पाकिस्तानी इफ्तिखार र हुनेन फर्किए घर

शनिबार, १४ कार्तिक, २०८३
प्रिन्ट संस्करण
  • इफ्तिखार र हुनेनले घर फर्किँदै भने– नेपाल, हामीलाई आतिथ्य प्रदान गर्नुभएकोमा धेरै धन्यवाद ! 

काठमाडाैं- तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)मा पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)बाट एनओसी लेटर नपाएपछि दुई पाकिस्तानी खेलाडी घर फर्किएका छन् । एनपिएल खेल्न अनुमति नपाएपछि पाकिस्तानका इफ्तिखार अहमद र हुनेन साह नेपालबाट फर्किएका हुन् ।

पिसिबीले एनपिएलमा आबद्ध आफ्ना हरेक खेलाडीका लागि थप २५ हजार अमेरिकन डलर तिर्नुपर्ने माग राखेको छ । यद्यपि, सहभागी फ्रेन्चाइज टोलीहरूले विदेशी खेलाडी अनुबन्ध गर्न चर्को मूल्य तिरिसकेका छन् । फ्रेन्चाइज टोलीले थप रकम खर्च गर्न नसक्ने र आर्थिक भार पर्ने पिसिबीलाई जानकारी दिइसकेको छ ।

पिसिबी भने आफ्ना प्रति राष्ट्रिय खेलाडीलाई २५ हजार अमेरिकन डलर दिनुपर्ने दाबी गर्दै आइरहेको छ । जसका कारण पाकिस्तानी खेलाडीको एनपिएल खेल्ने अन्योल पर्दै गइरहेको छ । गत सोमबार पाकिस्तानको टी–२० आईका कप्तानलाई पिबिसीले फिर्ता बोलाएको थियो । शुक्रबार घर फर्किएका पाकिस्तानका दुई खेलाडी निराश देखिएका थिए । उनीहरूले सामाजिक सञ्जालमा नेपालमा पाएको आतिथ्यका लागि धन्यवाद दिएका छन् । ‘नेपाल, हामीलाई आतिथ्य प्रदान गर्नुभएकोमा धेरै–धेरै धन्यवाद,’ इफ्तिखारले लेखेका छन्, ‘एनपिएलका माध्यमबाट यहाँ आउन पाउँदा निकै खुसी लाग्यो । इन्साअल्लाह, फेरि छिट्टै भेटौँला ।’

जनकपुर बोल्ट्सका सिइओ निरोज खतिवडाले पिसिबीले अनुमति नदिँदा टोलीको सन्तुलन र रणनीतिमा असर परेको बताएका छन् । जनकपुरले अन्तिम समयसम्म पनि उनीहरूका लागि एनओसी लेटरको प्रतीक्षा गरेको थियो । तर, पिसिबीले केही पनि जवाफ नपाउँदा आफूहरूले पनि नचाहँदा–नचाहँदै उनीहरूलाई फर्काउनुपरेको खतिवडाले बताए ।

सुझावित समाचार