धादिङबेसीमा पहिलोपटक अस्थायी कोभिड अस्पताल स्थापना गरिएको छ । धादिङ अस्पतालले डिभिजन वन कार्यालयको भवनमा अक्सिजनसहित ३० बेड क्षमताको आइसोलेसन तयार गरेको हो ।
अस्पतालमा रहेको आधा बेड कोभिडका लागि तयार गर्ने सरकारको नीति छ । सोही नीतिअनुसार मंगलबार आइसोलेसन तयार गरिएको धादिङ अस्पतालका व्यवस्थापन समिति अध्यक्ष महेन्द्र धमलाले बताए । कोभिड अस्पतालमा आवश्यकताअनुसारको चिकित्सक र स्वास्थ्यकर्मीको पनि व्यवस्था गरिएको छ । ‘३० बेड क्षमताको आइसोलेसन पर्याप्त त होइन,’ धमला भन्छन्, ‘आवश्यकताअनुसार बेड थप गरिनेछ ।’ तर, भौतिक संरचना अभावले समस्या भइरहेको अध्यक्ष धमलाले बताए ।
आइसोलेसन व्यवस्थापनमा समस्या र चुनौती रहेको धादिङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवनचन्द्र झाले बताए । ‘देशैभर अक्सिजन अभाव छ । चिकित्सक अभावको पनि उस्तै समस्या छ,’ उनले भने, ‘तर, व्यवस्थापनमा लागिपरेका छौँ ।’ धादिङका पालिकाहरूमा आइसोलेसन तयार नभएकाले जिल्ला सदरमुकाम धादिङबेसीमा चाप बढ्न सक्ने देखिन्छ । सोहीअनुसार आइसोलेसन तयार गर्नुपर्ने मेसु झाले बताए ।
सदरमुकाममा भन्दा स्थानीयस्तरमा नै आइसोलेसन तयार गरेर सञ्चालन गर्दा संक्रमित र चिकित्सक दुवैलाई जोखिम कम हुने चिकित्सकहरूको ठम्याइ छ । तर, गाउँ–गाउँमा संक्रमण फैलिने क्रम बढे पनि स्थानीय तहहरूले भने क्वारेन्टिनसमेत तयार गरेका छैनन् । अस्थायी कोभिड अस्पताल स्थापनाका लागि स्थानीय सरकारलाई बजेट पठाएको भए पनि विभिन्न बहानामा क्वारेन्टिनसमेत तयार गर्न सकेका छैनन् ।