वेस्ट इन्डिज दोस्रो खेलमा पनि पराजित

वेस्ट इन्डिजले २० ओभरमा आठ विकेटको क्षतिमा १४३ रनको योगफल बनाएको थियो, प्रत्युत्तरमा दक्षिण अफ्रिकाले १८.२ ओभरमा दुई विकेटको क्षतिमा १४४ रन बनायो

बुधबार, १० कार्तिक, २०७८
डिजिटल संस्करण

साविक विजेता वेस्ट इन्डिज आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिता सुपर–१२ मा लगातार दोस्रो खेलमा पराजित भएको छ । समूह १ को आफ्नो दोस्रो खेलमा वेस्ट इन्डिज दक्षिण अफ्रिकासँग आठ विकेटले पराजित भएको हो । पहिलो ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४३ रनको मध्यम योगफल खडा गरेको थियो । प्रत्युत्तरमा दक्षिण अफ्रिकाले १८.२ ओभरमा दुई विकेटको क्षतिमा एक सय ४४ रन जोड्यो ।

दक्षिण अफ्रिकाको जितमा एडेन माक्र्राम र भान डेर दुसेनले तेस्रो विकेटका लागि नौ ओभरमा ८३ रनको साझेदारी गरे । एडेनले २६ बलमा चार छक्का र दुई चौका प्रहार गरी ५१ रनको योगदान दिए । भान डेर ५१ बल सामना गरी ४३ रनमा नटआउट रहे । उनले आफ्नो इनिङ्समा तीन चौका ठोके । यी दुवै ब्याट्सम्यानले ९.२ ओभरमा ६१–२ को अवस्थाबाट साझेदारी गरेका हुन् ।

लक्ष्य पछ्याउँदा दक्षिण अफ्रिकाको सुरुवात खराब भयो । इनिङ्सको छैटाैँ बलमै दक्षिण अफ्रिकाका कप्तान तथा ओपनर टेम्बा बभुमा दुई रनमा रनआउट भए । त्यसपछि रेजा हेन्ड्रिक्स र भान डेरबीच दोस्रो विकेटका लागि ५७ रनको साझेदारी भयो । रेजाले ३० बलमा चार चौका र एक छक्का प्रहार गरी ३९ रन बटुले । वेस्ट इन्डिजले पहिलो खेलमा इंग्ल्यान्डसँग केवल ५५ रनमै अलआउट भएको थियो । आइसिसी टी–२० विश्वकपमा वेस्ट इन्डिजले जोडेको ५५ रन तेस्रो कम योगफल हो ।
दुबई अन्तर्राष्ट्रिय रंगशालामा वेस्ट इन्डिजले दक्षिण अफ्रिकाविरुद्ध सुधारिएको ब्याटिङ प्रदर्शन गर्यो । कप्तान किरन पोलार्डपछिका ब्याट्सम्यानले भने सोचेको जस्तो योगदान दिन सकेनन् । शीर्ष पाँच ब्याट्सम्यानले मात्र दक्षिण अफ्रिकी बलरविरुद्ध टिकेर खेले ।

वेस्ट इन्डिजको सुरुवात निकै उत्कृष्ट भयो । ओपनरद्वय लेन्डल सिमोन्स र इभिन लेविसबीच १०.३ ओभरमा ७३ रनको साझेदारी भएको थियो । लेविस पहिलो विकेटका रूपमा आउट भए । उनले ३५ बलमा ६ छक्का र तीन चौकाको सहयोगमा ५६ रनको योगदान दिए । निकोलास पुरन र क्रिस गेलले समान १२ रन जोडे । ओपनर सिमोन्सले ३५ बलको सामना गरी केवल १६ रन मात्र बनाए । एक घन्टा क्रिजमा बस्दा सिमोन्सले एकपटक पनि बाउन्ड्री प्रहार गरेनन् । कप्तान पोलार्डले २० बलमा दुई चौका र एक छक्का प्रहार गरी २६ रनको योगदान दिए । दक्षिण अफ्रिकाका लागि बलिङमा केशव महराजले २४ रन खर्चेर दुई विकेट हात पारे ।

सुझावित समाचार