प्रधानमन्त्रीको सम्बोधन : सुनसरी घटनाप्रति सरकार संवेदनशील छ (पूर्णपाठ)
प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले सुनसरीलगायतका विभिन्न स्थानमा भएका घटनाप्रति सरकार पूर्ण रूपमा संवेदनशील रहेको बताएका छन्।
देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सामाजिक सद्भाव, शान्ति र सुरक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए। उनले घटनाको गम्भीरतापूर्वक अनुगमन भइरहेको र आवश्यक कदम चालिएको जानकारी दिए।
देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन : शान्ति, सामाजिक सद्भाव र संयमता कायम राख्न आग्रह
प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगन्ज, सिराहा लगायतका क्षेत्रमा भएका घटनापछि उत्पन्न परिस्थितिलाई लिएर देशवासीका नाममा सम्बोधन गर्दै शान्ति, सामाजिक सद्भाव र संयमता कायम राख्न आग्रह गरेका छन्।
प्रधानमन्त्री शाहले केही दिनअघि भएको दुःखद घटनाप्रति सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको बताएका छन्। उनले घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरे।
प्रहरीको बिदा रोकियो, न्यूनतम बल प्रयोग गर्न प्रधान कार्यालयको निर्देशन
तराईका जिल्लामा भइरहेको प्रदर्शनमा न्यूनतम बल प्रयोग गर्न प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । सकेसम्म सम्झाई बुझाई गर्ने र बल प्रयोग गर्नुपरे पनि न्यूनतम मात्र प्रयोग गर्न निर्देशन दिइएको प्रहरी प्रवक्ता डिआइजी अबिनारायण काफ्लेले बताए। सामाजिक सद्भावका लागि अधिकतम प्रयास गर्न पनि प्रहरीलाई निर्देशन दिइएको छ ।
राष्ट्रपति र प्रधानमन्त्रीबिच भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहबिच भेटवार्ता भएको छ। प्रधानमन्त्री शाह शीतलनिवास पुगेर समसामयिक विषयमा राष्ट्रपतिसँग भेटवार्ता गरेका छन्।
पछिल्लो समय देखिएको साम्प्रदायिक घटनाको विषयमा केन्द्रीत भई छलफल भएको स्रोत बताउँछ । तराईका जिल्लामा अशान्ति बढ्दै गएपछि प्रधानमन्त्रीले सक्रियता बढाएका हुन्।
सामाजिक सद्भाव कायम राख्न मधेशकेन्द्रित दलको आह्वान
मधेशकेन्द्रित दल र नेताले सुनसरीको देवानगन्जमा भएको घटनामा दुःख व्यक्त गर्दै संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्।
जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनमत पार्टी, राष्ट्रिय निर्माण दल र संविधानसभा सदस्य रामकुमार शर्माले संयुक्त विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव कायम राख्न अपिल गरेका हुन्।
रवि लामिछानेले गरे तराई–मधेशकेन्द्रित दलसँग छलफल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा विकसित पछिल्लो अवस्था, देखिएका समस्या र समाधानका सम्भावित उपायबारे तराई–मधेशकेन्द्रित विभिन्न दलका नेतासँग छलफल गरेका छन्।
पूर्वराजा शाहको आह्वान–अवाञ्छित घटना चिन्ताजनक, सबै नेपाली मिलौँ
पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीहरू नेपाल निर्माणको सुरुवाती समयदेखि नै परस्पर मिलिजुली, हाँसी खुसी एकअर्कामा माया प्रीति गाँसी बसेका जातजाति भएको उल्लेख गर्दै सबैलाई मिल्न आह्वान गरेका छन्।
पूर्वी तराईमा उत्पन्न परिस्थितिप्रति चिन्ता जनाउँदै बिहीबार जारी विज्ञप्तिमा पूर्वराजा शाहले नेपाली समाज बहुजातीय र बहुभाषिक रहेको, धर्म, संस्कृति र रितिथिति अलगअलग भएको उल्लेख गर्दै एकतामा खलल पार्ने काम गर्नु नहुनेमा जोड दिएका छन्।
वीरगन्जमा भोलि बिहान ६ बजेसम्म निषेधाज्ञा
पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ। जिल्ला सुरक्षा समितिले आज बिहीबार साँझ ५ बजेदेखि भोलि शुक्रबार बिहान ६ बजेसम्म वीरगन्जमा निषेधाज्ञा जारी गरेको हो।
पूर्वमा प्रतिमा चोकदेखि बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेट क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।
इपिएस भाषा परीक्षाको आवेदन दिने म्याद थपियो
दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गतको भाषा परीक्षाका लागि आवेदन दिने म्याद तीन दिन थपेर २० साउनसम्म पुर्याइएको छ। राहदानी बनाउन र नवीकरण गर्न बढेको भिडका कारण योग्य आवेदक नछुटून् भनेर म्याद थपिएको हो।
विभागले म्याद सकिएको राहदानीबाट पनि अहिले आवेदन दिन मिल्ने व्यवस्था गरेको छ। भाषा तथा सिप परीक्षा पास गरी रोजगार आवेदन फाराम भर्दासम्म भने वैध राहदानी पेस गर्नुपर्नेछ। राहदानी विभागले सेवाग्राहीको चाप व्यवस्थापन गर्न २२ साउनसम्म दुई सिफ्टमा सेवा सञ्चालन गर्ने जनाएको छ।
सेयर बजारका सबै सूचकमा गिरावट, कारोबार रकम साढे तीन अर्बभन्दा तल
बिहीबार सेयर बजारका सबै सूचकमा गिरावट आएको छ। नेप्से परिसूचक १६.२९ अंकले घटेर दुई हजार ६७२.५८ विन्दुमा कायम भएको छ। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि २.३१ अंकले ओरालो लागेको छ।
आज कारोबार रकममा समेत गिरावट देखिएको छ। बुधबार चार अर्बको सेयर कारोबार भएकोमा आज घटेर तीन अर्ब ३८ करोड १३ लाखमा झरेको हो। यस दिन ३३७ कम्पनीका ७५ लाख ४८ हजार कित्ता सेयर खरिद–बिक्री भए।