राहुल चम्किएपछि काठमाडौं ११५ रनमै समेटियो

बिहिबार, १२ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । युवा तीव्र गतिका बलर राहुल यादव चम्किएपछि काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो सिजनमा आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्सलाई मात्र ११६ रनको लक्ष्य दिएको छ ।

ट्यालेन्ट हन्टबाट उदाएका १६ वर्षीय राहुलले जनकपुरका लागि सर्वाधिक चार विकेट लिनुका साथै काठमाडौंको ब्याटिङ धराशायी बनाए।

बिहीबार त्रिवि क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरे पनि टोलीले सोचेजस्तो प्रदर्शन गर्न सकेन । १९.३ ओभरमा अलआउट हुँदा टिमले ११५ रन बनायो ।

काठमाडौंका लागि मध्यक्रमका ब्याटर भीम सार्कीले सर्वाधिक ३३ रन बनाए। २९ बलमा चार चौका हिर्काएका भीमलाई ललित राजवंशीले विकेटकिपर परेराबाट स्टम्पिङ गरेका थिए । यसबाहेक रसिद खानले १७ तथा ओपनर स्मित पटेलले १३ रनको योगदान गरेका थिए । सुमित महर्जनको नाममा १० रन रह्यो । यसअघि आशा गरिएका ओपनर साम हेइजलेटले एक, हरिशंकर शाहले नाै, कप्तान करण केसीले आठ तथा मोहम्मद आदिल आलम डकआउट भएका थिए ।

पाकिस्तानका २३ वर्षीय अलराउन्डर जहानदाद खान पनि पाँच रन बनाएर आउट भएपछि काठमाडौं धरापमा परेको थियो । बंगलादेशका बलर रिपोन मोन्डोलले नाै तथा शाहब आलमले अविजित चार रन बनाएका थिए । राहुलले चार ओभरमा चार विकेट लिएर ३१ रन खर्चिएका थिए । राहुलले महत्त्वपूर्ण खेलाडीहरू साम, स्मित, कप्तान करण र चर्चित अलराउन्डर आदिललाई पेभिलियन फर्काएका थिए ।

राहुलले पछिल्लो खेलमा कर्णालीविरुद्ध दुई विकेट लिएका थिए । उनले समग्रमा दुई खेलमा ६ विकेट लिइसकेका छन् । त्यसबाहेक सैफ हसनले दुई तथा माइन अली र ललित राजवंशीले समान एक विकेट लिएका थिए । प्रतियोगितामा काठमाडौंको यो पहिलो खेल हो । करणको कप्तानीमा काठमाडौंले चार विदेशी खेलाडी राखेको छ ।

प्रतियोगितामा जनकपुर पनि पहिलो जितको खोजीमा छ । यसअघि जनकपुर आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो । दोस्रो खेलमा जनकपुरले जेम्स निसमलाई विश्राम दिएको छ । यस्तै, हर्मितसँगै माइन अलीलाई निरन्तरता दिँदा नयाँ खेलाडी बंगलादेशका सइफ हसन र श्रीलंकाका कुशल परेरालाई खेलाएको छ ।

सुझावित समाचार