काठमाडौं २४सै घण्टा खुलाउने तयारी

शनिबार, २१ कार्तिक, २०८३
प्रिन्ट संस्करण

काठमाडौं- काठमाडौंलाई २४सै घण्टा खुलाउने तयारी थालिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले ठमेल मात्र नभई काठमाडौंलाई २४ घण्टा खुलाउनेबारे तयारी भइरहेको जानकारी गराएका छन् ।

ठमेल पर्यटन विकास परिषद्ले शुक्रबार आयोजना गरेको ‘ठमेल क्षेत्रको शान्ति सुरक्षासम्बन्धी छलफल तथा अन्तर्क्रिया’मा उनले ठमेल मात्र नभई काठमाडौंलाई नै २४ घण्टा सञ्चालन गर्ने गरी अध्ययन र तयारी भइरहेको बताएका हुन् ।

१ वैशाख ०८१ बाट ठमेललाई २४ घण्टा खुला गरिएको थियो । तत्कालीन उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ठमेललाई २४सै घण्टा खुला भएको घोषणा गरेका थिए । ‘काठमाडौंलाई २४सै घण्टा सञ्चालन गर्नेबारे प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयसँग छलफल भइरहेको छ,’ उनले भने । उनले ठमेललाई पर्यटकीय हब बनाउन सरकार लागेको भन्दै यसलाई साथ दिन सबैलाई आग्रहसमेत गरे । सिडिओ पौडेलले नेपालको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय गैरकानुनी गतिविधि बढेको पनि बताए । 

घरधनी र व्यवसायीले इमानदारपूर्वक ढंगले व्यवसाय गरे ठमेलभित्रको विकृति अन्त्य हुने उनको भनाइ थियो । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले ठमेल क्षेत्रलाई व्यवस्थित गर्न काठमाडौं महानगरपालिकाले काम गरिरहेको बताए । ठमेलभित्रका सार्वजनिक शौचालय, अव्यवस्थित पार्किङ, डस्टबिन, ट्राफिक जाम, मगन्तेलगायतका समस्याको समाधानमा महानगरपालिकाले सम्बन्धित निकायसँग सहकार्य गरेर काम गरिरहेको उनले बताए ।

परिषद्का पूर्वअध्यक्ष भवीश्वर शर्माले लामो समयको अध्ययनपछि तयार गरिएको ठमेललाई २४सै घण्टा सञ्चालन गर्ने आचारसंहितालाई कार्यान्वयन गर्न सबै घरधनी तथा व्यवसायी लाग्नुपर्ने बताए । उनले ठमेललाई नमुना र सुरक्षित पर्यटकीय गन्तव्य बनाउनका लागि जिल्ला प्रशासन कार्यालयबाट लागू भएको आचारसंहितालाई कडाइका साथ लागू गर्नुपर्ने उल्लेख गरे ।

सुझावित समाचार