विद्यार्थी अभावमा देशभरका आठ हजार सामुदायिक विद्यालय मर्ज गर्ने (गाभ्ने) तयारीमा सरकार लागिरहँदा निजी विद्यालयको संख्या भने बढ्दो दरमा छ । आपसमा गाभ्ने तयारीस्वरूप सरकारले ५० भन्दा कम विद्यार्थी भएका सामुदायिक विद्यालयको सूची माग्दा आठ हजारको सूची शिक्षा मन्त्रालयमा पुगेको छ । तर, निजी विद्यालय भने गत शैक्षिक सत्र ०८२ मा मात्रै १०४ वटा थपिएका हुन् ।
निजी विद्यालय भटाभट थपिँदै गर्दा सरकारी विद्यालय भने धमाधम बन्द हुने अवस्थामा छन् । ५० भन्दा कम विद्यार्थी भएका विद्यालयको सूची संकलन गरेर एक–आपसमा गाभ्ने प्रक्रियामा सरकार छ । कतिपय विद्यालयमा एउटै विद्यार्थी छैनन् भने कैयौँमा निकै कम मात्र छन् ।
विद्यार्थी नै रित्तिएका विद्यालयका शिक्षकलाई सम्बन्धित स्थानीय तहले सकेसम्म अन्य विद्यालयमा पठाएर व्यवस्थापन गरिरहेका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्यांकअनुसार पाँचभन्दा कम विद्यार्थी भएका सामुदायिक विद्यालय नै २९३ वटा छन् ।
पहाडी क्षेत्रबाट तीव्र बसाइँसराइ र सरकारी शिक्षाको खस्किँदो गुणस्तरका कारण सामुदायिक विद्यालय रित्तिने क्रम उत्तिकै तीव्र बनेको हो ।