केप भार्डेका कप्तान रियानमाथि बलात्कारको आरोप

सोमबार, १५ असार, २०८३
डिजिटल संस्करण

विश्वकपको नवप्रवेशी केप भार्डेका कप्तान रियान मेन्डिसविरुद्ध बलात्कारको उजुरी परेको छ । अफ्रिकन राष्ट्र केप भार्डेले इतिहास रच्दै पहिलोपटक विश्वकपको नकआउट चरण स्थान पक्का गरेको छ । तर, कप्तान रियानमाथिको आरोपले केप भार्डे टोलीमा असर पुर्याउने सम्भावना छ । नकआउट चरणमा केप भार्डेले साबिक विजेता अर्जेन्टिनाको सामना गर्दै छ । 

३६ वर्षीय विंगर रियानले तीन वर्ष न्युजिल्यान्डमा व्यावसायिक फुटबल खेल्दा ट्रान्सलेटर महिलालाई बलात्कार गरेको ब्राजिलबाट प्रकाशित ग्लोबो पत्रिकाले जनाएको छ । गत मार्चमा न्युजिल्यान्डको लिग खेलिरहँदा उनले ती महिलालाई अनुचित कार्य गरेको ग्लोबो पत्रिकाले उल्लेख गरेको छ । ‘अहिले न्युजिल्यान्ड प्रहरीले रियानविरुद्ध अनुसन्धान प्रक्रिया सुरु गरेको छ,’ ग्लोबोले उल्लेख गरेको छ, ‘यो घटना न्युजिल्यान्डमा भएको हुँदा त्यहीँकै प्रहरीले अनुसन्धान गरेको हो ।’ न्युजिल्यान्डमा रहँदा रियानलाई ती ब्राजिलियन महिलाले दोभाषी काममा सहयोग गरेकी थिइन् । ‘यो घटना २७ मार्च हो ।

ब्राजिलियन महिलाले न्युजिल्यान्ड र ब्राजिलमा आफूमाथि खेलाडीले बलात्कार गरेको उजुरी दिएकी छिन् । यसै आधारमा अनुसन्धान सुरु भएको हो,’ ग्लोबो पत्रिकाले आइतबारको संस्करणमा जनाएको छ । केप भार्डेका कप्तान रियानले ब्राजिलियन ट्रान्सलेटरलाई अनुचित काम गरेको दिनै मेक्सिकोसँग प्रतिस्पर्धा गरेका थिए । सो खेलमा मेक्सिको ४–२ ले विजयी भएको थियो ।

न्युजिल्यान्डको लिगमा आबद्ध हुँदा भाषा अनुवाद गर्न न्युजिल्यान्ड फुटबल महासंघले ती महिलालाई ड्युटीमा पठाएको थियो । ‘घटना होटेलको रुममा भएको देखिन्छ । प्रारम्भिक अनुसन्धानमा खेलाडीले महिलालाई हातपात गरेपछि शारीरिक सम्बन्ध राखेको देखिएको छ,’ न्युजिल्यान्ड प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘ब्राजिलियन महिलाको प्रतिवादपछि खेलाडीले बलात्कार गरेका थिए ।’ न्युजिल्यान्ड प्रहरीले ब्राजिलियन महिलाको घाँटी र शरीरमा चोट लागेको जनाएको छ । 

१० अप्रिलमा उजुरी
न्युजिल्यान्ड प्रहरीले ब्राजिलियन महिलाको बलात्कार रिपोर्ट लिएको थियो । प्रहरीले सूक्ष्म रूपमा अनुसन्धान गरेको हो । सबै प्रमाण र स्वास्थ्य परीक्षणको अन्तिम रिपोर्ट आएपछि न्युजिल्यान्ड प्रहरीले केप भार्डेका कप्तान रियानले ब्राजिलियन महिलालाई बलात्कार गरेको सार्वजनिक गरेको हो । ‘ती महिलाले हामीकहाँ १० अप्रिलमा उजुरी दिएकी हुन् । त्यसपछि आन्तरिक अनुसन्धान चल्यो । सबै प्रमाण संकलन भएपछि यो घटना सार्वजनिक गरिएको हो,’ न्युजिल्यान्डको प्रहरीले भनेको छ, ‘न्युजिल्यान्डको नियमअनुसारै काम अगाडि बढाइएको छ ।’ यसैबिच ब्राजिल तथा न्युजिल्यान्डका प्रहरीको रिपोर्टअनुसार केप भार्डेमाथि अनुसन्धान थालनी हुने जनाएको छ । 

‘फिफाले तत्काल कारबाही गर्दैन । यो उजुरी मात्र हो,’ फिफाको विज्ञप्तिमा भनिएको छ, ‘सबै किसिमको अनुसन्धानपछि मात्र खेलाडीमाथि गरिने कारबाहीको निष्कर्ष निकालिनेछ ।’ फिफाले न्युजिल्यान्डमा सम्बन्धित अधिकारीसँग वार्ता गरिसकेको छ । ‘हामीले न्युजिल्यान्डसँगै ब्राजिलका अधिकारीसँग रियालसँगको जोडिएको घटनाबारे सोधपुछ गरेका छौँ,’ फिफाले भनेको छ ।

सुझावित समाचार