तातोपानी र रसुवागढी नाका बन्द, कोरलाबाट ढुवानी गर्न समस्या

बुधबार, ११ कार्तिक, २०८३
प्रिन्ट संस्करण

सिन्धुपाल्चोक/तातोपानी र रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरला नाकाबाट कन्टेनर ढुवानी गर्न कठिन भएको छ । लोमान्थाङको नेचुङमा रहेको मुस्ताङ भन्सारबाट पारिपट्टि चिनियाँ भन्सार क्षेत्र लिचीमा मुस्ताङबाहेक अन्य जिल्लाका नागरिकलाई प्रवेशमा कडाइ छ । जसले गर्दा सामान लिन कन्टेनर लिएर लिची जान मुस्ताङका चालक वा चिनियाँ नागरिक नै चाहिनुपर्ने बाध्यता छ । व्यवसायीहरू आफ्नै कन्टेनर चलाउन नपाउँदा मर्कामा परेका छन् ।

अझर चिसो मौसमका कारण लिची पुगेका कन्टेनरलाई ३६ घण्टासम्म इन्जिन चालू राख्नुपर्ने बाध्यता छ । इन्जिन बन्द गरे पुनः स्टार्ट गर्न कठिन हुने भएकाले उतै थन्किने अवस्था रहेको नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडका अध्यक्ष अर्जुनबहादुर सापकोटाले जानकारी दिए । उनका अनुसार हालसम्म एक दर्जन कन्टेनरका इन्जिन बन्द भएपछि ती लिचीमै अलपत्र परेका छन् ।

नेपाली कन्टेनर व्यवसायी प्रवेश गर्न नसक्ने अवस्थामा चिनियाँ पक्षले मालवाहक कन्टेनरलाई मुस्ताङ भन्सार यार्डसम्म ल्याइदिनुपर्ने व्यवसायीहरूले माग गरेका छन् । ‘नेपाली कन्टेनर पारिपट्टि लिचीमा लैजाने हो भने नेपाली पक्षले धेरै समस्या झेल्नुपर्छ,’ उनले भने ‘लिचीमा अत्यधिक चिसोका कारण नेपाली गाडीमा प्रयोग हुने डिजेल जम्ने, ब्याट्रीले काम नगर्ने र रेगुलेटरमा रहेको पानी पनि जम्ने समस्या देखिएको छ ।’ नेपाली कन्टेनरमा प्रयोग हुने डिजेल, ब्याट्री र रेगुलेटर वाटरको गुणस्तर कमजोर भएकाले यस्तो समस्या आएको व्यवसायीहरू बताउँछन् । नेपालका लागि ल्याइएका एक सय ५० वटा चिनियाँ कन्टेनरमा रहेका मालसामान अहिले लिचीमै रोकिएका छन् ।

धेरै समस्या झेलेर नेचुङ आइपुगेका नेपाली कन्टेनरले कोरला नाकाबाट कागबेनी, जोमसोम हुँदै म्याग्दीसम्म खराब सडक पार गर्नुपर्ने अर्को चुनौती छ । यसरी कठिन भूगोल र जोखिमपूर्ण सडकका कारण व्यवसायीले ढुवानीका क्रममा थप समस्या झेल्नुपरेको छ । 

चाडपर्वलाई लक्षित गरी सामग्री आयात गर्न तीन दिनका लागि खुलेको तातोपानी नाका पुनः बन्द भएको छ । खासा हुँदै आउने विदेशी नागरिकलाई तातोपानी नाकाबाट प्रवेश गर्न दिइए पनि नेपालबाट चीन प्रवेशमा रोक लगाइएको छ । यसले सीमावर्ती क्षेत्रका नागरिकलाई चिन्तित बनाएको छ । दुई नाका बन्द भएपछि तातोपानी र रसुवागढी नाकामा काम गर्दै आएका कन्टेनर व्यवसायी तथा चिनियाँ ट्रान्सपोर्ट कम्पनी पनि लिचीमा स्थानान्तरण भएका छन् । ल्हासाबाट करिब नौ सय किलोमिटर र लोमान्थाङबाट करिब चार सय ५० किलोमिटर दूरी पार गरेर चिनियाँ सामान काठमाडौं आइपुग्दा ढुवानी लागत बढेको छ ।

मुस्ताङमा रहेका कन्टेनर व्यवसायी आखेट प्रकाशका अनुसार नेपाल सरकारले कूटनीतिक पहल गरी भन्सार प्रक्रिया व्यवस्थित गर्न सके कोरला नाका नियमित सञ्चालन हुने अवस्था छ । यसका लागि दुवै देशका भन्सार अधिकारीबिच समन्वय र नेपाली कन्टेनरलाई सहज रूपमा आवतजावत गर्ने व्यवस्था मिलाउन आवश्यक देखिएको उनको भनाइ छ ।

सुझावित समाचार