काठमाडाैं- तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत शनिबार हुने दुवै खेल प्रभावित हुने सम्भावना छ । मौसमविद्ले शनिबार पनि साँझसम्म हल्का वर्षा जारी रहने पूर्वानुमान गरेका छन् । त्रिवि क्रिकेट मैदानमा दिउँसो १२:३० बजे पहिलो खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजको सामना गर्दै छ । साँझ पाँच बजे दोस्रो खेलमा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबिच खेल हुनेछ । विराटनगरले दुई खेल गुमाइसकेको छ ।
मौसमविद् उज्ज्वल उपाध्यायले शनिबार साँझसम्म सिमसिम पानी परिरहने र आइताबरको खेलसमेत सम्भावना कम रहेको बताए । आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो एनपिएलमा रिजर्भ डे राखेको छैन । यस्तो हुँदा खेल रद्द वा नतिजाविहीन भए टोलीहरूले समान एक अंक बाँड्नेछन् । यस किसिमको नतिजा आउँदा सन्दीप लामिछानेले कप्तानी गरेको विराटनगरलाई घाटा लाग्नेछ । उसले तीन खेलमा एक अंक मात्र जोड्नेछ । सुदूरपश्चिमले तीन खेलमा तीन अंक हात पार्नेछ । काठमाडौंमा बिहीबार अबेर रातिदेखि वर्षा भइरहेको छ । शुक्रबार दिनभर पनि वर्षा रोकिएको छैन ।
बिहीबार विराटनगर र कर्णालीबिचको दोस्रो खेल सिमसिम पानी परिरहेकै अवस्थामा सम्पन्न भएको थियो । अहिले त्रिवि क्रिकेट मैदानलाई कभरले ढाकिएको छ । टिकट काटिसकेका दर्शकले भने टस नहुँदै खेल रद्द भएमा टिकटको पैसा रिफन्ड पाउने इसेवाले जनाएको छ । वर्षाले खेल समयमै सुरु हुन नसके पनि मौसम सुधार भएर मैदान तयार गरी कम्तीमा पाँच ओभरका खेल सम्भव छ । यस्तो भए प्रत्येक टोलीले पाँच ओभर खेल्नेछन् ।
आएका छैनन् चर्चित क्रिकेटर
तेस्रो संस्करणको तीन खेल सकिँदा अनुबन्धित भएका चर्चित विदेशी खेलाडी अझै आएका छैनन् । अस्ट्रेलियाका डेभिड वार्नर र दक्षिण अफ्रिकाका डेभिड मिलर एनपिएलमा आबद्ध भएका छैनन् । उनीहरू केही दिनमा आउने सम्बन्धित फ्रेन्चाइज टोलीहरूले जनाएका छन् । वार्नर काठमाडौं गोर्खाजमा आबद्ध छन् । काठमाडौंले आफ्नो पहिलो खेल जनकपुर बोल्ट्सलाई नतिजा सुम्पिएको थियो । मिलर कर्णालीमा अनुबन्ध छन् । कर्णालीले उनीविना नै दुई जित निकालेको छ ।
पहिला दुई खेलमा जित निकालेको कर्णालीले मिलरलाई छिट्टै ल्याउने तयारी गरेको जनाइएको छ । कर्णालीका निर्देशक गृहेन्द्र घिमिरेले मिलर केही दिनमा नेपाल आइपुग्ने बताए । ‘मिलरका लागि हामीले टिकट काटिसकेका छौँ । उहाँ केही दिनमा एनपिएल खेल्न नेपाल आउनुहुनेछ,’ उनले भने ।
यसैगरी, सुदूरपश्चिममा अनुबन्ध भएका वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन, नामिबियाका रुवेन ट्रम्पलम्यान, जिम्बावेका कप्तान सिकन्दर राजा, अस्ट्रेलियाका विल बोसिस्टो, क्याडनाका कलिम सना र श्रीलंकाका कमिल मिसारा पनि एनपिएल खेल्न आएका छैनन् । नामिबियाका बलर रुवेन अहिले आयरल्यान्डसँगको एकदिवसीय सिरिजमा आबद्ध छन् । चितवनमा आबद्ध भएका जिम्बावेका कप्तान सिकन्दर अहिले अफगानिस्तानसँगको टी–२० आई सिरिज खेलिरहेका छन् । जिम्बावेले अफगानिस्तानसँग टेस्ट सिरिज पनि खेल्दै छ । सिकन्दरले टेस्ट खेल्ने वा एनपिएल खेल्ने भन्ने निश्चित छैन । चितवनका श्रीलंकाली कमिलले पाकिस्तानमा त्रिदेशीय सिरिज खेलिरहेका छन् । सो सिरिजपछि उनी एनपिएल खेल्न आउनेछन् ।