चितवनमा ४५ हजार बढी भेडाबाख्रालाई ‘पिपिआर’को खोप लगाइयो

मंगलबार, ३ फागुन, २०७८
डिजिटल संस्करण

भेडाबाख्रालाई लाग्ने ‘पिपिआर रोग’ नियन्त्रणका लागि चितवनमा एक हप्तामा ४५ हजार बढी भेडाबाख्रालाई खोप लगाइएको छ। भेटेरिनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्रले जिल्लाका सातवटा पालिकामा एकैपटक पिपिआर खोप अभियानका रूपमा भेडाबाख्रालाई खोप लगाएको हो।

२५ फागुनदेखि २ माघसम्म ४४ स्थानमा खोप केन्द्र स्थापना गरी केन्द्रले निशुल्क अभियान सञ्चालन गरेको थियो। कार्यालयका निमित्त प्रमुख प्रभात न्यौपानेका अनुसार अभियानअन्तर्गत २० भन्दा बढी भेडाबाख्रा हुने किसानको खोरमै पुगेर खोप लगाइएको थियो। खोप अभियानमा ३८ भ्याक्सिनेटर खटिएका थिए।

गत वर्ष तीनपटक पिपिआर रोगको संक्रमण फैलिँदा जिल्लामा करिब एक हजार २०० भेडाबाख्रा मरेका तथ्यांक छ। एकपटक खोप लगाएपछि तीन वर्षसम्म सो रोगको समस्या नदेखिने न्यौपानेको भनाइ छ। जिल्लामा करिब तीन लाख भेडाबाख्रा छन्। अभियान सम्पन्न भए पनि सम्पर्कमा आएका किसानका भेडाबाख्रालाई खोप लगाइने न्यौपानेले बताए। बागमती प्रदेश सरकारले प्रदेशका सबै जिल्लामा खोप अभियान सञ्चालन गरेको थियो।

See More On

सुझावित समाचार