसेकेकै अवस्थामा नेकपा एकीकृत समाजवादी पार्टीनिकट शिक्षकले आफ्नो छुट्टै संगठन विस्तार गरेका छन् । समाजवादीनिकट शिक्षकले राष्ट्रिय शिक्षक संगठनबाट विद्रोह गरेर आफ्नै संगठन विस्तार गरेको बताएका छन् । बिहीबार प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको प्रथम जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन गरिएको छ । रामनारायण कँडेलको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको हो । उपाध्यक्ष विकल्प शर्मा, महिला उपाध्यक्ष तुलसी जोशी, सचिव प्रकाश बडुवाल, सहसचिव लोकबहादुर थापा, कोषाध्यक्ष टेकराज भट्ट, सहकोषाध्यक्ष मीना कुँवर चयन भएका छन् ।
प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरका अध्यक्ष रामनारायण कँडेलले राष्ट्रिय शिक्षक संगठनमा व्यक्तिवाद हावी भएकाले विद्रोह गरी प्रगतिशील राष्ट्रिय शिक्षक संगठन विस्तार गरेको बताए । ‘राष्ट्रिय शिक्षक संगठनमा पुराना सिनियर साथीहरूको अपमान हुने काम भयो,’ उनले भने, ‘त्यहाँ सहन नसकेर विद्रोह गरेका छौँ ।’ आमशिक्षकको पेसागत हकहितका लागि काम गर्ने प्रणका साथ विद्रोह गरिएको उनको भनाइ छ । तर, एमालेनिकट नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरका अध्यक्ष भवानी चन्दले त्यो कुनै विद्रोह नभएको दाबी गरे । ‘अहिले समाजवादीमा गएका केही शिक्षक लोभलालचले गएको झुण्ड हो,’ उनले भने, ‘यो कुनै फुट र विद्रोह होइन ।’
स्थानीय तहको चुनावको मुखैमा एमालेनिकट शिक्षक संगठन फुटेसँगै कर्मचारी संगठनसमेत फुटको तयारीमा रहेको नेताहरले बताएका छन् ।