निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले नेपाल–चीनबीचको व्यापारिक तथा औद्योगिक साझेदारीलाई थप सुदृढ बनाउनुपर्ने बताएका छन् । यसका लागि चिनियाँ लगानीकर्ता तथा उद्यमीहरूलाई नेपाललाई उत्पादन, नवप्रवर्तन र दिगो विकासका लागि रणनीतिक साझेदारका रूपमा लिन उनले आग्रह गरेका छन् ।
अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनका लागि नेपाली दूतावास र चीन परिषद् फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड र चाइना चेम्बर अफ इन्टरनेशनल कमर्सको सहकार्यमा बुधवार र बिहीबार आयोजित नेपाल–चीन बिजनेस एन्ड इन्भेस्टमेन्ट फोरममा अध्यक्ष घिमिरेले यो बताएका हुन् । बेइजिङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिमिरेले नेपालमा प्रविधि, लगानी र औद्योगिक सहकार्य विस्तारका लागि निजी क्षेत्र पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए ।
चीनले नेपाली वस्तुका लागि उपलब्ध गराएको शून्य भन्सार सुविधाको अपेक्षित उपयोग अझै हुन नसकेकाले चीनसँग नेपालको ठूलो व्यापार घाटा रहेको त्यहाँ सहभागीले चर्चा गरे । अध्यक्ष घिमिरेको भनाई थियो, ‘हामीले चीनले प्रदान गरेको शून्य भन्सार सुविधाको पूर्ण लाभ लिन सकेका छैनौं । अब यस अवसरलाई वास्तविक आर्थिक उपलब्धिमा रूपान्तरण गर्ने समय आएको छ ।’
नेपालका उच्च मूल्यका निर्यातयोग्य वस्तुहरूका लागि नयाँ बजार विस्तारमा जोड दिँदै हस्तनिर्मित कार्पेट, पश्मिना, उच्च गुणस्तरको चिया, कफी, जडीबुटी, मसला तथा डेरीजन्य उत्पादनको निर्यात विस्तारका प्रशस्त सम्भावना रहेको सम्मेलनमा चर्चा भएको थियो । सहभागीहरुले विगत ११ महिनामा मात्र नेपालले चीनबाट ३८२ अर्ब रुपैयाँको सामान आयात गरेको छ भने निार्यत केबल १.५८अर्ब रुपैयाँमात्र रहेको भन्दै यसमा चिन्ता जनाए ।
चीनका लागि कार्यवाहक नेपाली राजदूत रोशन खनालले नेपाल सरकार विदेशी लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको उल्लेख गरिन् । उनले हालका वर्षहरूमा लगानीमैत्री नीतिगत सुधारहरू अघि बढाइएको जानकारी दिइन्। चाइना चेम्बर अफ इन्टरनेशनल कमर्सका द्विपक्षीय सहयोग विभागका महानिर्देशक जु क्वाडले कार्यक्रमले दुवै देशका व्यवसायीबीच नयाँ सहकार्यका क्षेत्र पहिचान गर्न महत्वपूर्ण भूमिका खेलेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघको निर्यात प्रवर्द्धन समितिका सभापति होमप्रसाद घिमिरेले औद्योगिक सहकार्य, प्रविधि हस्तान्तरण तथा दिगो लगानीमार्फत नेपाल–चीन आर्थिक सम्बन्धलाई थप विस्तार गर्ने अवसर सिर्जना भएको बताए । उनले नेपाललाई विदेशी लगानीका लागि उदीयमान गन्तव्यका रूपमा प्रस्तुत गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
नेपाली दूतावासकी आर्थिक कूटनीति प्रमुख पार्वती अर्यालले सम्मेलनले चिनियाँ लगानीकर्ता तथा उद्यमीहरूलाई नेपालको विशाल लगानी सम्भावना नजिकबाट बुझ्ने अवसर प्रदान गरेको बताइन् । फोरममा नेपाल र चीनका विभिन्न क्षेत्रका उद्योगी, व्यवसायी तथा लगानीकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो ।