- पूर्वकप्तान भरत शाह पुरुष भलिबलका लागि यो ऐतिहासिक अवसर रहेको बताउँछन्, खेलाडीले ५० हजारदेखि एक लाख २० हजारसम्म पाउने
नेपाली पुरुष भलिबल इतिहासमा आज पहिलोपटक अक्सन हुँदै छ । नेपाल भलिबल संघ (एनभिए)को प्राविधिक सहयोग तथा नेपाल भलिबल लिग (एभिएल)को आयोजनामा ऐतिहासिक अक्सन हुन लागेको छ । ललितपुरमा हुने अक्सनमा १२९ खेलाडीको बोली लाग्नेछ । अक्सनमा विभागीय टिम तथा प्रदेशबाट खेलिरहेका खेलाडीलाई दुई श्रेणीमा विभाजन गरिएको छ । क्याटेगोरी ‘ए’मा ५६ खेलाडी रहेका छन् । क्याटेगोरी ‘बी’मा ७३ खेलाडी समावेश गरिएको छ ।
अक्सनमा सबैभन्दा धेरै विभागीय टोली त्रिभुवन आर्मीबाट २२, गण्डकीबाट २०, एपिएफ क्लब र सुदूरपश्चिमबाट समान १८ तथा नेपाल पुलिसबाट १६ खेलाडी रहेका छन् । आयोजकका अनुसार क्याटेगोरी ‘ए’का खेलाडीको बोली एक लाखबाट उच्चतम एक लाख २० हजारसम्म लाग्नेछ ।
एकभन्दा बढी टिमबाट दाबी भएको अवस्थामा गोलाप्रथाबाट टिम छनोट हुनेछन् । त्यस्तै, क्याटेगोरी ‘बी’का खेलाडीको मूल्य ५० हजारबाट सुरु हुनेछ भने ७० लाखसम्म पुगेर टुंगिनेछ ।
पूर्वकप्तान भरत शाह पुरुष भलिबलका लागि यो ऐतिहासिक अवसर रहेको बताउँछन् । नयाँ पत्रिकासँग बोल्दै उनले भने, ‘अहिलेसम्म पुरुष भलिबलमा अक्सन भएको छैन । पहिलोपटक फ्रेन्चाइज लिग हुँदै छ,’ उनले भने, ‘पुरुष भलिबलका लागि यो ऐतिहासिक अवसर हो ।’
प्रतियोगितामा ६ टिमले कुल १२ खेलाडी समावेश गर्न पाउनेछन् । जसमा स्वदेश नौ (एक मार्की तथा ट्यालेन्ट हन्टसहित) र तीन विदेशी खेलाडी समावेश गर्न पाउनेछन् । एक टिमले क्याटेगोरी ‘ए’मा चारसम्म खेलाडी राख्न पाउनेछन् भने बाँकी ‘बी’ क्याटेगोरीबाट खेलाडी खरिद गर्नुपर्ने हुन्छ ।
पहिलोपटक हुनलागेको प्रतियोगितामा ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दै छन् । सगरमाथा स्म्यासर्स, मधेश वारियर्स, काठमाडौं रेड्स, अन्नपूर्ण स्पाइकर किंग्स, कर्णाली शिवराज र खप्तड फाल्कन्स छन् । सगरमाथा स्म्यासर्सले उत्सव खड्का, मधेश वारियर्सले भारत यादव, काठमाडौं रेड्सले निपाबहादुर विक, अन्नपूर्ण स्पाइकर किंग्सले रमेश केसी, कर्णाली शिवराजले चन्द्रबहादुर कुँवर र खप्तड फाल्कन्सले रूपेशकुमार विष्टलाई प्रशिक्षक नियुक्त गरेको छ ।
दुई वर्षअघि नै सम्झौता
केडिया ग्रुपले पहिलोपटक फ्रेन्चाइज लिग गर्न २०८१ जेठमै एनभिएसँग सम्झौता गरेको थियो । तर, विभिन्न कारण देखाउँदै प्रतियोगिता समयमै हुन सकेको थिएन । तर, दुई वर्षपछि पुनः प्रतियोगिता हुने टुंगो लागेको हो । यसअघिको सम्झौताअनुसार केडिया ग्रुपले प्रतियोगिता आयोजना गरेबापत संघलाई वार्षिक ३५ लाख उपलब्ध गराउनेछ ।