आइतबार १० बजेसम्मका प्रमुख १० खबर

आइतबार, २१ भदौ, २०८३
डिजिटल संस्करण

संकटमा खटिएका सुरक्षाकर्मीप्रति हामी सधैँ कृतज्ञ रहनेछौँ : प्रधानमन्त्री बालेन

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले बाढी तथा विपतका वेला ज्यान जोखिममा राखेर नागरिकको उद्धार, खोजी र सुरक्षामा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीको उच्च प्रशंसा गरेका छन्।

राष्ट्रसेवक सुरक्षाकर्मीलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले नुवाकोटको विदुर–६, खम्पा क्याम्पस्थित केन्द्रीय कारागारमा बाढी पसेका वेला सुरक्षाकर्मीले देखाएको साहसलाई उदाहरणीय घटनाका रूपमा प्रस्तुत गरे।

उनका अनुसार कारागारमा रहेका ९२३ कैदीबन्दीलाई सुरक्षित स्थानमा सार्न नेपाल प्रहरी र सशस्त्र प्रहरीका कमान्डरसहित ५२ जना सुरक्षाकर्मीले महत्वपूर्ण भूमिका खेलेका थिए। बाढीले कारागारको प्रशासनिक भवन, सुरक्षा हाइपोस्ट र पर्खालमा क्षति पुर्याउँदै परिसरमा लेदो पसिसकेको अवस्थामा समेत सुरक्षाकर्मीले कैदीबन्दीलाई माथिल्लो भवनमा सारेका थिए।

रसुवाका सिडिओ तानिए

विपतमा राम्रोसँग समन्वय गर्न नसकेको आरोपमा रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारलाई गृह मन्त्रालयले हटाएको छ। उनी दुई महिनाअघि मात्र रसुवामा गएका थिए। 
गृहले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका कार्यरत उपसचिव कमल पाण्डेलाई रसुवाको सिडिओमा खटाएको छ। 

१० भदौको बाढीपछि खोजी, उद्धार तथा राहतमा परियारले राम्रो भूमिका खेल्न नसकेको गुनासो आएपछि उनलाई हटाइएको गृह मन्त्रालयका एक अधिकारीले बताए। 

बाढीबाट सेनाको सुरक्षा बेस पनि प्रभावित, बगाएका हतियार र उपकरणबारे खबर दिन आग्रह

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण नुवाकोट र रसुवा जिल्लामा रहेका नेपाली सेनाका सुरक्षा बेसहरूमा समेत क्षति पुगेको छ। नुवाकोटस्थित शेर गण, श्रीडाँडा ब्यारेकअन्तर्गत देवीघाट, टिमुरे, स्याफ्रुबेँसी र मैलुङ क्षेत्रमा तैनाथ सेनाको सुरक्षा बेस बाढीबाट प्रभावित भएका छन्।

यी सुरक्षा बेसहरूबाट बाढीले हातहतियार, गोलीगठ्ठा, सैनिक सामग्री तथा उपकरणहरू बगाएको शेर गण, श्रीडाँडा ब्यारेकलाई उदृत गर्दै जिल्ल प्रशासन कार्यालय नुवाकोटले जानकारी दिएको छ।

सेनाका हातहतियार तथा सैनिक सामग्रीहरू फेला परे यथाशीघ्र नजिकैको नेपाली सेनाको ब्यारेक वा नेपाल प्रहरीलाई खबर दिन प्रशासनले आग्रह गरेको छ।

प्रधानमन्त्रीलाई गगनको सुझाव– महासभामा जानुअघि विज्ञको रिपोर्ट हेर्नुस्, सचिवालयको मात्र भर नपर्नुस्

नेपाली कांग्रेसका सभापति गगन थापाले संयुक्त राष्ट्रसंघको महासभामा तथ्यसहित प्रस्तुत हुन प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गरेका छन्। आइतबार पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सभापति थापाले सचिवालयको मात्र भर नपरी विज्ञहरू र संस्थाहरूको रिपोर्ट अध्ययन गर्न सुझाव दिए।

महासभालाई प्रभाव गर्न सक्ने नेपाली विदेशमा रहेका उल्लेख गर्दै उनले नेपालकै विश्वविद्यालयसहित विभिन्न संस्थाहरूले समेत सशक्त रूपमा काम गरिरहेकाले ती संस्थासँग छलफल गर्न अनुरोध गरे। 

मनास्लु र लार्केपास पदमार्गमा यात्रा नगर्न प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु र लार्केपास पदमार्गमा तत्काल पदयात्रा नगर्न आग्रह गरेको छ। आइतबार सूचना जारी गर्दै प्रशासनले यात्रा तयारीमा रहेका तथा पदमार्गमा रहेका सबैलाई अर्को सूचना जारी नभएसम्म यात्रा रोक्न अनुरोध गरेको हो।

प्रशासनका अनुसार आइतबार बिहान करिब ३ः३० बजे चुमनुब्री गाउँपालिका– ४, नामरुङस्थित थेराङ खोलामा आएको बाढीले दुईवटा पुल बगाएको छ। बाढीले चुमनुब्री– ४ र वडा नम्बर २ जोड्ने फलामे पुल तथा नामरुङ जंगलतर्फ जाने बुढीगण्डकी नदीमाथिको झोलुंगे पुल बगाएको जनाइएको छ।

कृष्णभिरमा सडक भासिएपछि त्रिभुवन राजपथबाट इन्धन आपूर्ति, उद्धार टोलीका लागि नुवाकोटबाटै हवाई इन्धन

पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले काठमाडाैं उपत्यका तथा आसपासका क्षेत्रमा त्रिभुवन राजपथ (बाइरोड) मार्फत पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति निरन्तर गराइरहेको छ।

गत भदौ १४ गते त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्ग भत्किँदा इन्धन बोकेका ट्यांकर तथा ग्यास बुलेटहरू रोकिएका थिए। त्यसपछि निगमले वैकल्पिक मार्ग प्रयोग गरी तराईका उद्योगहरूमा भरिएका ग्यास सिलिन्डर काठमाडाैं भित्र्याउन थालेको हो।

पालिका अध्यक्ष र इन्स्पेक्टरसहित आठजना क्यासिनोबाट पक्राउ

वीरगन्जस्थित एक क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित आठजना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय, पर्साले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार भदौ १२ गते राति करिब १०ः३० बजे वीरगन्ज महानगरपालिका– १४, गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि (क्यासिनो)मा नेपाली नागरिक प्रवेश गरी जुवा खेलिरहेको सूचनापछि प्रहरीले टोली परिचालन गरेको थियो।

प्रहरीले क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेल्ने तथा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा चारजना र नेपालीलाई क्यासिनोमा प्रवेश गराउने तथा जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा थप चारजनालाई नियन्त्रणमा लिएको जनाएको छ।

सभापतिसँगको भेटमा शेखरले भने– पार्टी एकताका लागि त्याग गर्न तयार छु

नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबिच भेटघाट भएको छ। आइतबार मध्याह्न भएको भेटमा दुई नेताबिच पार्टीभित्रको आन्तरिक समस्या समाधानका विषयमा कुराकानी भयो।

डा. कोइरालाले अहिले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा पुगेकाले कांग्रेस पार्टी एक ढिक्का हुनुको विकल्प नरहेको भन्दै यसका लागि आफ्नोतर्फबाट जे–जति त्याग गर्न पनि तयार रहेको प्रस्ट पारे।

बाढी प्रभावितलाई मनोसामाजिक परामर्श आवश्यक : मन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बाढीबाट प्रभावित मानिसहरूलाई मनोसामाजिक परामर्श दिनुपर्ने बताएका छन्।

आइतबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भोटेकोशी बाढीमा घाइते भएका जलविद्युत् आयोजनाका कर्मचारी र परिवारलाई भेटेपछि मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।

घाइतेहरूको स्वास्थ स्थितिबारे जानकारी लिएपछि श्रेष्ठले भने, ‘उहाँहरूको स्वास्थ्य अवस्था सुधारोन्मुख छ। पानी र लेदोबाट भएका घाउहरू निको हुँदै छ। शारीरिक घाउ चोटहरू निको हुन थालेको छ। मानसिक र मनोवैज्ञानिक परामर्श आवश्यक छ।’

महाधिवेशन प्रक्रिया नरोके पार्टी विभाजन हुन्छ : नेता लेखक

नेपाली कांग्रेसका नेता रमेश लेखकले १५औँ महाधिवेशन प्रक्रिया तत्काल नरोके पार्टी विभाजन निश्चित रहेको बताएका छन्। आइतबार कञ्चनपुरमा कार्यकर्तासँगको भेटघाटका क्रममा नेता लेखकले यस्तो बनाएका हुन्।

आफूहरूले हदैसम्मको लचतकता अपनाएर एकताको प्रयास गरिरहेको बताउँदै उनले भने, ‘यदि अधिवेशन रोकिएन भने पार्टी विभाजन हुन्छ है, यो कुरा प्रस्ट भन्नुपर्छ साथीहरूलाई। पार्टी विभाजन रोक्नका लागि एउटै उपाय अधिवेशन रोक्नु हो।’

सुझावित समाचार