भारतले निर्यातमा अवरोध गरेपछि ५३ चिया उद्योग बन्द

‘पिक आवर’मा चिया निर्यातमा समस्या हुँदा ११ लाख केजी गोदाममै थन्कियो, उद्योग बन्द गर्दै चिया उद्योगी

बुधबार, ३ असार, २०८३
डिजिटल संस्करण

नेपाली चिया निर्यातमा भारतले पटक–पटक विभिन्न बहानामा अवरोध गर्दा चिया किसान मर्कामा पर्दै आएका छन् । परीक्षणका नाममा भारतीय टी बोर्डले पुनः अवरोध गर्दा अहिले चिया निर्यातमा समस्या देखिएको छ ।

भारतीय चिया बोर्डले १ मेदेखि नयाँ मापदण्डको नाममा लागू गरेको ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ (एसओपी)अन्तर्गत नेपालबाट निर्यात हुने चियाको गुणस्तर जाँच अनिवार्य गरेको छ । भारतको भन्सार र टी बोर्डले दोहोर परीक्षण गर्दै आएका छन् । परीक्षणको प्रतिवेदन आउन लामो समय लाग्ने भएका कारण भारत पठाएका चिया फिर्ता गर्नुपर्ने वा नष्ट गर्नुपर्ने अवस्था आएको चिया उद्योगीको गुनासो छ । 

इलामको सूर्योदय नगरपालिकामा रहेका ५३ चिया उद्योग आबद्ध सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनअन्तर्गतका उद्योग सोमबारबाट बन्द भएका छन् । यी उद्योगले किसानको चियाको पत्ती लिन छाडेको एसोसिएसनका अध्यक्ष डिल्ली श्रेष्ठले जानकारी दिए । लामो समय चिया निर्यात नहुँदा गोदाममा चिया राख्ने ठाउँ नै नभएको उनले बताए । करिब ११ लाख केजी चिया गोदाममै थन्किएको र अब किसानले उत्पादन गरेको हरियो चिया पत्ती लिन नसक्ने अवस्थामा पुगेको उनले बताए । ‘५३ वटा उद्योग सोमबारबाट बन्द गरेका छौँ । गोदाम भरिएको छ । हरियो पत्ती लिनेबित्तिकै किसानलाई भुक्तानी दिनुपर्छ । कर्मचारी र मजदुरलाई तलब चाहियो । चिया निर्यात नभएपछि कसरी दिने ? हाम्रो केही उपाय नलागेपछि हामीले उद्योग बन्द गर्यौँ,’ उनले भने, ‘निर्यातमा भारतकै भर पर्नुपर्ने अवस्था छ । चार प्रतिशत युरोपियन देशमा जान्छ । एक प्रतिशत पनि नेपालमा खपत हुँदैन । चैतयता चिया जान नै पाएको छैन ।’ 

१९ मेमा भारतको टी बोर्डले सूचना जारी गर्दै आन्तरिक खपत हुने चियालाई केही खुकुलो गरेको थियो । एसओपी संशोधन गरेपछि ‘र्यान्डम’ नमुना संकलन गरेर परीक्षण गर्ने गरी नयाँ नियम ल्याएको थियो । नेपालको पहाडी क्षेत्रमा अर्थोडक्स र तराई क्षेत्रमा सिटिसी चिया उत्पादन हुँदै आएका छन् । उत्पादन भएको ९५ प्रतिशत अर्थोडक्स चिया भारत नै निर्यात हुँदै आएको छ भने ५० प्रतिशत सिटिसी चिया भारत निर्यात हुन्छ । ५० प्रतिशत भने नेपालमै खपत हुँदै आएको छ । 

अहिले चिया उत्पादनको ‘पिक आवर’ हो । यही समयमा चिया निर्यातमा झमेला भएपछि उद्योगीले धमाधम उद्योग बन्द गर्न थालेका छन् । भारतमा गएको करिब तीन सय केजी चिया पनि कोलकाता र सिलिगुडीका गोदाममा थन्किएको उनले बताए । ती चियाको परीक्षणका लागि नमुना संकलन गर्न नै दश दिनभन्दा बढी लगाएको र भारतीय टी बोर्डले नमुना लगेको १५ दिनमा पनि परीक्षण प्रतिवेदन दिन नसकेको उनले बताए ।चिया निर्यातमा भारतले सधैँ समस्या दिएको भन्दै दीर्घकालीन समाधान खोज्नुपर्ने उनले बताए । यसका लागि काठमाडौं पुगेर मन्त्रालय धाए पनि मन्त्रीहरूसँग भेट हुन नसकेको श्रेष्ठले बताए ।  

नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्यराज पराजुलीले ४ असारबाट झापाका उद्योग पनि बन्द गरिने बताए । चिया तथा कफी विकास बोर्डका निर्देशक तथा प्रवक्ता दीपक खनालले चिया निर्यातमा देखिएको समस्याबारे जानकार भए पनि आधिकारिक निकायबाट जानकारी प्राप्त नभएको बताए । 

उनले भारतको टी बोर्डले १ मेदेखि भएको अवरोध र १९ मेमा त्यसलाई गरेको संशोधनबारे जानकारी भएको बताए । ‘हामीले त समाधान भएको बुझेका थियौँ । तर, फेरि समस्या भएको छ,’ उनले भने, ‘अहिलेको समस्याबारे केन्द्रीय तहमा पनि छलफल भएको छ । तर, यसै भन्न सक्ने अवस्था छैन ।’
 

सुझावित समाचार