पाकिस्तानको इस्लामाबादमा चलिरहेको काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको छ । लिग चरणका पाँचै खेलमा नेपालले हारको सामना गरेको हो ।
नेपालले लिग चरणमा तीन अंक जोड्यो । अंकतालिकाको पुछारमा रहेर नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । पाकिस्तानको इस्लामाबादमा भइरहेको च्याम्पियनसिपअन्तर्गत आफ्नो पाँचौँ खेलमा नेपाल उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भयो ।
नेपाल पहिलो सेट २६–२४, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२२ ले पराजित भएको हो । यसअघि नेपाल काजकस्तान, श्रीलंका र बंगलादेशसँग ३–२ को प्रतिस्पर्धाम्क सेटमा पराजित भएको थियो ।
च्याम्पियनसिपमा १२ अंकसहित पाकिस्तान शीर्ष स्थानमा छ । अब नेपालले पाँचौँ स्थानको प्ले–अफका लागि प्रतिस्पर्धा गर्नेछ । पाँचौँ स्थानमा भिड्ने टोलीको टुंगो लागेको छैन ।
६ टोली सहभागी च्याम्पियनसिपमा शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन् । लिग चरणका बाँकी दुई खेलले सेमिफाइनल समीकरणको तय हुनेछ । उज्वेकिस्तानको नौ र बंगलादेशको ६ अंक छ । श्रीलंकाको पाँच र कजाकस्तानको चार अंक छ ।