संसदमा घम्साघम्सीबिच प्रतिनिधिसभा नियमावली पारित
संसदमा घम्साघम्सीबिच प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ। सत्तापक्ष र प्रतिपक्षबिचको घम्साघम्सीका बिच नियमावली पारित भएको हो।
सभामुखले जबर्जस्ती नियमावली पारित गर्न लागेको भन्दै प्रतिपक्ष दलहरूले वेल घेरेर नाराबाजी गरेका थिए। नाराबाजीका बिच नियमावली पारित भएको हो।
नियमावली पारित भएपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको छ।
परराष्ट्रले भन्यो–प्रधानमन्त्रीको अभिव्यक्ति दशगजा अतिक्रमण र ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित
परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवादबारे संसदमा दिएको जवाफबारे स्पष्ट पारेको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भनाइ दशगजा क्षेत्र अतिक्रमण र ‘क्रस बोर्डर अकुपेसन’ (सीमा वारपारको जग्गा भोगाधिकार)सँग सम्बन्धित रहेको प्रस्टीकरण दिएको हो।
सुस्ता र लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रमा नक्सांकन हुन बाँकी रहेको उल्लेख गर्दै परराष्ट्रले तीबाहेकका अन्य केही स्थानहरूमा ‘क्रस बोर्डर अकुपेसन’ तथा दशगजा अतिक्रमणका समस्याहरू विद्यमान रहेको जनाएको छ।
रित्तिँदै पहाडी क्षेत्रका सामुदायिक विद्यालय
विद्यार्थी अभावमा देशभरका आठ हजार सामुदायिक विद्यालय मर्ज गर्ने (गाभ्ने) तयारीमा सरकार लागिरहँदा निजी विद्यालयको संख्या भने बढ्दो दरमा छ । आपसमा गाभ्ने तयारीस्वरूप सरकारले ५० भन्दा कम विद्यार्थी भएका सामुदायिक विद्यालयको सूची माग्दा आठ हजारको सूची शिक्षा मन्त्रालयमा पुगेको छ । तर, निजी विद्यालय भने गत शैक्षिक सत्र ०८२ मा मात्रै १०४ वटा थपिएका हुन् ।
निजी विद्यालय भटाभट थपिँदै गर्दा सरकारी विद्यालय भने धमाधम बन्द हुने अवस्थामा छन् । ५० भन्दा कम विद्यार्थी भएका विद्यालयको सूची संकलन गरेर एक–आपसमा गाभ्ने प्रक्रियामा सरकार छ । कतिपय विद्यालयमा एउटै विद्यार्थी छैनन् भने कैयौँमा निकै कम मात्र छन् ।
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिको भत्र्सना गरेको छ। प्रधानमन्त्रीको अभिव्यक्तिले अन्तर्राष्ट्रिय कूटनीतिमा नेपालको परिपक्वतामाथि नै गम्भीर प्रश्नचिह्न खडा गरेको कांग्रेसको ठहर छ।
प्रधानमन्त्री शाहले आइतबार संसदमा बोल्ने क्रममा भारतले नेपालको मात्र नभई नेपालले भारतको समेत सीमा मिचेको बताएका थिए । सो विषय अभिव्यक्तिले एकातिर राष्ट्रिय स्वाभिमानप्रति प्रधानमन्त्रीको मनसाय र कमजोर राजनीतिक एवं कूटनीतिक चेतको यथार्थलाई छताछुल्ल पारेको र अर्कोतिर कुटनीतिक सीमा संवाद र अन्तर्राष्ट्रिय मञ्चमा देशको कूटनीतिक विश्वसनीयतामाथि नै गम्भीर आघात पु¥याएको कांग्रेसको टिप्पणी छ।
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग
नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन्। आइतबार सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको देखिएकाले साथीको रूपमा विवाद समाधान गर्ने बताएका थिए।
मुलुकको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताका मूलभूत सिद्धान्तहरूलाई संविधानले नै अपरिवर्तनीय भनेको उल्लेख गर्दै मल्लले भने, ‘मुलुकको राष्ट्रिय अखण्डताको विषयमा आँच आउने अभिव्यक्ति सम्माननीय प्रधानमन्त्रीज्यूले जसरी एउटा जिम्मेवार सदनको रोस्टमबाट गर्नुभएको छ, यो सामान्य विषय होइन।’
मुलुकको राष्ट्रिय अखण्डतामा आँच आउने प्रधानमन्त्रीको अभिव्यक्तिलाई संसद्ले सुधार गर्नुपर्ने प्रस्ट पार्दै उनले भने, ‘यो कुरा धेरै नै गम्भीर छ । कुनै मुलुकका सरकारप्रमुख, राष्ट्रप्रमुखले मञ्चमा बसेर हामीले फलानो देशको भूमि मिचेका छौँ भन्छ होला ! सम्माननीय प्रधानमन्त्रीजीको यो अभिव्यक्तिलाई हामीले संसद्को तर्फबाट करेक्सन गर्नैपर्छ र यो गम्भीर अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाइनुपर्छ।’
सुकुमवासी बस्ती व्यवस्थापनबारे प्रधानमन्त्री भन्छन्- ३५ वर्षमा नभएको समाधान ३५ मिनेटमा हुँदैन
प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौंका सुकुमवासी बस्तीमा बसोबास गरिरहेका नागरिकहरूको सुरक्षा र व्यवस्थापनलाई ध्यानमा राखेर सरकारले आवश्यक प्रक्रिया अघि बढाएको बताएका छन्। उनले दशकौँदेखि समाधान हुन नसकेको समस्याको तत्काल समाधान अपेक्षा गर्नु उचित नहुने बताएका हुन्।
सुकुमवासी बस्ती व्यवस्थापनबारे धारणा राख्दै प्रधानमन्त्री शाहले स्थानीय तहमा रहँदा नै संघीय सरकारलाई प्रभावित नागरिकलाई सुरक्षित स्थानमा सारेर होल्डिङ सेन्टरमा राख्न तथा वास्तविक सुकुमवासीको पहिचान गर्न सुझाव दिएको स्मरण गरे। उनका अनुसार अहिले सरकार सोही अवधारणाअनुसार काम गरिरहेको छ।
‘उहाँहरू अत्यन्तै संवेदनशील र जोखिमपूर्ण अवस्थामा बसिरहनुभएको थियो। त्यसैले सुरक्षित व्यवस्थापन आवश्यक थियो। ३५ वर्षदेखि समाधान हुन नसकेको विषय ३५ मिनेटमै समाधान हुन्छ भन्ने अपेक्षा गर्नु यथार्थपरक हुँदैन,’ प्रधानमन्त्री शाहले भने।
नेपालले पनि भारतको जग्गा मिचेको रहेछ, साथीको रूपमा सीमा समस्या समाधान गर्छाैँ : प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेक, लिम्पियाधुरा क्षेत्रको सीमा विवादबारे कूटनीतिक संवादबाटै पहलको प्रयास भइरहेको बताएका छन्। आइतबार संसदमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले भारतले नेपालको मात्र होइन, नेपालले भारतको जग्गा पनि मिचेको कुरा थाहा भएको र साथीको रूपमा यस विषयको समाधान गरिने बताए।
उनले भने, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति एउटा कुरा प्रधानमन्त्री भएपछि थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र होइन, नेपालले भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। यो कुराचाहिँ अस्ति भर्खर थाहा भयो। त्यही भएर दुवै देशले अध्ययन गरेर हामीले मिचेका छौँ, उहाँहरूले मिच्नुभएको छ, त्यसलाई बसेर साथीको रूपमा समाधान गर्ने सोच बनाएका छौँ ।’
लामिछानेको अध्यक्षतामा रास्वपाको महाधिवेशन मूल आयोजक समिति गठन
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम महाधिवेशन आयोजना गर्न महाधिवेशन मूल आयोजक समिति गठन गरेको छ। आगामी असार ७, ८ र ९ गते चितवनमा हुने महाधिवेशनका लागि सभापति रवि लामिछानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन भएको हो।
समितिका सदस्यहरूमा डा. स्वर्णिम वाग्ले, कवीन्द्र बुर्लाकोटी, भूपदेव शाह, विपिनकुमार आचार्य, लीमा अधिकारी, बसुमाया तामाङ, मनीष झा, विराजभक्त श्रेष्ठ, दीपकराज बोहरा, गणेश पराजुली, सोबिता गौतम, शिशिर खनाल, हरि ढकाल, सरिता ज्ञवली र सागर ढकालसहित सबै केन्द्रीय समितिका सदस्यहरू र सबै प्रदेश सभापतिहरू रहेका छन्।
साफ महिला च्याम्पियनसिप : नेपालले श्रीलंकालाई २–० ले हरायो
श्रीलंकालाई २–० ले हराउँदै साफ महिला च्याम्पियनसिपमा नेपाल समूह ‘ए’को विजेता बनेको छ। आइतबार गोवास्थित नेहरू रंगशालामा नेपाललाई जित दिलाउन रश्मिकुमारी घिसिङ र रेनुका नगरकोटेले समान एक गोल गरे।
नेपालले लगातार दुई खेलबाट ६ अंक बटुल्यो। पहिलो खेलमा नेपालले भुटानलाई १–० ले हराएको थियो। सो खेलमा डिफेन्डर गीता रानाले निर्णायक गोल गरेकी थिइन्। दोस्रो खेलमा नेपाल जित या बराबरले समूह विजेता बन्ने थियो। समूहमा भुटान एक खेल जितेर तीन अंकसहित उपविजेता बन्यो। श्रीलंका भने दुवै खेलमा पराजित भयो।
एकैदिन साढे २० हजारले बढ्यो सुनको भाउ
केही दिनयता लगातार घटिरहेको सुनको मूल्यमा आज एकाएक ठुलो वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २० हजार पाँच रुपैयाँले बढेको हो।
गत शुक्रबार प्रतितोला दुई लाख ९० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर तीन लाख ११ हजार एक सय रुपैयाँ पुगेको महासंघले जनाएको छ।
त्यसैगरी, चाँदीको मूल्य पनि वृद्धि भएको छ। आज प्रतितोला चाँदी पाँच हजार ३४५ रुपैयाँ निर्धारण गरिएको छ। शुक्रबार चाँदी प्रतितोला पाँच हजार ४० रुपैयाँमा खरिद–बिक्री भएको थियो।