ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पुराना तथा कमजोर विद्युत् संरचनाको सुधार तथा आधुनिकीकरणका लागि ठुलो लगानी आवश्यक रहेको बताएका छन्।
मंगलबार राष्ट्रिय सभाको बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले विद्युतको बढ्दो मागअनुसार प्रसारण तथा वितरण प्रणाली विस्तार तथा स्तरोन्नति अपरिहार्य भएको उल्लेख गरे।
उनका अनुसार पछिल्ला वर्षहरूमा विद्युतको माग निरन्तर बढ्दै गएको भए पनि दशकौँअघि निर्माण गरिएका प्रसारण र वितरण संरचनाले बढ्दो भार व्यवस्थापन गर्न नसक्दा विभिन्न क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या देखिएको छ। यसले उपभोक्तालाई अपेक्षाअनुसार भरपर्दो र गुणस्तरीय सेवा उपलब्ध गराउन चुनौती थपिएको उनले बताए।
मन्त्री श्रेष्ठले विद्युत् प्रणालीलाई भरपर्दो, नियमित र गुणस्तरीय बनाउन संरचनागत सुधारलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। उनले नेपाल विद्युत् प्राधिकरणको आन्तरिक आम्दानीबाट मात्रै आवश्यक सबै सुधारका काम सम्पन्न गर्न सम्भव नभएको उल्लेख गर्दै दीर्घकालीन योजना र पर्याप्त लगानीमार्फत विद्युत् पूर्वाधारको आधुनिकीकरण अघि बढाउनुपर्ने धारणा राखे।