रसुवामा हिमपातबाट हुन सक्ने क्षतिको पूर्वतयारी सुरु

बिहिबार, ११ मंसिर, २०७७
डिजिटल संस्करण

हिमपातबाट हुन सक्ने क्षतिका लागि रसुवामा पूर्वतयारी सुरु गरिएको छ । हिमपातको समयमा जिल्लामा हुन सक्ने जोखिमलाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालय रसुवामा बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले पूर्वतयारी सुरु गरिएको जनाएको हो ।

हिमपातबाट प्रभावित हुन सक्ने सम्भावित स्थानको पहिचान गरेर पूर्वतयारी सुरु गरिएको जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए । 

अत्यधिक चिसो तथा हिमपातबाट जिल्लाको पाँचवटा गाउँपालिकाका पाँच सय तीन घरपरिवार प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।

प्रभावित हुन सक्ने स्थानहरूमा गोसाइँकुण्ड गाउँपालिकाको थुमन, नागथली, खैदी, गुम्बालिङ, शेर्पागाउँ, सुर्का, खाम्जिङ र भेञ्याङ, वृद्धिम, क्यान्जिङ, लाङटाङ, गुम्बाडाँडा, मुन्डु, गोसाइँकुण्ड, लौरीबिना, चोलाङपाटी, सिंगगुम्बा, ढिम्सा, नागुङ क्षेत्र रहेको छ । 

त्यसैगरी, आमाछोदिङमाे गाउँपालिकाको ठूलो हाकु, नेसिङ, पेल्दुडाँडा, गतलाङ गाउँ, पार्वतीकुण्ड, गोल्जुङ, तातोपानी, गोङगाङ र सिम्बु क्षेत्र, उत्तरगया गाउँपालिकाको तिरु, करुमऱ्याङ, सिंगयोक क्षेत्र, कालिका गाउँपालिकाको राम्चे र नौकुण्ड गाउँपालिकाको यार्सा गाउँ, युब्रा, सिमबन्दी, साङगुल, दोक्लाङ, बच्चालगायतको क्षेत्र अत्यधिक चिसो तथा हिमपातबाट प्रभावित हुने क्षेत्रको रूपमा पहिचान गरिएको छ । 

त्यसैगरी चिसोका कारण कुनै नागरिकको मृत्यु नहोस् भन्ने धारणालाई दृष्टिगत गरी जिल्लाको माथिल्लो भेगका हिमपातबाट प्रभावित हुने क्षेत्रहरूमा जाडोको समयमा आगो ताप्ने प्रयोजनका लागि एकहप्ते प्याकेजमा सुकेको दाउरा संकलनको व्यवस्था गरिने भएको छ । 

त्यसका लागि लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय र डिभिजन वन कार्यालय रसुवालाई अनुरोध गरिने भएको छ । हिमपात पूर्वतयारीका लागि जिल्ला विपत् व्यवस्थापन कोषमा रहेको रकमबाट आवश्यकताको आधारमा न्यानो कपडालगायतका सामग्री जिल्ला प्रशासनबाट खरिद गरी वितरण गर्ने व्यवस्था मिलाइने भएको छ । 

चिसोबाट प्रभावित भएका, हुन सक्ने विपन्न परिवारलाई न्यानो कपडालगायतको राहत सामग्री वितरण गर्ने व्यवस्था मिलाइने भएको छ । 

हिमपातका कारण जिल्लामा विगतका वर्षमा मानिसको ज्यान नगए पनि विभिन्न रोगबाट सिकार भएको पाइन्छ । अत्यधिक हिमपात हुने स्थानहरूमा भने हिमपहिरो जान सक्ने सम्भावना भने रहेको छ । 

त्यसका लागि हिमपात पूर्वतयारी कार्ययोजना, २०७७ निर्माण गरिएको छ । यसको प्रभावकारी कार्यान्वयनका लागि जिल्ला विपत् व्यवस्थापन समिति, स्थानीय विपत् व्यवस्थापन समिति, जिल्लास्थित सुरक्षा निकाय, नेपाल रेडक्रस सोसाइटी, गैरसरकारी संस्था, सञ्चार क्षेत्र, पत्रकारहरूलाई समन्वयात्मक रूपमा परिचालन गरिने गरी पूर्वतयारी कार्ययोजना निर्माण गरिएको समेत प्रमुख जिल्ला अधिकारी पन्तले बताए । 

हिमपातका कारण हरेक वर्ष जिल्लाको उत्तरी क्षेत्र प्रभावित हुने गरेको छ । हिमपातका कारण चिसो बढेर उत्तरी भेगका स्थानीय बासिन्दाको जनजीवन प्रभावित हुने गरेको  छ ।

जिल्लाको उत्तरी भेग लाङटाङ, क्याङजिन, गोसाइँकुण्ड, धुन्चेको लेक, ठूलोस्याफ्रु, ब्राबल, थुमन, गत्लाङ, ठूलोहाकु, ग्रे, वृद्धिम, यार्सा लेक, चोलाङपाटी, लौरीबिना, नागथली, चन्दनबारीलगायतका विभिन्न ठाउँमा बाक्लो हिमपात हुने गरेको छ । 

See More On

सुझावित समाचार