आफ्नै देवरले पेट्रोल छर्केर आगो लगाउँदा सप्तरीमा एक महिलाको मृत्यु भएको घटनाप्रति राष्ट्रिय महिला आयोगको ध्यानाकर्षण भएको छ। आयोगको टोलीले सोमबार घटनास्थल पुगेर पीडित परिवारसँग घटनाबारे जानकारी लिएको छ।
आयोगकी अध्यक्ष कमला पराजुली, सदस्य जया घिमिरे, सप्तरीका एसपी अविनारायण काफ्ले, मानव अधिकारकर्मी रेणु कर्णलगायतका टोलीले मृतक राजकुमारीका पति रविनकुमार साहसँग जानकारी लिएका हुन्। सो क्रममा आयोगकी अध्यक्ष पराजुलीले दोषीलाई कानुनबमोजिम कारबाही गराउने प्रतिबद्धता व्यक्त गरिन्।
गत शुक्रबार जिल्लाको बोदेबरसाइन नगरपालिका– १ धनगढीका २० वर्षीय प्रमेश्वर साहले आफ्नै भाउजू ३० वर्षीया राजकुमारीको शरीरमा पेट्रोल छर्केर आगो लगाइदिएका थिए। जलेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा विराटनगरस्थित अस्पतालमा गत शनिबार मृत्यु भएको थियो। राजकुमारीको मृत्यु भएसँगै प्रमेश्वर फरार छन्।