काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायु परिवर्तनबाट सिर्जित विपत् न्यूनीकरणका लागि अन्तरिक्ष प्रविधि, तथ्यांक आदानप्रदान र क्षेत्रीय सहकार्य आवश्यक रहेको बताएका छन्।
थाइल्यान्डको बैंककमा संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (ESCAP) द्वारा आयोजित अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै उनले हिमाली क्षेत्रमा बढ्दो विपत् जोखिम सामना गर्न प्रविधिको प्रभावकारी उपयोगमा जोड दिए।
उनले लाङटाङ लिरुङको हिमपहिरो तथा बुढीगण्डकी क्षेत्रको पहिरोबाट भएको क्षति उल्लेख गर्दै विपतकाे कुल प्रभाव करिब २.७ अर्ब अमेरिकी डलर रहेको र पुनर्निर्माणका लागि ४.८ अर्ब डलर आवश्यक पर्ने बताए।
मन्त्री श्रेष्ठले सन् २०२६–२०३० का लागि उपग्रहबाट प्राप्त तथ्यांकको साझेदारी, पूर्वसूचना प्रणाली र प्राविधिक सहयोग सुदृढ गर्न आह्वान गरे। साथै, नेपालको हरितगृह ग्यास उत्सर्जनमा योगदान ०.०१ प्रतिशत मात्र भए पनि सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन हासिल गर्ने प्रतिबद्धता दोहोर्याए।
सम्मेलनका क्रममा नेपाल र ESCAP को संयुक्त आयोजनामा ‘सगरमाथादेखि सागरसम्म : भोटेकोशी–त्रिशूली विपद्का पाठहरू’ विषयक क्षेत्रीय संवादसमेत आयोजना हुँदै छ।