स्ट्राइकर रश्मिकुमारी घिसिङको गोलमा नेपालले साफ महिला च्याम्पियनसिपको दोस्रो खेलमा श्रीलंकाविरुद्ध अग्रता बनाएको छ। भारतको गोवास्थित नेहरू रंगशालामा नेपालले पहिलो हाफमा १–० को अग्रता बनाएको हो।
स्ट्राइकर रेखा पौडेलले बक्सभित्रबाट मिलाएको बललाई रश्मिले नियन्त्रण लिँदै सहज गोल गरिन्। उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेकी हुन्। त्यसअघि रश्मिसहित मीना देउवा र रेखा नै बारम्बार गोल गर्न चुकेका थिए।
प्रशिक्षक नवीन न्यौपानेले पहिलो खेलमा भुटानविरुद्ध खेलेका चार खेलाडीलाई बाहिर राखेका छन्। गोलकिपर तथा कप्तान अञ्जिला तुम्बापो सुब्बा, पूजा राना, अनिता बस्नेत र अनिता लम्जेललाई बाहिर राख्दा मीना देउवा, सरु लिम्बू, प्रतीक्षा चौधरी र गोलकिपर अञ्जना रानामगरले अवसर पाएका छन्। कप्तानी जिम्मेवारी मिडफिल्डर रेनुका नगरकोटेलाई दिइएको छ।
समूह ‘ए’को पहिलो खेलमा नेपालले भुटानसँग १–० को जित निकालेको थियो। जुन खेलमा गीता रानाले निर्णायक गोल गरेकी थिइन्।
नेपाल आजको खेलमा जित या बराबरीले पनि समूह विजेता बन्दै सेमिफाइनलमा स्थान बनाउनेछ।