प्राकृतिक मुहान मासिएपछि हिउँदभर सुक्ने गरेका ललितपुरका ऐतिहासिक तथा पुराना हिटीहरूमा अब बाह्रैमास पानी झर्ने व्यवस्था गर्न लागिएको छ । ललितपुर महानगरले वडा नं. ६ को सुन्धारा, वडा नं. १७ को सिन्चा हिटी र मनी मण्डप हिटी संरक्षणको काम अघि बढाएको छ । त्यस्तै, वडा नं. १५ स्थित नायख्योमा रहेको मुहान संंरक्षण गर्दै त्यहाँ पोखरी निर्माणको कामसमेत सुरु गरेको छ ।
महानगरको गौरवशाली योजनाअन्तर्गत ऐतिहासिक हिटी तथा पोखरीहरूको संरक्षणको काम थालिएको हो । पहिलो चरणको योजनाअन्तर्गत तीनवटा ढुंगेधारा र पोखरीका लागि पानी ल्याउने काम थलिएको मेयर चिरीबाबु महर्जनले बताए ।
‘पहिलो चरणमा तीनवटा ढुंगेधारामा पानी ल्याउने काम सुरु गरेका हौँ, बाँकी आठवटामा दोस्रो चरणमा काम थाल्छौँ,’ मेयर महर्जनले भने । उनका अनुसार संरक्षण कार्य पूरा भएपछि धारामा चौबीसै घन्टा पानी आउनेछ । सहरीकरणका कारण प्राकृतिक स्रोतहरू मासिएपछि महानगरले ऐतिहासिक हिटी संरक्षण गर्ने अभियान नै चलाउन लागेको उनले बताए ।
ढुंगेधारा संरक्षणका लागि महानगरको अनुरोधमा ढुंगेधारा संरक्षण अभियन्ता प्रयागलाल जोशीले एक अध्ययन गरेका थिए । अध्ययनकै आधारमा त्यस्ता ऐतिहासिक तथा सांस्कृतिक महत्वका हिटी तथा पोखरीहरूको संरक्षण गर्ने योजना महानगरले बनाएको छ । वर्षामा खेर गएको पानी संकलन गरेर सुकेका ढुंगेधारा र पोखरीमा पानी ल्याउन सकिने अभियन्ता जोशीको निष्कर्ष छ ।
अध्ययन प्रतिवेदनमा महानगरभित्र रहेका ११ वटा ढुंगेधारामा पानी ल्याउन सकिने उल्लेख छ । महानगरले यो योजनाका लागि करिब ७० करोड रुपैयाँ विनियोजन गरेको छ । उपभोक्ता र महानगरवासीसँग चरणबद्ध रूपमा छलफल गरेर योजना अघि सारेको जनाइएको छ ।