काठमाडाैं- एमालेको राष्ट्रिय कार्यकर्ता भेला आगामी स्थानीय तह र प्रदेश सभा निर्वाचनमा केन्द्रित हुने भएको छ । आगामी २ र ३ मंसिरका लागि बोलाइएको भेलालाई संगठन सुदृढीकरण र आन्तरिक एकतामा जोड दिँदै एमालेले निर्वाचनकेन्द्रित बनाउने तयारी गरेको हो ।
कार्की बैंक्वेट बबरमहलमा आयोजना गरिएको भेलाको उद्घाटन अध्यक्ष केपी ओलीले गर्नेछन् । भेलालाई ओली र वरिष्ठ नेता विद्यादेवी भण्डारीले सम्बोधन गर्नेछन् । प्रचार विभाग प्रमुख नीरज आचार्यले भेला पार्टी नेता–कार्यकर्तामा जागरण पैदा गर्दै आगामी निर्वाचनमा केन्द्रित हुने बताए । त्यसैको तयारीका लागि राष्ट्रिय भेलाका प्रतिनिधिलाई छलफल र निर्देशनका लागि तीनवटा अलग–अलग कार्यपत्र प्रस्तुत गर्ने तयारी छ ।
जसअनुसार उपाध्यक्ष विष्णु पौडेलले एमालेले अहिलेसम्म नेतृत्व गरेका सरकारका उपलब्धि र उपाध्यक्ष रामबहादुर थापा बादलले पार्टीको संसदीय संघर्ष र खेल्नुपर्ने भूमिकाका विषयमा केन्द्रित रहेर कार्यपत्र प्रस्तुत गर्नेछन् । त्यस्तै, महासचिव शंकर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण र आगामी निर्वाचनको कार्ययोजनासम्बन्धी कार्यपत्र पेस गर्नेछन् । तीनैजनाको कार्यपत्रको सेरोफेरोमा केन्द्रित रहेर दुई दिनसम्म भेलामा आन्तरिक छलफल गर्ने तयारी छ ।
भेलामा करिब तीन हजार चार सय प्रतिनिधि सामेल हुँदै छन् । धेरै प्रतिनिधि, छोटो समय र साँघुरो हलका कारण समूहगत छलफल नगरी विभिन्न विषय र मुद्दामा प्रतिनिधिबाट लिखित रूपमै सुझाव संकलन गरी पास गर्ने गरी एमालेले आन्तरिक तयारी गरिरहेको छ ।
‘भेलामा कार्यकर्ताबाट कसरी सुझाव लिएर अघि बढ्ने सवालमा केही महत्वपूर्ण विषय र मुद्दामा लिखित सुझाव लिएर त्यही निष्कर्षका आधारमा पार्टीलाई अगाडि बढाउने गरी नेताहरूबिच छलफलको मोडल कस्तो बनाउने विषयमा अहिले कुराकानी चलिरहेको छ,’ आचार्यले भने, ‘राष्ट्रिय भेलामा कार्यकर्ताको सुझाव लिएरै पार्टीलाई सम्पूर्ण सामर्थ्य चुनावकेन्द्रित गर्ने एमालेको तयारी छ ।’
एमालेभित्र स्थानीय तहको उम्मेदवार सम्बन्धित तहको कमिटीबाटै निर्णय गर्न दिनुपर्ने देशैभर आवाज उठिरहेको छ । तल्ला तहका उम्मेदवार माथिबाट छान्दा कार्यकर्ताको सार्वभौम अधिकारमाथि हस्तक्षेप हुने भएकाले पार्टीलाई बलियो बनाउन र चुनाव जिताउन तलबाटै उम्मेद्वार छान्नुपर्ने दबाब एमालेभित्र बढिरहेको छ । राष्ट्रिय भेलाका प्रतिनिधिले त्यस विषयमा पनि आ–आफ्नो तहबाट सुझाव राख्न सक्ने एमाले नेताहरूको आकलन छ ।
भेलाको व्यवस्थापनका लागि सचिव भानुभक्त ढकालको संयोजकत्वमा मूल समिति सक्रिय छ । त्यस्तै, केन्द्रीय सदस्य तथा नेपाल भूतपूर्व सैनिक–प्रहरी संगठनका अध्यक्ष विनोद पाण्डेको नेतृत्वमा स्वयंसेवक उपसमितिले भेला र नेताहरूको सुरक्षा व्यवस्थापनलगायत तयारीको काम गरिरहेको छ । कार्की बैंक्वेटको भित्री हल, बाहिरी प्रांगण र पार्किङ क्षेत्रमा प्रतिनिधिहरूलाई राखेर भेला सञ्चालन गर्ने तयारी छ । प्रतिनिधिका लागि खानाबाहेक आवासको सुविधा छैन ।
गत ८ असोजमा सम्पन्न केन्द्रीय कमिटी बैठकले भेला आयोजना गर्ने निर्णय गर्दै तयारी समिति बनाएको थियो । राष्ट्रिय भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्ला, स्थानीय तह, जनसंगठन तथा विभिन्न तहका जनप्रतिनिधि सहभागी हुनेछन् ।
भेलामा ३४६ जना केन्द्रीय सदस्य, केन्द्रीय निकायबाट ८१ जना तथा आठ प्रदेश कमिटी, भारत प्रवास र प्रवासी नेपाली मञ्चका तर्फबाट ५५ जना सहभागी हुनेछन् । त्यस्तै, ७७ जिल्ला, सम्पर्क कमिटीअन्तर्गतका सात जिल्ला कमिटी र राजधानी प्रदेशअन्तर्गतका चार जिल्लासहित जिल्ला तहबाट ४४० जनाको सहभागिता रहनेछ ।
पालिकास्तरका कमिटीका अध्यक्ष तथा पदाधिकारीमध्येबाट एकजनाका दरले एक हजार ५०६ जना सहभागी हुनेछन् । त्यस्तै, संघीय संसद् तथा राष्ट्रिय सभासहित ३५ जना, प्रदेश सभा सदस्य १५५ जना, स्थानीय तहका निर्वाचित प्रतिनिधिमध्ये मेयर तथा गाउँपालिका अध्यक्ष १९६ जना र उपमेयर तथा गाउँपालिका उपाध्यक्ष ३४२ जना सहभागी हुनेछन् । त्यस्तै, जनसंगठनबाट ९६ जनाको सहभागिता रहने एमालेले जनाएको छ । विशेष र समसामायिक प्रस्ताव पास गर्दै भेला सम्पन्न हुनेछ ।
निरज आचार्य, एमाले प्रचार विभाग प्रमुख
भेलामा कार्यकर्ताबाट कसरी सुझाव लिएर अघि बढ्ने सवालमा केही महत्वपूर्ण विषय र मुद्दामा लिखित सुझाव लिएर त्यही निष्कर्षका आधारमा पार्टीलाई अगाडि बढाउने गरी नेताहरूबिच छलफलको मोडल कस्तो बनाउने विषयमा अहिले कुराकानी चलिरहेको छ । राष्ट्रिय भेलामा कार्यकर्ताको सुझाव लिएरै पार्टीलाई सम्पूर्ण सामर्थ्य चुनावकेन्द्रित गर्ने एमालेको तयारी छ ।