मासिक ६० हजार मेट्रिकटनका दरले एलपी ग्यास उपलब्ध गराउन नेपाल आयल निगमले भारतलाई पत्राचार गरेको छ । आयल निगमको ग्यास विभाग प्रमुखसमेत रहेका निर्देशक विनीतमणि उपाध्यायका अनुसार कम्तीमा ६ महिना मासिक ६० हजार टनका दरले ग्यास दिन लिखित पत्राचार गरिएको हो । निगमको प्रस्तावमा भारतको सरकारी स्वामित्वको इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पनि सकारात्मक प्रतिक्रिया दिएको उनले जानकारी दिए ।
निगमले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई समेत मासिक ६० हजार टनका दरले ग्यास आयातका लागि सरकारीस्तरबाट पहल गर्न आग्रह गरिसकेको छ । मन्त्रालयले पनि कूटनीतिक माध्यमबाट सोही अनुपातमा ग्यास आयातको पहल थालेको उद्योग मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए । हाल मासिक कोटा ४९ हजार पाँच सय टन निर्धारण भएको छ । तर, उक्त परिमाणले माग धान्न नसक्ने देखिएपछि कोटा वृद्धि गरेर स्थायी रूपमा मासिक ६० हजार टन ग्यास आयात गर्न पहल भइरहेको प्रवक्ता बस्नेतले जानकारी दिए । ‘अहिले व्यावसायिक प्रयोजनमा ग्यासको खपत धेरै बढेको छ । त्यसैले हाल निर्धारित कोटा नै वृद्धि गरेर नियमित रूपमा मासिक ६० हजार टन ग्यास ल्याउने गरी कूटनीतिक पहल भइरहेको छ,’ बस्नेतले भने, ‘यो परिमाणमा नियमित रूपले ग्यास आयात भयो भने आपूर्ति सहज गर्न सकिन्छ भन्ने बुझाइ छ ।’
सरकारले यसअघि गत साउनमा पनि परराष्ट्र मन्त्रालयमार्पmत नेपालस्थित भारतीय दूतावास हुँदै नयाँदिल्लीलाई भदौ, असोज र कात्तिकमा मासिक ६० हजार टनका दरले ग्यास दिन औपचारिक पत्राचार गरेको थियो । सरकारको उक्त पत्राचारपछि भारतले निर्धारित कोटा ४९ हजार पाँच सय टनभन्दा बढी ग्यास दिइरहेको छ । निगमका अनुसार साउनमा ५७ हजार तीन सय १६ टन, भदौमा ५९ हजार आठ सय ३३.९८ टन र असोजमा ५४ हजार सात सय ९७ टन ग्यास आयात भएको छ ।
तोकिएको कोटाभन्दा बढी ग्यास आयात भइरहेका कारण आगामी दिनमा पनि मासिक ६० हजार टन ग्यास आयात हुनेमा आशावादी रहेको निगमका निर्देशक उपाध्यायले बताए । ‘हामीले आगामी ६ महिनाका लागि नियमित रूपले मासिक ६० हजार टन ग्यास दिनुपर्छ भनेर पत्राचार गरेपछि भारतीय पक्षले पनि सकेसम्म त्यति ग्यास दिने भनेर आश्वस्त पारेका छन्,’ उनले भने, ‘हामीले भने मासिक ६० हजार टन ग्यास ल्याउने गरी पिडिओ जारी गर्दै आएका छौँ ।’ आइओसीको मथुरा, हल्दिया, दुर्गापुर, पाराद्वीप, बन्थरा र बरौनी रिफाइनरीबाट नेपालमा ग्यास आयात भइरहेको छ । आयल निगमले पिडिओ जारी गरेपछि मुलुकभर रहेका ५८ उद्योगले आइओसीको तोकिएको रिफाइनरी पुगेर ग्यास आयात गर्दै आएका छन् ।
असोजमा तुलनात्मक रूपमा कम आयात
३१ असारबाट पूर्ण तौल (१४.२ किलो)को ग्यास सिलिन्डर प्रचलनमा ल्याउन आयल निगमले उद्योगीलाई निर्देशन दिएयता ग्यास आपूर्ति असहज छ । आपूर्ति सहज गराउन निगमले साउनदेखि आयात बढाइरहेको जनाएको छ । तर, तुलनात्मक रूपमा असोजमा कम अर्थात् ५४ हजार सात सय ९७ टन आयात भएको छ । जबकि, साउनमा ५७ हजार तीन सय १६ टन र भदौमा ५९ हजार आठ सय ३३.९८ टन ग्यास आयात भएको थियो ।
