पूर्वराजा शाहको आह्वान–अवाञ्छित घटना चिन्ताजनक, सबै नेपाली मिलौँ

बिहिबार, १४ साउन, २०८३
डिजिटल संस्करण

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीहरू नेपाल निर्माणको सुरुवाती समयदेखि नै परस्पर मिलिजुली, हाँसी खुसी एकअर्कामा माया प्रीति गाँसी बसेका जातजाति भएको उल्लेख गर्दै सबैलाई मिल्न आह्वान गरेका छन्।

पूर्वी तराईमा उत्पन्न परिस्थितिप्रति चिन्ता जनाउँदै बिहीबार जारी विज्ञप्तिमा पूर्वराजा शाहले नेपाली समाज बहुजातीय र बहुभाषिक रहेको, धर्म, संस्कृति र रितिथिति अलगअलग भएको उल्लेख गर्दै एकतामा खलल पार्ने काम गर्नु नहुनेमा जोड दिएका छन्।

‘केही दिनअगाडि सुनसरी जिल्लाको केही गाउँबस्तीमा भड्किएको आपसी द्वन्द्व र विवादबाट जनधनको क्षति भएको र यसको असर फैलिँदै गएर कोशी क्षेत्र र तराइका विभिन्न भू–भागको जनजीवन अशान्त बनेको सुन्दा हामीलाई अत्यन्त दुःख लागेको छ,’ पूर्व राजा शाहले भनेका छन्, ‘समाजका सबै समुदायमा सामन्जस्य रहेको देशका रूपमा सुपरिचित नेपालमा यस प्रकारका अवाञ्छित घटना, दुर्घटना घट्नु चिन्ताको विषय हो। यो हाम्रो मौलिक मूल्य र मान्यताविपरीतको विषय हो। त्यसैले, जुनसुकै भूभागमा रहे बसेका जोकोही पनि हामी नेपाली मिलौँ। हाम्रो यही आग्रह छ। यही आजको आवश्यकता हो।’

सबैका अलग धर्म, संस्कृति र रितिथितिबिच सम्मान कायम गर्न र आपसी खलल पार्ने काम नगर्न उनले अनुरोध गरेका छन्। ‘हाम्रा आआफ्‌नै धर्म संस्कृति र रितिथिति छन्। हरेकले आआफ्‌ना तबरले आस्था र मान्यता राख्दै आएको हाम्रो परम्परा छ। यही विशिष्ट धार्मिक, सांस्कृतिक एवं सामाजिक गुणका कारणले नै विश्वमा हाम्रो सम्मान पनि रहेको छ। यो प्रकारको नेपाली विशेषता र गौरब गरिमालाई हामीले गुम्न दिनुहुँदैन। कोही कसैबाट यसमा खलल पार्ने काम हुनु हुँदैन,’ पूर्वराजा शाहले भनेका छन्।

सुझावित समाचार