सभामुखले तोके प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको मिति
सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको मिति तोकेका छन्। सभामुख अर्यालले भदौ १० गतेको प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तरको मिति निर्धारण गरेका हुन्।
‘प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम २०८३ भदौ १० गतेको बैठकमा हुने गरी निर्धारण गरेको बेहोरा जानकारी गराउँछु,’ सोमबारको बैठकमा सभामुखले भने।
पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वाेच्चको परमादेश
पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वाेच्च अदालतले परमादेश दिएको छ। बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वाेच्चका न्यायाधीशहरू नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले थुनामा राख्न नपर्ने फैसला गरेको हो। सर्वाेच्चले उनको घर तथा अफिसबाट बरामद कम्प्युटरलगायत सामान फिर्ता गर्न पनि आदेश दिएको छ।
अदालतले अनुसन्धान भने रोक्न भनेको छैन। थुनाबाहिरै राखेर अनुसन्धान गर्न भनेको छ। श्रेष्ठ जनआस्था अनलाइनको सम्पादकीय नेतृत्वमा नभएको भन्दै थुनामै राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नभएको सर्वाेच्चको ठहर छ।
जब प्रहरीका इन्चार्ज नै स्थानीयको ‘स्टिङ’मा परे..
काभ्रेपलाञ्चोकको भकुन्डेबेँसी प्रहरी चौकीमा कार्यरत सइ गणेश श्रेष्ठको कार्यशैलीप्रति स्थानीय रुष्ट थिए। कतिपयलाई अनावश्यक रूपमा थुनेको तथा अवैध गतिविधिमा संलग्नलाई संरक्षण गरेको आरोप उनीमाथि लाग्दै आएको थियो। उनको विषयमा उजुरी गर्दा पनि जिल्ला प्रहरी कार्यालयले सुनुवाइ गरेको थिएन।
उनीबाट आजित भएका स्थानीयले आइतबार बेलुका उनै सइलाई नै ‘स्टिङ अप्रेसन’मा पारेका छन्। एक स्थानीय युवतीसँग उनको हिमचिम रहेको थाहा पाएपछि स्थानीयले ती युवतीसँग सइ श्रेष्ठलाई भकुन्डेबेँसीको एक होटेलबाट रंगेहात फेला पारेका छन्। त्यसको भिडियोसमेत बनाएर सार्वजनिक गरिदिएका छन्। उनकै मातहतका प्रहरीलाई समेत लिएर गई स्थानीयले उनलाई होटेलको कोठाबाट नियन्त्रणमा लिएका हुन्।
रास्वपाले खुलायो गाउँपालिकाका उम्मेदवारको आवेदन
राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तह निर्वाचनका लागि गाउँपालिका तहमा उम्मेदवारको आवेदन खुलाएको छ । पार्टी सभापति रवि लामिछानले ‘क्यान्डिडेट क्लब’को घोषणा गर्दै आवेदन खुला गरेका हुन्।
पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा ‘क्यान्डिडेट क्लब’को घोषणा गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानले यसपटक आन्तरिक प्रतिस्पर्धा गराएर उम्मेदवार छनोट गरिने बताए । उम्मेदवार चयनका लागि सुरुवातदेखि नै पार्टीमा लागेर काम गरेका कार्यकर्तालाई प्राथमिकतामा राखेर निर्णय हुने उनको भनाई छ । तर, कोही क्षमतावान युवाहरू आएमा उनीहरुको प्रवेश पनि नरोकिने उनले बताए ।
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गराउन आयोगको अनुरोध
निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्ने कार्यमा सहयोग गर्न आग्रह गरेको छ। आयोगले सोमबार विज्ञप्तिमार्फत मृत्यु भएका मतदाताको मृत्युदर्ता प्रमाणपत्रसहित सम्बन्धित निर्वाचन कार्यालयमा सूचना दिन परिवारका सदस्यलाई आग्रह गरेको हो।
‘कुनै मतदाताको मृत्यु भएको अवस्था भएमा निजको एकाघर परिवारका सदस्य वा अन्य कुनै व्यक्तिले मृत्युदर्ता प्रमाणपत्रसहित सम्बन्धित निर्वाचन कार्यालयमा यथाशीघ्र सूचना दिई मतदाता नामावलीलाई अद्यावधिक गर्ने कार्यमा सहयोग गर्नुहुन आयोग सबैमा हार्दिक अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
सांसदले उठाएका प्रश्नकाे जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखकाे रुलिङ
सभामुख डाेलप्रसाद अर्यालले सांसदले उठाएका प्रश्नकाे जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई रुलिङ गरेका छन् ।
विपक्षी सांसदहरूले नियमावलीकाे नियम ५६ अनुसार हरेक महिनाकाे पहिलाे हप्ता हुनुपर्ने प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नाेत्तर कार्यक्रम सञ्चालनकाे माग गर्दै हरेक दिन आवाज उठाइरहेका वेला सभामुख अर्यालले साेमबारकाे प्रतिनिधिसभा बैठकबाट रुलिङ गरेका हुन् ।
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ११० परिवारले पाए लालपुर्जा
नापी कार्यालय धनुषाले नापजाँच भएको करिब ११ वर्षपछि धनुषाको मिथिला नगरपालिका– ४ का ११० परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ ।
साबिक कजरारमौल गाउँ विकास समितिअन्तर्गत पर्ने गाउँ ब्लक (स्ववासी) जग्गाको नापजाँच आर्थिक वर्ष ०७१/७२ मा सम्पन्न भएको थियो ।
नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो । विगतमा आयोगबाट नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ११० थान जग्गाधनी पुर्जा वितरण गरिएको हो ।
सांसदले प्रवेश गर्दा र निस्किँदा हाजिर गर्नुपर्ने रास्वपाकाे प्रस्ताव
राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदले संसद् बैठकमा प्रवेश गर्दा र निस्किँदा अनिवार्य हाजिर गर्नुपर्ने प्रस्ताव गरेकाे छ ।
रास्वपा मुख्य सचेतक कवीन्द्र बुर्लाकाेटीले साेमबार सभामुख डाेलप्रसाद अर्याललाई भेटेर सांसदहरू आउँदा र फर्किँदा हाजिरी गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
एमबिएस प्रश्नपत्र आउट प्रकरणः सातजनाविरुद्ध मुद्दा दायर
त्रिुभवन विश्वबिद्यालयको एमबीएसको प्रश्नपत्र आउट गरिएको प्रकरणमा सातजनाविरुद्ध मुद्दा दायर भएको छ। केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)को अनुसन्धान प्रतिवेदनका आधारमा सोमबार जिल्ला अदालतमा शिक्षा ऐनअनुसारको कसुरअनुसार मुद्दा दायर भएको हो।
यसमा कैलालीका सन्दीप सिंह, रौतहटका अतुलकुमार मिश्र, बाराका अब्दुल सानी हाकिम, बाराका ऋषिकेशप्रसाद यादव, पर्साका खुश्बु गिरी, देवनाथ महतो र रञ्जुकुमारी गिरीविरुद्ध मुद्दा दायर भएको हो। उनीहरूमध्ये सन्दीप, अतुल र सानी मात्र पक्राउ परेका छन्। अरूलाई फरार प्रतिवादी बनाएर मुद्दा चलाइएको छ। उनीहरूमध्ये सन्दीप प्रमुख व्यक्ति हुन्। अनलाइन कक्षा लिँदै आएका उनले नै करिब एक हजार विद्यार्थी भएको ह्वाट्सएप समूह बनाएका थिए। त्यही समूहमा प्रश्न र उत्तर पठाइएको थियो। वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसबाट प्रश्नपत्र सुरुमा बाहिरिएको अनुसन्धानमा खुलेको छ।
गत नौ साउनमा सञ्चालित एमबिए पहिलो सेमेस्टरको परीक्षाको प्रश्नपत्र केही समयमै ह्वाट्सएप ग्रुपमा बाहिरिएपछि उत्तरहरू पठाइएको थियो। परीक्षा हलमा मोबाइल बोक्न दिने त्रिविको कमजोरीका कारण पनि यसरी प्रश्नपत्र बाहिरएको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन्।
कुनै भेलाको निर्णय पार्टी विधानको अंग बन्दैन : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगन थापाले कुनै पनि भेलाको छलफलका विषय र निर्णयहरू पार्टी विधानको अंग नबन्ने प्रस्ट पारेका छन्।
सोमबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले भने, ‘कुनै पनि भेलामा प्रस्तुत भएको विचार, प्रतिवेदन वा भेलाले गरेका निर्णयहरू पार्टीको नीति वा विधानको अंग बन्दैन। त्यसैले पार्टीका निम्ति त्यो स्वीकार्य हुँदैन।’
यद्यपि, पार्टी रचनात्मक बहसका लागि खुला रहेको र यो कांग्रेसको परम्परासमेत भएको सभापति थापाले बताए।