आत्मदाह प्रयास गरेका नेपालीलाई उपचारका लागि भारत लैजाने सरकारको तयारी

शुक्रबार, २६ असार, २०८३
डिजिटल संस्करण

बिहीबार त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीलाई उपचारका लागि सरकारले भारत लैजाने भएको छ। सरकारले नै उनको सम्पूर्ण उपचार खर्च व्यहोर्ने भएको छ । हाल वीर अस्पतालमा उपचाररत नेपालीको थप तथा विशिष्टीकृत उपचारका लागि तत्कालै भारतको नयाँदिल्लीस्थित ‘अखिल भारतीय आयुर्विज्ञान संस्थान’ (एम्स)मा लैजाने तयारी गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

शरीरमा आगो लगाउँदा गम्भीर घाइते भएका नेपालीको स्वास्थ्य अवस्था बुझ्न र उपचार प्रक्रियालाई तीव्र बनाउन गृहमन्त्री सुदन गुरुङ र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू आजै वीर अस्पताल पुगेका छन्। उनीहरूले वीर अस्पतालका चिकित्सक टोलीसँग घाइतेको पछिल्लो स्वास्थ्य स्थिति र उपचारको प्रगतिबारे पनि जानकारी लिएका छन्। 

चिकित्सकहरूसँगको परामर्श र अवस्थाको गम्भीरतालाई ध्यानमा राख्दै उनीहरूले बिरामीलाई तत्काल भारत लैजान आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी चुस्त बनाउन निर्देशन दिएका हुन्। 

प्रधानमन्त्री बालेन्द्र शाहको विशेष पहलमा नेपालीलाई थप उपचारका लागि भारत लैजाने सम्पूर्ण प्रक्रिया अघि बढाइएको उनको सचिवालयले जनाएको छ। 

पठाओ चालक रहेका नेपालीको मोटरसाइकलमा महानगरको प्रहरीले ह्विल लक गरेको विवादपछि उनले शरीरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेका हुन्। 
 

सुझावित समाचार