फोनमा कुरा गर्न आकाश हेर्नुपर्ने बाध्यता

आइतबार, १८ पुष, २०७८
डिजिटल संस्करण

हिमाली जिल्ला डोल्पामा नेपाल टेलिकमको फोन सेवा अवरुद्ध हुने गरेको छ। जिल्लाको ठूलिभेरी नगरपालिका–७ जुफालमा राखिएको टेलिफोन टावरबाट उपलब्ध फोनसेवा दैनिक १२ घण्टाभन्दा धेरै अवरुद्ध हुने गरेको हो। टावर सञ्चालन गर्न राखिएको सोलार ब्याट्री ब्याकअपले काम नगर्दा प्रत्येक दिन घण्टौँ सेवा अवरुद्ध हुने गरेको सर्वसाधारणको गुनासो छ। दुनैस्थित जैरीगार्ड जलविद्युतको घण्टौँ मार खेपिरहेका डोल्पालीले दुईसाता यता फोनसेवामा पनि असुविधा खेपिरहेको ठूलिभेरी नगरपालिका–९ का स्थानीय अमर कठायतले बताए।

‘एकसाता धेरै भयो बिहान घाम छिप्पिएपछि मात्र टावर आउँछ, बिहानको दश बजिसक्छ टावर हुँदैन,साँझ घाम गएको केही समयमै टावर जान्छ,’कठायतले दुःखेसो पोखे। दुनैको बत्ती बिग्रेदेखि फोनसेवामा अवरोध भइरहेको उनले बताए। दुर्गमलाई सुगमताको महसुस गराउने फोनसेवा नै अवरुद्ध हुन थालेपछि सर्वसाधारणले हैरानी खेप्न बाध्य भएको उनको भनाइ छ।

फोनमा कुरा गर्न आकाश हेर्न बाध्य
जुफाल टावरबाट उपलब्ध फोन सेवा लिन सर्वसाधारणहरू हिजोआज आकाश हेर्न बाध्य भएका छन्। व्याट्री व्याकअपको अभावमा प्रत्येक दिन बिहान बेलुकी नै टावर जाने गरेपछि सर्वसाधारणहरू आकाश हेर्न बाध्य भएका हुन्। बिहान घाम लागेर छिप्पिएपछि मात्रै टावर आउने भएकाले फोनमा कुरा गर्न सबैभन्दा पहिला आकाशमा बादल छ कि छैन भनेर हेर्नुपर्ने त्रिपुरासुन्दरी नगरपालिका– १ का स्थानीय रमानन्द उपाध्यायले बताए।

व्याट्री थप्न माग
जिल्लाका दुई स्थानीय तहका हजारौँ नागरिकलाई नमस्ते र स्काईको फोनसेवा दिइरहेको नेपाल टेलिकमलाई व्याट्री थप्न सर्वसाधारणले माग गरेका छन्। जनताले फोनमा सास्ती खेपिरहेकाले आफूलाई मुनाफा लिने संस्थामा पनि बेवास्ता गरेको भन्दै तत्काल व्याट्री थपका लागि सर्वसाधारणले माग गरेका हुन्। आफूले राखेको टावरबाट उपलब्ध फोनसेवालाई नियमित एवं प्रभावकारी बनाउन प्रमुख दायित्व टेलिकमको भएको सरोकारवालाले बताए।

See More On

सुझावित समाचार