सोमपालले पुरस्कार रकम जनावरको संरक्षणसँग बाँड्ने

शनिबार, १४ कार्तिक, २०८३
प्रिन्ट संस्करण

काठमाडाैं- तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत विराटनगर किंग्सविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका कर्णाली याक्सका कप्तान सोमपाल कामीले आफ्नो व्यक्तिगत सफलताको खुसी सडकका जनावरसँग बाँड्ने जनाएका छन् । त्रिवि क्रिकेट मैदानमा बिहीबार सम्पन्न विराटनगर किंग्सविरुद्ध कर्णाली चार विकेटले विजयी भएको थियो । कर्णालीको सनसनीपूर्ण जितमा सोमपालले ब्याटिङ र बलिङमा सानदार प्रदर्शन गरेका थिए । 

प्रतिस्पर्धामा सोमपालले प्लेयर अफ दी म्याचसँगै अन्य विभिन्न विधाबापत प्राप्त पाँच हजार रुपैयाँ सडकमा अलपत्र परेका जनावरको संरक्षण तथा सहयोगका लागि दान गर्ने घोषणा गरेका हुन् । उनले रकम सिर्जना ठकुरीलाई सहयोगस्वरूप प्रदान गर्ने बताए । प्रतिस्पर्धामा सोमपालले उत्कृष्टबापत २५ हजार, ठुलो साझेदारीमा २५ हजार, उत्कृष्ट क्षणमा २५ हजार, इलेक्ट्रोनिक्स मुभमेन्टमा २५ हजार र म्यान अफ दी म्याचमा ५० हजार रुपैयाँ पाएका थिए । समग्रमा सोमपालले एक लाख ५० हजार रुपैयाँ एकै खेलबाट जितेका थिए । ‘असहाय जनावरको संरक्षण र हेरचाहमा सघाउने उद्देश्यले पुरस्कार रकम सहयोग गरेको छु,’ सोमपालले भने ।

विराटनगरविरुद्ध सोमपालले ब्याटिङमा ६२ रन बनाउनुका साथै बलिङमा चार विकेट लिएका थिए । उनको अलराउन्ड प्रदर्शन कर्णालीको जितमा निर्णायक बन्यो । विराटनगरविरुद्ध रोमाञ्चक जितपछि सोमपालले सामाजिक सञ्जालमा आफ्नो भावना व्यक्त गरेका छन् । ‘यो रात क्रिकेटका लागि मात्र थिएन । कठिन परिस्थितिमा पनि हार नमानी महत्वपूर्ण समयमा आफ्नो प्रदर्शनबाट जवाफ दिनु विशेष अनुभूति हो,’ उनले लेखेका छन्, ‘व्यक्तिगत उपलब्धिभन्दा पनि आफ्नो कर्णाली याक्स परिवारका लागि जित निकाल्नु र त्यसमा योगदान दिन पाउनु ठुलो खुसी हो ।’

उनले कर्णालीको जर्सी लगाएर फ्रेन्चाइजका लागि खेल्न पाउनु सम्मान भएको जनाए । ‘हरेक सानो पाइलाको पनि महत्व हुन्छ,’ सडकका जनावरको संरक्षणप्रति आफ्नो प्रतिबद्धता व्यक्त गर्दै उनले लेखेका छन् । 

सुझावित समाचार