नेपालले सिंगापुरमा चलिरहेको २०औँ जारी एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा ओमानसँग प्रतिस्पर्धा गर्ने भएको छ । प्रतियोगिताको शुक्रबार हङकङसँगको खेलमा ओमान एक सय ५४ रनले पराजित भएको थियो । समूह ‘ए’को विजेता नेपालले समूह ‘बी’को उपविजेता ओमानलाई अन्तिम चारमा प्रतिद्वन्द्वी पाएको हो ।
प्रतियोगिताका चारवटै सेमिफाइनलिस्ट टोलीहरू जापानमा आयोजना हुने एसियन गेम्सका लागि छनोट भइसकेका छन् । दोस्रो सेमिफाइनलमा मलेसियाले हङकङको सामना गर्नेछ ।
हङकङ १५४ रनले विजयी
समूह ‘बी’मा हङकङले पहिलो ब्याटिङ गर्दै २० ओभरमा एक विकेटको क्षतिमा दुई सय ८७ रनको विशाल योगफल खडा गर्यो । प्रत्युत्तरमा ओमानले २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३३ रन बनाउँदा हङकङ एक सय ५४ रनले विजयी भयो । हङकङका लागि अंश राठले सर्वाधिक एक सय ४० रनको योगदान दिए । उनले आफ्नो शतकीय इनिङ्समा ५६ बलमा १० छक्का र १३ चौका प्रहार गरेका थिए । यसैगरी, निजाकत खानले ४५ बलमा चार छक्का र ६ चौका प्रहार गरी ७६ रन बनाए । बाबर हयातले १९ बलमा पाँच छक्का र सात चौकाको सहयोगमा ६३ रन बनाए ।
प्रत्युत्तरमा ओमानको ब्याटिङमा जुबेर अल बालुसीले २३ बलमा ४० रन बनाए । उनले पाँच चौका र दुई छक्का प्रहार गरेका थिए । मजफार सिराल्करले २६ बलमा ३६ रनको योगदान दिएका थिए । फैरिस अलले ११ बलमा १० रन बनाए । हङकङका लागि एहसान खानले चार ओभरमा १२ रन दिएर चार विकेट लिए । हङकङको पहिलो विकेटका लागि १४.५ ओभरमा एक सय दुई रनको साझेदारी भएको थियो ।
धेरै रन बनाउनेमा भुर्तेल
एसियन छनोटमा नेपालका ओपनर कुशल भुर्तेल सर्वाधिक रन बनाउने सूचीको शीर्ष स्थानमा छन् । उनले दुई इनिङ्समा दुई सय ५५ रन बनाएका छन् । उनले दुई खेलमा १२७.५० को औसतमा ब्याटिङ गरेका छन् । यसैगरी, हङकङका अंशमानले तीन इनिङ्समा एक सय ७६ रन जोडेका छन् । उनी दोस्रो स्थानमा रहँदा हङकङका बाबर तेस्रो स्थानमा छन् । उनले तीन इनिङ्समा एक सय ७० रन बनाएका छन् । भुर्तेलले चीनसँगको खेलमा एक सय २९ रन तथा मलेसियाविरुद्ध एक सय २६ रन जोडेका थिए । नेपालको टी–२० आई इतिहासमा लगातार दुई खेलमा शतकीय इनिङ्स खेल्ने भुर्तेल पहिलो खेलाडी हुन् । यस्तो सफलता हात पार्ने उनी विश्वकका नवौँ खेलाडी हुन् । पछिल्लो तीन सातामा उनले तीनवटा अन्तर्राष्ट्रिय शतक लगाएका छन् । आइसिसी विश्वकप लिग–२ मा उनले अमेरिकाविरुद्ध शतक ठोकेका थिए ।
यसैगरी, धेरै विकेट लिने सूचीमा हङकङका इहसान खान छन् । उनले तीन खेलमा ६ विकेट लिएका छन् । मलेसियाका विजय उनीले पनि ६ विकेट हात पारेका छन् । इकोनोमी रेटमा उनी पछाडि छन् । ओमानका नवेद अल पनि तेस्रो स्थानमै छन् । उनले ६ विकेट लिएका छन् । यसैगरी, उत्कृष्ट स्ट्राइक रेटमा नेपालका पूर्वकप्तान रोहितकुमार पौडेल छन् । उनले दुई इनिङ्समा ३१३.६३ को स्ट्राइकमा ब्याटिङ गरेका छन् । नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले २८१.८१ को स्ट्राइकमा ब्याटिङ गरे । नेपालकै कुशल भुर्तेलको स्ट्राइक २६२.८८ रहेको छ ।