स्वर्ण विजेता कास्टर सेमेन्यालाई जब टोकियो ओलम्पिकमा प्रतिबन्ध लाग्यो

शनिबार, १७ पुष, २०७८
डिजिटल संस्करण
स्वर्ण विजेता कास्टर सेमेन्यालाई जब टोकियो ओलम्पिकमा प्रतिबन्ध लाग्यो

मानव अधिकार वकालत समूह ज्विस्चेङएस्चलेचले स्विट्जरल्यान्डको लोस्यानस्थित अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको मुख्यालयअगाडि २०१९ नोभेम्बर १९ मा आयोजित प्रदर्शनलाई निर्माण गरेको पोस्टर

सन् २०२० मा आयोजना हुने भनिएको टोकियो ओलम्पिक कोरोना भाइरस महामारीका कारण सरेर सन् २०२१ मा आयोजना भयो । यसपटकको ओलम्पिक खेलाडीले महसुस गर्ने दबाबबारे महत्वपूर्ण बहसका कारण विशेष बन्यो ।

सन् २०२० टोकियो ओलम्पिकमा आफ्नो पदक जोगाउने सपना बोकेको थिएँ । मैले सन् २०१२ र सन् २०१६ को ओलम्पिकमा आठ सय मिटर प्रतिस्पर्धामा स्वर्ण जितेको थिएँ । पुनः ओलम्पिकमा प्रतिस्पर्धा गर्न चाहन्थेँ । म आठ सय मिटर दौड विधाको सर्वकालिक महान् महिला खेलाडी बन्ने लक्ष्यको एक कदम नजिक पुग्न चाहन्थेँ । तर, मलाई ओलम्पिकमा दौडन दिइएन । वल्र्ड एथलेटिक्स संस्थाको सन् २०१८ को निर्णयलाई आधार मानेर मलाई सहभागी हुन रोकिएकोमा क्रुद्ध, दुःखी र निराश छु । 


जुन निर्णयमा टेकेर मलाई ओलम्पिक खेलमा सहभागी हुन दिइएन, ओलम्पिक सकिएलगत्तै सो निर्णय खारेज गरियो । सन् २०१८ को निर्णयमा विशेष रूपमा मेरो नाम उल्लेख छैन, तथापि त्यसको निसाना म नै हुँ । वल्र्ड एथलेटिक्सको निर्णयमा जन्मँदै उच्च टेस्टोस्टेरोन हर्मोन हुने महिलालाई अन्य महिलालाई भन्दा प्रतिस्पर्धात्मक फाइदा बढी हुने उल्लेख छ । यस्ता महिलाले खेलमा सहभागी हुनका लागि टेस्टोस्टेरोन घटाउने औषधि खानुपर्ने भनिएको छ । निर्णयको समाचार पहिलोपटक सुन्दा म आहात भएको थिएँ । मलाई अपमानित महसुस भएको थियो । एक महिलाका रूपमा मेरो शरीरको नियन्त्रण मसँगै हुनुपर्छ । आफूले चुनेको पेसामा प्रतिस्पर्धा गर्न किन मैले हर्मोन बदल्ने पदार्थ लिनुँ ?


खेलकुद क्षेत्रको शिखर मानिने ओलम्पिकले खेलाडीको मानसिक तथा भौतिक सिमानालाई निरन्तर विस्तार गराउँछ । तर, यसबाट खेलाडीले व्यक्तिगत क्षति भोग्नुपर्छ । खेलाडीमाथि स्वर्ण जित्नका लागि यति धेरै दबाब हुन्छ कि केही खेलाडी प्रतिस्पर्धामा कुनै प्रकारको सबलता हासिल गर्न अनुचित मार्गको खोजीमा हुन्छन् । मैले त्यस्तो दबाबका अगाडि झुकेर केही गलत गरेको थिइनँ । म आफूलाई राम्ररी चिन्दछु र अन्यायविरुद्ध चुप लागेर बस्ने मान्छे होइन । अहिले मैले बोलेँ भने मात्र भविष्यमा अरू खेलाडीले मैलेजस्तो अन्याय भोग्नुपर्दैन । 

३ मे २०१९ मा दोहा, कतारमा सम्पन्न डाइमन्ड लिगको आठ सय मिटर महिला दौडअगाडि कास्टर सेमेन्या । सो प्रतियोगितामा उनले १ः५४.९८ समयमा दौड पूरा गरेर रेकर्ड राखेकी थिइन् । 

जुन अध्ययनलाई टेकेर वल्र्ड एथलेटिक्सले मलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो, त्यसको सुधार टोकियो ओलम्पिक सम्पन्न भएको केही समयपछि ब्रिटिस जर्नल अफ स्पोर्ट मेडिसिनले (सन् २०१७ को अध्ययन) प्रकाशित गर्‍यो । महिला खेलाडीको टेस्टोस्टेरोनको स्तरले तिनको प्रदर्शनमा प्रभाव पर्छ भन्ने अध्ययन ‘अनुमानित’ रहेको र ‘यसलाई प्रामाणिक मानेर गलत निष्कर्ष निकाल्न नहुने’ जर्नलमा लेखिएको छ । यदि अध्ययनमा रहेको त्रुटि ओलम्पिकअगाडि स्विकारिएको भए मैले प्रतियोगितामा सहभागी हुन पाउन सक्थेँ । जब मैले यो भूलसुधारको खबर सुनेँ, तब वकिलसँग मेरो पहिलो भनाइ थियो, ‘मैले त भनेको थिएँ नि !’ 


अब मैले लड्ने ठाउँ अदालत हो । अदालती लडाइँमा धेरै स्रोत खर्च हुन्छ । मेरा केही वकिलले मलाई निःशुल्क सेवा दिने प्रस्ताव राखेका छन्, तथापि मलाई संघर्ष जारी राख्न थप सहयोग आवश्यक पर्छ । मैले सन् २०१८ जुनमा पहिलोपटक खेलकुदसम्बन्धी मुद्दा हेर्ने अदालत स्विट्जरल्यान्डस्थित कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट (सिएएस)मा एथलेटिक्सविरुद्ध कानुनी चुनौती दिएको थिएँ । अर्को वर्ष अप्रिलमा अदालतले मेरोविरुद्ध निर्णय गर्‍यो । त्यसपछि स्विट्जरल्यान्डको सर्वोच्च अदालतमा मुद्दा लगेँ । सो अदालतसँग सिएएसको मुद्दालाई उल्ट्याउन सक्ने अधिकार रहेको छ । सन् २०२० सेप्टेम्बरमा अदालतले सिएएसको निर्णय सदर गर्दै उक्त निर्णय स्विट्जरल्यान्डले स्विकारेको आमव्यवस्थाको सिद्धान्त प्रतिकूल नभएको भन्यो ।


मेरा वकिलहरूका अनुसार मसँग अझै एउटा विकल्प बाँकी छ– स्विस अदालतले गरेको निर्णयलाई युरोपेली मानव अधिकार अदालतमा चुनौती दिने । यसमा दक्षिण अफ्रिकी मानव अधिकार आयोगले मेरो अडानलाई चासो देखाउँदै सघाउने बताएको छ । जन्मजात टेस्टोस्टेरोनको स्तरलाई घटाउने हर्मोन प्रयोग गरेर मेरो प्राकृतिक स्थिति बदल्न बाध्य पार्ने निर्णयले मेरो मानवीय सम्मानको उल्लंघन भएको दाबी प्रस्तुत गर्नेछौँ त्यहाँ । यदि हामीले युरोपेली मानव अधिकार अदालतमा जित हासिल गर्‍यौँ भने वल्र्ड एथलेटिक्सको दलिललाई थप कमजोर बनाउन सक्छौँ । एक उपयुक्त सुनुवाइको कल्पनाले मात्रै पनि म उत्साहित छु । मेरा वकिलहरूका अनुसार मेरो मुद्दाको सुनुवाइ सन् २०२२ मा फ्रान्सस्थित स्ट्रबोर्गमा हुँदै छ । 

टोकियो ओलम्पिक छुटे पनि मेरो शिर अझै उचो छ । म एक अश्वेत दक्षिण अफ्रिकी हुँ । विशेष क्षमता लिएर जन्मिनु मेरो अहोभाग्य हो । तर, लक्ष्य, दृढता र आत्मविश्वासविना केही हासिल हुँदैन । मैले जीवनमा भोगेका अवरोधहरूले मलाई थप बलियो बनाएको छ । महान् खेलाडी बन्न अवरोधहरू आउँछन् नै । मेरो पहिचानमा प्रश्न उठाउनेहरूबाट मैले धेरै तिरस्कार र अपमान बेहोर्दै आएको छु । अप्ठ्यारामाझ पनि आत्मसम्मान र आशा कसरी कायम गर्ने मलाई थाहा छ । अहिलेलाई मेरो ध्यान कानुनी लडाइँ जित्ने मात्र छ । क्रूर अन्यायविरुद्ध लडाइँमा हासिल हुने जित दौड मैदानमा हासिल गरेको सफलताजस्तै मीठो हुनेछ ।ह

सुझावित समाचार