कोरोना संक्रमितको मनोबल बढाउन घरदैलो अभियानमा जनप्रतिनिधि

बुधबार, १२ जेठ, २०७८
डिजिटल संस्करण

कोरोना संक्रमित भएर होम आइसोलेसनमा बस्दै आएकालाई स्वास्थ्य सामग्रीसहित जनप्रतिनिधिहरू भेट्न थालेका छन् । उनीहरूको स्वास्थ्य अवस्था बुझ्न र आवश्यक स्वास्थ्य सामग्री, औषधि उपलब्ध गराउन घरदैलो अभियान सञ्चालन गरिएको हो ।

स्वास्थ्य सामान्य अवस्थामा रहेको भन्दै होम आइसोलेसनमा बसेकाको घरघरमा अहिले जनप्रतिनिधि पुग्ने गरेका छन् । संक्रमितको स्वास्थ्य अवस्था र समस्या बुझ्न घरदैलो कार्यक्रम चलाएको बेंसीसहर नगरपालिकाका नगरप्रमुख गुमानसिंह अर्यालले बताए ।

उनले भने, ‘औषधि लिएर स्वास्थ्य अवस्था बुझ्न संक्रमितको घरघरमा पुगेका छौँ । आवश्यक परेकालाई औषधि दिएका छौँ ।’ सम्बन्धित वडाध्यक्ष, स्वास्थ्य शाखा प्रमुखलगायतको टोली संक्रमितको घरदैलोमा पुग्ने गरेको उनले बताए । 

संक्रमित र संक्रमितको परिवारलाई हौसला प्रदान गर्न घरमै पुगेको बेंसीसहर नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी अधिकारीले बताइन् । होम आइसोलेसनमा बस्दै आएका संक्रमितलाई आवश्यकताअनुसार ग्यास्ट्रिकको औषधि, भिटामिन, सिटामोल, जीवनजल, साबुन, मास्कलगायतका स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।

विपन्न संक्रमितका परिवारलाई तीन हजार रुपैयाँ प्रदान गरिएको नगरपालिकाले जनाएको छ । कोरोनाका कारण श्वासप्रश्वासमा समस्या भएका नगरभित्रका संक्रमितलाई जिल्ला अस्पताल लमजुङको आइसोलेसनमा व्यवस्थापन गरिएको छ । 

स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर स्वास्थ्य सामग्रीसँगै संक्रमितको स्वास्थ्य अवस्थाबारे जानकारी लिन संक्रमितको घरघर पुगेको मध्यनेपाल नगरपालिकाका नगरप्रमुख रमेशकुमार पाण्डेले बताए । उनले भने, ‘घरदैलोकै क्रममा नगरपालिकाभित्र कोरोना संक्रमितलाई मनोबल उच्च बनाउन आग्रहसमेत गरेको छ ।’ टोलीमा एकजना नर्स पनि छिन् । नर्सले स्वास्थ्य अवस्था परीक्षण गर्ने र आवश्यक पर्ने वस्तु उपलब्ध गराउने बताइन् । संक्रमितको घरदैलोमा पुग्दा उनीहरू खुसी हुने गरेको उनले सुनाए । 

स्वास्थ्यको विषयमा जानकार नहुँदा मानवीय क्षतिसमेत हुने गरेकाले संक्रमितको स्वास्थ्यस्थिति बुझ्न संक्रमितको घरमा जाने गरेको नगरप्रमुख पाण्डेले बताए । दोस्रो लहरको कोरोना भाइरसबाट जिल्लाका छ सय १९ जना संक्रमित भएका छन् । संक्रमितमध्ये एक सय ५५ निको भएका छन् । संक्रमितमध्ये केही जिल्ला अस्पताल लमजुङ र नमुना सामुदायिक अस्पतालमा बसेका छन् भने केही संक्रमित होम आइसोलेसनमा बसेका छन् । जिल्लामा   कोरोना संक्रमणबाट आठजनाको मृत्यु भएको छ ।

See More On

सुझावित समाचार