जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु र लार्केपास पदमार्गमा तत्काल पदयात्रा नगर्न आग्रह गरेको छ। आइतबार सूचना जारी गर्दै प्रशासनले यात्रा तयारीमा रहेका तथा पदमार्गमा रहेका सबैलाई अर्को सूचना जारी नभएसम्म यात्रा रोक्न अनुरोध गरेको हो।
प्रशासनका अनुसार आइतबार बिहान करिब ३ः३० बजे चुमनुब्री गाउँपालिका– ४, नामरुङस्थित थेराङ खोलामा आएको बाढीले दुईवटा पुल बगाएको छ। बाढीले चुमनुब्री– ४ र वडा नम्बर २ जोड्ने फलामे पुल तथा नामरुङ जंगलतर्फ जाने बुढीगण्डकी नदीमाथिको झोलुंगे पुल बगाएको जनाइएको छ।
पुलहरू बगेपछि मनास्लु र लार्केपास पदमार्गमा आवतजावत प्रभावित भएको भन्दै प्रशासनले तत्काल पदयात्रा नगर्न र नगराउन आग्रह गरेको हो।
पदमार्ग क्षेत्रमा कुनै विपत् वा असामान्य अवस्था देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन पनि प्रशासनले अनुरोध गरेको छ।
पुल पुनः सञ्चालनमा आएर पदमार्ग सुरक्षित भएको सम्बन्धमा प्रशासनले अर्को सूचना जारी गरेपछि मात्र यात्रा गर्न प्रशासनले आग्रह गरेको छ।