च्याम्चेको तारेभिरलाई ‘रक क्लाइम्बिङ’ गन्तव्य बनाइने

शुक्रबार, २ पुष, २०७८
डिजिटल संस्करण

लमजुङको मर्स्याङ्दी गाउँपालिका- ४ च्याम्चेनजिकैको तारेभिरलाई ‘रक क्लाइम्बिङ’ अर्थात् भिर चढ्ने साहसिक खेलका लागि अन्तर्राष्ट्रिय गन्तव्य बनाइने भएको छ । चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने तारेभिरमा ‘रक क्लाइम्बिङ’ का लागि मर्स्याङ्दी गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि दुई वर्षअघि अध्ययन थालेको थियो । मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले अन्नपूर्ण पदमार्गको च्याम्चेस्थित तारेभिर रक क्लाइम्बिङका लागि उपयुक्त गन्तव्य रहेको बताए ।

उनले भने, ‘तारेभिरमा रक क्लाइम्बिङ मात्रै नभई विभिन्न तालिम तथा प्रशिक्षण केन्द्रका रूपमा पनि विकास गरिनेछ ।’ अध्यक्ष गुरुङले रक क्लाइम्बिङस्थलको पूर्वाधार निर्माण गर्न प्रदेश सरकार र संघीय सरकारलाई आग्रह गरी व्यवस्थित रूपमा अगाडि बढाइने बताए । उनले भने, ‘गाउँपालिकाको च्याम्चेनजिकैको तारेभिरलाई रक क्लाइम्बिङको गन्तव्य बनाउन मंगलबार स्थानीयलाई भेला गरी रक क्लाइम्बिङको अध्ययन र सम्भाव्यताबारे जानकारी गराइएको छ ।’

अन्तर्राष्ट्रिय माउन्टेन गाइडले दुई वर्षअघिदेखि अध्ययन थालेको उक्त भिर रक क्लाइम्बिङका लागि उपयुक्त रहेको अन्तर्राष्ट्रिय माउन्टेन गाइडको समूहले समेत निष्कर्ष निकालेको छ । अन्तर्राष्ट्रिय माउन्टेन गाइड विनायक जय मल्लले दुई वर्षअघि व्यक्तिगत खर्चमा तारेभिरमा अध्ययन थालिएको बताए ।

उनले भने, ‘तारेभिर रक क्लाइम्बिङका लागि नेपालको मात्र नभई विश्वकै उत्कृष्ट प्रशिक्षण थलो बन्न सक्नेछ ।’ उनका अनुसार नेपालमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त माउन्टेन गाइड नेपालमा मात्र ७२ जना रहेका छन् । गण्डकी अल्पाइन क्लबका उपाध्यक्षसमेत रहेका उनले विदेशबाट प्राविधिक सामग्री ल्याएर तीनवटा बाटो पहिल्याएको बताए ।

विज्ञ समूहले अध्ययन गर्दै आएको तारेभिरलाई मर्स्याङ्दी गाउँपालिकाले अपनत्व लिएपछि पूर्वाधार संरचना निर्माणको कामलाई अगाडि बढाएको छ । भौतिक पूर्वाधार निर्माण तथा यसको गुरुयोजना निर्माणका लागि यसको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरेर अघि बढ्ने गरी मर्स्याङ्दी गाउँपालिका र गण्डकी अल्पाइन क्लब अग्रसर भएका छन् ।

गण्डकी अल्पाइन क्लबका अध्यक्ष एवं अन्तर्राष्ट्रिय माउन्टेन गाइड नरेन्द्र शाही ठकुरीले साहसिक खेल रक क्लाइम्बिङका लागि च्याम्चेको तारेभिर उत्कृष्ट रहेको बताए । च्याम्चेको तारेभिरमा गरिने रक क्लाइम्बिङले चक्रीय अन्नपूर्ण पदमार्गको आकर्षण थपिने उनको भनाइ छ । मर्स्याङ्दी गाउँपालिका– ४ का वडाध्यक्ष सुमन गुरुङले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दुई लाख खर्च गरी च्याम्चेबाट दुई सय मिटर माथिसम्म ढुंगाको सिँढी निर्माण गरिएको बताए ।

उनले भने, ‘तारेभिरमा दुई वर्षअघिदेखि रक क्लाइम्बिङको अध्ययन तथा परीक्षण भइरहेको थियो ।’ च्याम्चेनजिकैको साहसिक पदयात्राका लागि प्रस्तावित तारेभिर च्याम्चेबजारबाट पाँच सय मिटरको दूरीमा पर्दछ ।

रक क्लाइम्बिङका लागि छनोट गरिएको उक्त थलो समुद्री सतहदेखि एक हजार पाँच सय ४० मिटर उचाइमा पर्दछ । उक्त स्थलमा २५ मिटरदेखि एक सय ५० मिटर उचाइसम्मको साहसिक खेलको स्थल निर्माण गर्न सकिनेछ । रक क्लाइम्बिङस्थल लमजुङ सदरमुकाम बेंसीसहरदेखि मनाङतर्फ करिब ३० किलोमिटर दूरीमा पर्छ । 

सुझावित समाचार