मोरङको लेटाङ नगरपालिका–५, कानेपोखरीस्थित सडकमा अनटेस्ट सिटी अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। प्रहरीका अनुसार असार २० गते मध्याह्न करिब ११: ५५ बजे कानेपोखरीबाट लेटाङतर्फ जाँदै गरेको सिटी अटो अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले चारैजना घाइतेको उद्धार गरी उपचारका लागि एपेक्स अस्पताल लेटाङ पठाएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका लेटाङ नगरपालिका–६ निवासी ६० वर्षीय मुनराज लावतीलाई थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल रेफर गरिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा सिटी अटोचालक लेटाङ नगरपालिका–६ निवासी अन्दाजी ४० वर्षीय वीरबहादुर राई, सोही स्थानकी अन्दाजी २७ वर्षीया शान्ति राई तथा लेटाङ नगरपालिका–५ निवासी अन्दाजी ५० वर्षीया अनु राई घाइते भएका छन्। उनीहरूको एपेक्स अस्पताल लेटाङमा उपचार भइरहेको छ। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।