त्रियुगामा जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ

आइतबार, १७ जेठ, २०८३
डिजिटल संस्करण

उदयपुरको त्रियुगा नगरपालिका–१२, फूलचोकस्थित एक घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा घरधनीसहित ११ जना पक्राउ परेका छन्।

स्थानीय महेन्द्र चौधरीको घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले शनिबार छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयका कार्यवाहक सूचना अधिकारी तथा इन्स्पेक्टर विष्णुबहादुर खड्काका अनुसार जुवाको खालबाट नगद रु. १ लाख ८२ हजार ३८२ रुपैयाँ, १६ वटा कौडा, ११ थान मोबाइल फोन तथा ५ थान मोटरसाइकल बरामद गरिएको छ।

पक्राउ पर्नेहरूमा त्रियुगा–१२ निवासी ४५ वर्षीय घरधनी महेन्द्र चौधरी, ५२ वर्षीय चिरन राई, ३४ वर्षीय जितन राई, २८ वर्षीय तिलक राई, ३५ वर्षीय जगदीश राई, ३३ वर्षीय नवीन तामाङ, ५४ वर्षीय वसन्त राई, ६२ वर्षीय नारायण पौडेल, ५१ वर्षीय रवीन्द्र राई, ५४ वर्षीय हेमन्त राई र २८ वर्षीय रुद्रबहादुर परियार रहेको खड्काले जानकारी दिए।

पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी जुवासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार