युक्रेन युद्धले थलिएका पाँच क्षेत्र

डिजिटल संस्करण

युक्रेन युद्धले पहिल्यैदेखि अप्ठ्यारोमा परेको आपूर्ति शृंखलामा थप अवरोध पु¥याएको छ । युक्रेन र रुसले ठूला उत्पादक राष्ट्रहरूको आयातको सानो हिस्सा ओगटे पनि दुवै मुलुक प्रमुख आपूर्ति शृंखलाका लागि चाहिने कच्चा पदार्थ र ऊर्जाका ठूला आपूर्तिकर्ता हुन् । यस युद्धले निम्न पाँच क्षेत्रमा असर गर्ने देखिन्छ ।  

१. ऊर्जा : अधिकांश युरोपेली मुलुक रुसी ऊर्जा (ग्यास पाइपलाइन) मा अत्यधिक निर्भर छन् । रुसलाई युरोपले अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली स्विफ्टबाट नहटाउनु पाइपलाइनको निर्भरता हो भन्ने देखिन्छ । यद्यपि, जर्मनीले भने नयाँ ग्यास पाइपलाइन नर्ड स्ट्रिम–२ अनिश्चितकालका लागि रोकेको छ । पाइपलाइन पूर्ण रूपमा नरोकिए पनि सानोे अवरोधले पनि प्रभाव पार्नेछ । महामारीका कारण विश्वव्यापी ग्यास भण्डारणमा कमी आएको छ र ऊर्जाको तीव्र मूल्यवृद्धिले उपभोक्ता एवं उद्योगलाई असर गरिरहेको छ ।

आपूर्ति शृंखलाका लागि पाइपलाइनमा हुने अवरोधले गम्भीर आर्थिक परिणाम निम्त्याउनेछ । अवरोधले चिकित्सा प्रक्रियादेखि खानालाई ताजा राख्न र अन्य धेरै प्रयोजनका लागि आवश्यक कार्बन–डाइअक्साइडमा कमी ल्याउने छ । र, तेल एवं ग्यासको भाउ बढ्दै गर्दा यस्तै प्रकृतिका परिणाम बढ्नेछन् ।  

 २. खाद्य पदार्थ : विविध कारणले सन् २०२१ मा विश्वव्यापी खाद्यान्नको मूल्य पहिल्यैदेखि बढेको छ । र, कच्चा पदार्थको मूल्य बढ्दा खाद्य उत्पादक थप दबाबमा पर्ने सम्भावना छ ।

रुस र युक्रेनले कुल विश्वव्यापी गहुँ निर्यातको एक चौथाइभन्दा बढी हिस्सा ओगटेका छन् र युक्रेन एक्लैले सूर्यमुखी तेलको लगभग आधा मात्रा निर्यात गर्छ । र, गहुँ एवं सूर्यमुखी तेल दुवै खाद्य उत्पादनमा प्रयोग हुने प्रमुख वस्तु हुन् । यदि युद्धग्रस्त युक्रेनमा कृषि वा निर्यात अवरुद्ध हुन्छ भने आयातकर्तालाई आपूर्तिको विकल्प खोज्न हम्मेहम्मे हुनेछ । केही मुलुक अन्नका लागि रुस र युक्रेनमा निर्भर छन् । टर्की र इजिप्ट आफ्नो ७० प्रतिशत गहुँ आयातका लागि रुस र युक्रेनमा निर्भर छन् । यसबाहेक युक्रेन चीनका लागि मकैको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो ।

विश्वका अन्य भागमा उत्पादन बढाएर खाद्य आपूर्तिमा अवरोधको प्रभाव कम गर्न मद्दत गर्न सकिन्छ । यद्यपि, मलका लागि रुसमै भर पर्नुपर्ने अवस्था छ । यति मात्रै होइन, व्यापार प्रवाहमा विचलन देखिन सक्छ, चीनले रुसी गहुँ आयात गर्न थाल्ने बताउनुलाई उदाहरण मान्न सकिन्छ ।

३. यातायात : विश्वव्यापी यातायात महामारीपछि गम्भीर रूपमा अवरुद्ध भएको सन्दर्भमा युद्धले थप समस्या सिर्जना गर्न सक्छ । समुद्री र रेल ढुवानीमा असर पर्ने देखिन्छ ।

सन् २०११ देखि चीन र युरोपबीच नियमित रेल ढुवानी सेवा स्थापना भएको थियो । हालै हजाराँै रेलले ढुवानी यात्रा गरेका छन् । उसो त रेलले एसिया र युरोपबीचको कुल ढुवानीको सानो हिस्सा मात्र ओगटेको छ । यद्यपि रेलले हालैका यातायात अवरोधमा महत्वपूर्ण भूमिका खेलेको छ र भूमिका बढ्दो देखिन्छ । रेल अहिले युक्रेनबाट घुमाइँदै छन् र रेल ढुवानी विशेषज्ञहरू अवरोध घट्नेमा आशावादी छन् । यद्यपि, लिथुआनियाजस्ता मुलुक रुसमाथि लगाइएका प्रतिबन्धबाट आफ्नो मुलुकका रेल यातायात गम्भीर रूपमा प्रभावित हुने आकलन गरिरहेका छन् । 

युक्रेनमाथि रुसको आक्रमणले दीर्घकालसम्मकै लागि ऊर्जा, खाद्य–पदार्थ, यातायात, धातु र माइक्रोचिप्सको उत्पादन, निर्यात र आयातमा गम्भीर असर पार्नेछ 
 

रुसी अतिक्रमण हुनुअघि पनि जहाज मालिकले कृष्ण सागरका नाविकीय मार्गलाई बेवास्ता गर्न थालिसकेका थिए र बिमा प्रदायक कम्पनीले मार्ग बेवास्ता गरेर गरिएका यात्राका सूचना माग गरेका थिए । कृष्ण सागरमा कन्टेनर ढुवानी विश्वव्यापीस्तरमा अपेक्षाकृत सजिलो बजार हो र ओडेसा सबैभन्दा ठूलो कन्टेनर टर्मिनलमध्ये एक हो । यदि यो टर्मिनल रूसी सेनाले अवरुद्ध पार्छन् भने युक्रेनी आयात र निर्यातमा उल्लेखनीय प्रभाव पर्नेछ, नतिजा गम्भीर मानवीय परिणाम उब्जिनेछन् । 

४. धातु : रुस र युक्रेनले निकेल, तामा र फलामजस्ता धातुको विश्वव्यापी उत्पादनको नेतृत्व गर्छन् । दुवै मुलुकले नियोन, प्यालेडियम र प्लेटिनमजस्ता अन्य आवश्यक कच्चापदार्थका निर्यात र निर्माणमा पनि ठूलो हिस्सा ओगट्छन् । 

रुसमाथि प्रतिबन्धको डरले उल्लिखित धातुका मूल्य बढेका छन् । उदाहरण, प्यालेडियमको हालको व्यापारिक मूल्य प्रतिऔँस करिब दुई हजार सात सय डलर रहेको छ, जुन मध्यडिसेम्बरयता ८० प्रतिशतले बढी हो ।  

अमेरिका, युरोप र बेलायतका एरोस्पेस उद्योग पनि रुसको टाइटेनियमको आपूर्तिमा निर्भर छन् । उसो त, बोइङ र एयरबसले वैकल्पिक आपूर्तिकर्तासँग सम्पर्क गरिसकेका छन् । यद्यपि, प्रमुख रुसी आपूर्तिकर्ता भिएसएमपिओ–एभिआइएसएमएको बजार सेयर र उत्पादन आधारमा धातु आपूर्तिलाई पूर्ण रूपमा विविधीकरण गर्न असम्भव बनाएको छ, यस सन्दर्भमा केही एरोस्पेस निर्माताले सन् २०२८ सम्मको दीर्घकालीन आपूर्ति सम्झौतामा हस्ताक्षर गरेका छन् ।यी सबै धातुमा अवरोध र सम्भावित अभाव हुन सक्छन् । नतिजा उत्पादन र सेवामा मूल्यवृद्धि हुने खतरा रहेको छ । 

५. माइक्रोचिप्स : सन् २०२१ मा माइक्रोचिप्सको अभाव प्रमुख समस्या रह्यो । केही विश्लेषकले सन् २०२२ मा अभाव कम हुने आकलन गरेका थिए, तर हालका घटनाक्रमले यो सम्भावनालाई पनि टारिदिएको छ ।  

रुसमाथिको प्रतिबन्धात्मक कारबाहीअन्तर्गत अमेरिकाले रुसी माइक्रोचिप्सको आपूर्ति बन्द गर्ने धम्की दिइरहेको छ । तर, रुस र युक्रेन माइक्रोचिप्सका लागि आवश्यक नियोन, प्यालेडियम र प्लेटिनमका प्रमुख निर्यातकर्ता भएकाले यो प्रतिबन्धको कुनै अर्थ छैन । 
द कन्भर्सेसनबाट

सुझावित समाचार