देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन : शान्ति, सामाजिक सद्भाव र संयमता कायम राख्न आग्रह

बिहिबार, १४ साउन, २०८३
डिजिटल संस्करण

प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगन्ज, सिराहा लगायतका क्षेत्रमा भएका घटनापछि उत्पन्न परिस्थितिलाई लिएर देशवासीका नाममा सम्बोधन गर्दै शान्ति, सामाजिक सद्भाव र संयमता कायम राख्न आग्रह गरेका छन्।

प्रधानमन्त्री शाहले केही दिनअघि भएको दुःखद घटनाप्रति सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको बताएका छन्। उनले घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरे।

घाइतेहरूको उपचारमा कुनै कमी वा ढिलाइ हुन नदिन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइसकिएको जानकारी दिँदै उनले घटनाको निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयले समिति गठन गरिसकेको बताए। दोषी जोसुकै भए पनि कानुनअनुसार कडा कारबाही गरिने उनको भनाइ छ।

प्रधानमन्त्रीका अनुसार, थप अप्रिय घटना हुन नदिन सुरक्षा निकायलाई प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। स्थानीय अवस्थाको प्रत्यक्ष अनुगमन गर्न गृहमन्त्री स्वयं घटनास्थल पुगेका छन् भने राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेर शान्ति सुरक्षा सुदृढ बनाउन आवश्यक निर्णयहरू गरिएको छ। साथै, केन्द्रमा सर्वदलीय बैठक आह्वान गरिएको र स्थानीय तहमा पनि निरन्तर संवाद भइरहेको उनले जानकारी दिए।

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य सूचना, अफवाह र घृणा फैलाउने सामग्री प्रचारप्रसार नगर्न सबैसँग आग्रह गरे। उनले सरकारी निकायबाट जारी हुने आधिकारिक सूचना र तथ्यमा मात्र विश्वास गर्न अपिल गर्दै नागरिकको जीउधनको सुरक्षा, सामाजिक सद्भावको संरक्षण र शान्ति कायम गर्नु राज्यको सर्वोच्च दायित्व भएको उल्लेख गरे।

नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा पालन गर्ने मौलिक अधिकार दिएको स्मरण गराउँदै उनले कुनै पनि धर्मले हिंसा, घृणा वा विभाजनलाई समर्थन नगर्ने बताए। कुनै एक स्थानमा भएको घटनाका आधारमा सम्पूर्ण समुदायलाई दोषी ठहर गर्दै देशभर प्रतिशोधको वातावरण सिर्जना गर्नु न्यायोचित नहुने उनको भनाइ थियो।

प्रधानमन्त्री शाहले शान्ति सुरक्षा भंग गर्ने, अराजकता फैलाउने र समाजमा विद्यमान सद्भाव खल्बल्याउने गतिविधिप्रति सरकार सचेत रहेको उल्लेख गर्दै त्यस्ता कार्यमा संलग्नमाथि कानुनबमोजिम कडा कदम चालिने चेतावनी दिए।

सम्बोधनको अन्त्यमा उनले आम नागरिक, नागरिक समाज, धार्मिक अगुवा, राजनीतिक दल तथा सञ्चारमाध्यमलाई धैर्य, संयम र जिम्मेवारीका साथ सामाजिक सद्भाव, शान्ति र राष्ट्रिय एकता कायम राख्न सहयोग गर्न आग्रह गरे।

सुझावित समाचार