पत्रकार विश्वकर्माको मृत्युबारे छनबिन समितिको रिपोर्ट : ‘बिरामीप्रति गर्ने सेवामा कुनै कसर बाँकी राखेको पाइएन’

बुधबार, २६ माघ, २०७८
डिजिटल संस्करण

पत्रकार एलबी विश्वकर्माको मृत्युबारे सिभिल अस्पतालले गठन गरेको छानबिन समितिले रिपोर्ट बुझाएको छ । अस्पतालको लापरबाहीका कारण पत्रकार विश्वकर्माको मृत्यु भएको आरोप लागेपछि अस्पतालले ९ माघमा छानबिन समिति गठन गरेको थियो । समितिले उक्त रिपोर्ट श्रमजीवी पत्रकार संघ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल मेडिकल काउन्सिललाई बुझाएको छ । 

समितिमा अस्पतालका आकस्मिक विभागका प्रमुख दिनेशकुमार लम्साल संयोजक, उपसचिव कृष्ण सापकोटा, शाखा अधिकृत भेषराज घिमिरे र क्यास काउन्टर प्रमुख भेषबहादुर बस्नेत सम्मिलित थिए । स्वास्थ्यमा समस्या देखिएपछि पत्रकार विश्वकर्मा ५ माघ राति उपचारका लागि सिभिल अस्पताल पुगेको रिपोर्टमा उल्लेख छ ।

उनी २५ पुसमै श्वास–प्रश्वासमा समस्या, खोकी, दम, जन्डिस र उच्च ज्वरो (१०४ डिग्री)को समस्या लिएर सिभिल अस्पताल पुगेका थिए । चिकित्सकले अवस्था गम्भीर रहेको भन्दै तत्काल आकस्मिक कक्षमा भर्ना हुन सुझाव दिए पनि नमानेर घर गएका थिए ।

रिपोर्टमा भनिएको छ, ‘स्वास्थ्य अवस्था खराब देखिएपछि भर्ना हुन भनिएको थियो । फोक्सो, कलेजो र मुटुको चिकित्सकलाई जाँच गराउनसमेत सुझाव दिइएको थियो ।’ तर, बिरामी भर्ना नभई घर गएको आकस्मिक कार्डले देखाएको उपसचिव कृष्ण सापकोटाले बताए । 

उपसचिव सापकोटाले अस्पतालले बिरामीप्रति गर्ने सेवामा कुनै कसर बाँकी नराखी उपचार गरेको र अन्यत्र पठाउन सम्पूर्ण स्वास्थ्य सुरक्षा पूरा गरी पठाएको बताए । तर, सिभिल अस्पतालबाट रिफर भएका विश्वकर्माको सोही राति ललितपुरस्थित पाटन अस्पतालमा मृत्यु भएको थियो ।

सुझावित समाचार