जयनगर–कुर्था रेल खण्ड नेपाललाई हस्तान्तरण

शुक्रबार, ५ कार्तिक, २०७८
डिजिटल संस्करण

भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–कुर्था सीमापार रेलमार्ग भारतले एक समारोहबीच शुक्रबार नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राको उपस्थितिमा रेलमार्ग हस्तान्तरण भएको भारतीय राजदूतावासले जनाएको छ । 

भारत सरकारको तर्फबाट परियोजनाको कार्यान्वयन निकाय इरकाँन इन्टरनेसनल लिमिटेडले सो रेल खण्ड नेपाल सरकारको तर्फबाट उपस्थित नेपाल रेलवे कम्पनी लिमिटेडलाई हस्तान्तरण गरेको हो । भारत सरकारको आर्थिक सहयोगमा भारतको जयनगरदेखि नेपालको कुर्थासम्मको ३४.९ किलोमिटर न्यारो गज खण्डलाई ब्रोड गजमा रूपान्तरण गर्ने कार्य सम्पन्न भएको छ ।  

भारत सरकारको आर्थिक सहयोगअन्तर्गत ८ अर्ब ७७ करोड रुपैयाँमा निर्माण भएको जयनगर–कुर्था खण्ड जयनगर–बिजलपुरा–बर्दिबास रेलमार्गकै एक हिस्सा हो । जयनगरदेखि बर्दिबाससम्मको कुल खण्ड ६८.७२ किलोमिटर लामो हुने भनिएको छ । यो खण्ड पहिले जयनगर र बिजलपुराबीच न्यारो गज रेलमार्गको रूपमा रहेको थियो । जयनगर–कुर्था खण्डमा कुल ८ वटा स्टेसन र साना स्टेसन रहेका छन्, जसमा जनकपुर पनि सामेल छ ।  

सञ्चालनमा आएलगत्तै यो भारत र नेपालबीचको पहिलो ब्रोड गज सीमापार रेलमार्ग हुने भारतीय दुतावासले जनाएको छ । यसले दुई देशबीचको व्यापार र वाणिज्य गतिविधिहरूलाई थप बढावा दिनुका साथै जनताबीचको सम्बन्धलाई अझ सुदृढ गर्ने विश्वास दुवै देशले लिएका छन् ।  

‘सीमापार रेल सञ्जाल भारत–नेपाल विकास सहकार्यको एक महत्वपूर्ण पक्ष हो जसमा जयनगर–बिजलपुरा–बर्दिबास रेलमार्ग र १८.६ किलोमिटर जोगबनी–विराटनगर रेलमार्ग समाविष्ट छन्,’ भारतीय राजदूतावासले भनेको छ, ‘यी दुवै रेलमार्ग भारत सरकारको आर्थिक सहायताअन्तर्गत निर्माण भएका हुन् ।’

सुझावित समाचार