बुधबार १० बजेसम्मको प्रमुख १० खबर

बुधबार, ३ असार, २०८३
डिजिटल संस्करण

दीपक भट्ट र सुलभ अग्रवाल जेल चलान (विशेष अदालतको आदेशसहित)

सम्पत्ति शुद्धीकरणको मुद्दामा बिचौलिया दीपक भट्ट र व्यवसायी सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ। बयान र थुनछेक बहसपछि विशेष अदालतले बुधबार उनीहरूलाई कारागार चलानको आदेश दिएको छ। 

विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, नारायणप्रसाद कोइराला र विदुर कोइरालाको इजलासले प्रमाण हेरेर थुनामा पठाउनुपर्ने आदेश गरेको हो।  
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले गत बिहीबार उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो । भट्टविरुद्ध २६ तथा अग्रवालविरुद्ध २५ अर्ब रुपैयाँको बिगो छ। 

  बिमा, धितोपत्र तथा बैंकिङ कसुरमार्फत आर्जन गरेको सम्पत्ति उनीहरूले शुद्धीकरण गरेको अभियोग छ। जिल्ला अदालतमा बिमा र धितोसम्बन्धी तथा उच्च अदालतमा बैंकिङ कसुर मुद्दा दायर भइसकेको छ। सत्ताको आडमा उनीहरूले अबौँको वित्तीय अपचलन गरेको सरकार विभिन्न निकायको अनुसन्धानबाट खुलेको छ । उनीहरूको अन्य कारोबारमाथि सम्पत्ति शुद्धीकरणले थप अनुसन्धान गरिरहेको छ। 

विदेशमा पिआर लिएर बसेका दुई कर्मचारीसँग स्पष्टीकरण माग, अन्यको पनि खोजी हुँदै

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ।

मन्त्रालयले सूचना जारी गर्दै अध्ययन बिदा वा असाधारण बिदा समाप्त भएपछि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेका दुईजनामाथि कानुनी प्रक्रिया अघि बढाएको जनाएको हो।

सूचनाअनुसार मन्त्रालयमा कार्यरत दुई कम्प्युटर अपरेटर अध्ययन र असाधारण बिदा सकिएपछी पनि लामो समयदेखि कार्यालयमा अनुपस्थित छन्। उनीहरुले अस्थायी आवासीय अनुमति र  स्थायी आवासीय अनुमतिसमेत लिएको पाइएको छ।

असार तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण गर्ने सरकारको तयारी

सरकारले यही असार तेस्रो सातादेखि भूमिहीन सुकुमवासीलाई लालपुर्जा वितरण गर्ने तयारी गरेको छ। बुधबार प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सो जानकारी दिएकी हुन्।

भूमि आयोग कार्यकर्ता भर्ना गर्ने थलो मात्र हुँदा त्यसले निकास दिन नसकेको उल्लेख गर्दै मन्त्री रावलले पुरानो ढर्रा र संरचनाले काम नगर्ने निष्कर्षसहित समिति गठन गरेर काम गरिरहेको जानकारी दिइन्।

‘३०औँ वर्षमा १२ लाख निवेदन प्राप्त भएकोमा नौ हजार मात्र लालपुर्जा बाँडिनु भनेको एकदमै लज्जास्पद कुरा हो,’ उनले भनिन्। जिल्लास्तरमा पनि सिडिओको अध्यक्षतामा समिति बनाएर काम भइरहेको उनले जानकारी दिइन्।

उनले भनिन्, ‘हामीले काम सुरुवात गरिसकेका छौँ, मन्त्रालयले अपेक्षा गरेको चाहिँ असारको तेस्रो हप्तादेखि लालपुर्जा वितरण गर्ने काम सुरुवात गर्नेछौँ।’

बिहारमा योजना बनाएर चितवनबाट बालकको अपहरण, काठमाडौंबाट पाँच भारतीय पक्राउ

चितवनबाट अपहरणमा परेका १५ वर्षीय बालकको २४ घण्टा नबित्दै काठमाडौंको नयाँ बसपार्कस्थित एक होटेलबाट सकुशल उद्धार गरिएको छ। घटनामा संलग्न मुख्य योजनाकारसहित ५ भारतीय नागरिकलाई प्रहरीले बसपार्कस्थित होटेल फेमिलीबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत बिहार राज्यको बेतियाका सुजितकुमार, गोलुकुमार सोनी, गोलुकुमार, बिक्की कुमार र मोहम्मद साहिद रहेकाे प्रहरीले जनाएको छ। उनीहरू सबै १८ वर्षका छन्।

भारतको बेतियामा योजना बुनेर नेपाल प्रवेश गरेको यो गिरोहले बालकलाई इन्स्टाग्राममार्फत सम्पर्कमा ल्याई धारिलो हतियार देखाएर काठमाडौं पुऱ्याएको र होटेलमा बन्धक बनाई परिवारसँग फिरौती माग गरेको प्रहरीले जनाएको छ।

अध्ययन बिदा सकेर सेवामा नफर्किने शिक्षक र कर्मचारीलाई १५ दिने अल्टिमेटम

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा उपभोग गरेर पनि सेवामा नफर्किने तथा फर्केर पनि पूरा अवधि सेवा नगर्ने शिक्षक र कर्मचारीहरूलाई अल्टिमेटम दिएको छ।

त्रिविको अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले बुधबार एक जरुरी सूचना जारी गर्दै त्यस्ता शिक्षक तथा कर्मचारीहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन अन्तिम मौका दिएको हो।

अन्यथा विश्वविद्यालयसँग गरिएको कबुलियतनामा एवं नियमानुसार कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने त्रिविको चेतावनी छ।

जैविक र रासायनिक मलको उपलब्धता बढाउने कार्ययोजना बनेको छ : कृषिमन्त्री चौधरी

आगामी आर्थिक वर्ष ०८३/८४ को बजेटमा सांसदहरूले उठाएको प्रश्नमा जवाफ दिँदै कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रोपाइँको सिजनमा जैविक र रासायनिक मलको अभाव हुन नदिने गरी कार्ययोजना लागू गरेको बताएकी छिन् ।

बुधबारको संसद् बैठकमा बोल्दै मन्त्री चौधरीले जैविक मलको उपलब्धता बढाउन प्रदेशमा ११ करोड २४ लाख र संघमा ३५ करोड विनियोजन गरिएको र सो बजेटको कार्यान्वयनबाट जैविक मल उत्पादन र वितरणमा सुधार हुने उनले जानकारी दिइन् । त्यस्तै, रासायनिक मलमा अनुदान दिन २५ अर्ब ४६ करोड विनियोजन भएको र अपुग हुने बजेट अर्थ मन्त्रालयले निकासा दिने प्रतिबद्धता जनाएको पनि उनले बताइन् ।

पासपोर्ट छपाइ अनियमितता : जर्मन कम्पनीका एजेन्ट र विभागका लेखा अधिकृत पक्राउ, सिद्धार्थ थापा फरार

पासपोर्ट छपाइमा भएको अनियमितताको छानबिनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप दुईजनालाई नियन्त्रणमा लिएको छ। राहदानी विभागका लेखा अधिकृत तुलसीप्रसाद अर्याल र म्युहलबाउर आइडी सर्भिसका नेपाल प्रतिनिधि मनेन्द्र मल्ललाई आयोगले बुधबार पक्राउ गरेको हो। उनीहरूलाई तीन दिन थुनामा राख्नसमेत विशेष अदालतले म्याद दिएको आयोगका एक अधिकारीले बताए। 

आयोगले सोमबार यस मुद्दामा विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनील केसीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। विभागका अन्य कर्मचारीलाई तारेखमा राखिएको छ। सार्वजनिक खरिद नियमावली मिचेर विभागले ६४ लाख पासपोर्ट छपाइको जिम्मा दुई जर्मन कम्पनीलाई दिएको विषयमा छानबिन अघि बढेको हो।

रास्वपाले सार्वजनिक गर्यो केन्द्रीय महाधिवेशनको आधिकारिक लोगो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय महाधिवेशनको आधिकारिक लोगो सार्वजनिक गरेको छ। पार्टीले आगामी असार ७–९ गते चितवनमा हुने महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै लोगो सार्वजनिक गरेको हो। महाधिवेशनलाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यसहित तयारी भएको रास्वपाले जनाएको छ । 

रास्वपाले हालै महाधिवेशन तयारी कार्यतालिकासमेत सार्वजनिक गरेको छ। कार्यतालिकाअनुसार देशभर निर्वाचन समिति गठन, प्रतिनिधि छनोट, अधिवेशन प्रतिवेदन संकलन तथा प्रदेश अधिवेशन सम्पन्न गर्ने कामहरू समयसीमाभित्र गरिनेछन्। महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ प्रणालीबारे पनि छलफल हुने बताइएको छ।

भारतले निर्यातमा अवरोध गरेपछि ५३ चिया उद्योग बन्द

नेपाली चिया निर्यातमा भारतले पटक–पटक विभिन्न बहानामा अवरोध गर्दा चिया किसान मर्कामा पर्दै आएका छन् । परीक्षणका नाममा भारतीय टी बोर्डले पुनः अवरोध गर्दा अहिले चिया निर्यातमा समस्या देखिएको छ ।

भारतीय चिया बोर्डले १ मेदेखि नयाँ मापदण्डको नाममा लागू गरेको ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ (एसओपी)अन्तर्गत नेपालबाट निर्यात हुने चियाको गुणस्तर जाँच अनिवार्य गरेको छ । भारतको भन्सार र टी बोर्डले दोहोर परीक्षण गर्दै आएका छन् । परीक्षणको प्रतिवेदन आउन लामो समय लाग्ने भएका कारण भारत पठाएका चिया फिर्ता गर्नुपर्ने वा नष्ट गर्नुपर्ने अवस्था आएको चिया उद्योगीको गुनासो छ । 

इसेवाको कर्मचारी हुँ भन्दै ओटिपी मागेर स्क्याम गर्ने २२ वर्षीय युवक पक्राउ

इसेवाको कर्मचारी हुँ भन्दै ओटिपी मागेर स्क्याम गर्ने २२ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको साइबर ब्यूरोले रौतहटको खेसरहिया गाविस– १ जन्मस्थान भई माधव नारायण नगरपालिका– २ बस्ने अन्दाजी २२ वर्षीय शुभम साहलाई मंगलबार पक्राउ गरेको हो।

साहले आफू इसेवाको कर्मचारी रहेको भनी याक एण्ड को इन्टरप्राइजेजको इसेवा आइडीमा धेरै रिवार्ड पोइन्ट जम्मा भएर रहेको बताउँदै बारम्बार फोन गरेर ओटिपी मागेका थिए। ओटिपी प्रयोग गरेर उनले याक एण्ड को इन्टरप्राइजेजको खाताबाट एक लाख ९८ हजार ४९९ रुपैयाँ इभोलुसन ट्रेडिङ प्रालिको इसेवामा ट्रान्सफर गरेका प्रहरीले जनाएको छ।

सुझावित समाचार